मुख्य सडक पूर्ण अवरुद्ध, पृथ्वी राजमार्ग पनि छैन सन्चालनमा

हिमाल प्रेस २३ भदौ २०८३ ८:२९ | Tuesday, September 8, 2026
मुख्य सडक पूर्ण अवरुद्ध, पृथ्वी राजमार्ग पनि छैन सन्चालनमा

काठमाडौँ- देशका विभिन्न भागमा मुख्य सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।

काठमाडौं उपत्यका जोड्ने चन्द्रागिरी नपा २ चिसापानी (काठमाडौँ-धादिङ खण्ड) मा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ।  मुग्लिन-नारायणगढ खण्डको तुइनखोलामा सडक मर्मतका कारण सवारी चाप हेरी एकतर्फी आलोपालो मिलाइएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ ७ कृष्णभीरमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गको ज्वाङखोला र गजुरी २ चालिसेमा भने सडक एकतर्फी सुचारु रहेको छ। रसुवाको उत्तरगया र मुख्य राजमार्गका विभिन्न ठाउँमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको टोखा-छहरे खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

कर्णाली प्रदेशका धेरैजसो मुख्य राजमार्गहरू पहिरोका कारण ठप्प छन्। मुगुको मुगु-गमगढी, कालिकोटको कर्णाली राजमार्ग (गग्ने खोला), सल्यानको राप्ती राजमार्ग (चोरखोला) र सुर्खेतको बराहतालमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गको भालखोरमा पनि पहिरोका कारण यातायात पूर्ण रूपमा बन्द छ। काभ्रेको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै १० टनभन्दा माथिका मालबाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको छ। अन्य सवारी साधन भने परिस्थितिको विचार गरी बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र यात्राका क्रममा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित: २३ भदौ २०८३ ८:२९ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast