कृष्णभीर र गजुरीमा अझै सडक अवरुद्ध, कर्णाली र सहिद राजमार्ग ठप्प [कस्तो छ अरू राजमार्गको अवस्था?]

हिमाल प्रेस २१ भदौ २०८३ ७:५४ | Sunday, September 6, 2026
कृष्णभीर र गजुरीमा अझै सडक अवरुद्ध, कर्णाली र सहिद राजमार्ग ठप्प [कस्तो छ अरू राजमार्गको अवस्था?] कृष्णभीर सडक।फाइल तस्बिर

काठमाडौँ-  देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले अध्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डको अवस्थाबारे जानकारी गराएको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका २ स्थित चिसापानी र ललितपुरको बागमती गाउँपालिका ३ भट्टेडाँडामा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । काठमाडौँ-धादिङ र कान्ति लोकपथमा यात्रा गर्ने यात्रुहरूले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ। बेनीघाट रोराङ ७ कृष्णभीर र गजुरी २ चालिसेमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने परेवा भिर र ज्वाङखोलामा एकतर्फी मात्रै बाटो खुलेको छ।

यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा (साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म) १० टनसम्मका मालबाहक सवारीलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

रसुवाको उत्तरगया ५ खाल्टेमा बाढीका कारण त्रिशूली मैलुङ-स्याफ्रुबेशी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोटको टोखा-छहरे सडकखण्डमा पनि सम्भावित बाढी र पहिरोका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ।  कर्णाली प्रदेशको मुगु-गमगढी सडकखण्ड र कालीकोटको कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न र वर्षा भइरहेको समयमा पहिरो जान सक्ने जोखिमपूर्ण क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित: २१ भदौ २०८३ ७:५४ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast