नेकपाको महाधिवेशन मिति तोकियो, तयारी शून्य

नेतृत्वमा रहिरहने प्रचण्ड रणनीति

किरण पौडेल २० भदौ २०८३ २१:२४ | Saturday, September 5, 2026
नेतृत्वमा रहिरहने प्रचण्ड रणनीति

काठमाडौँ- फागुन २१ को चुनावअघि २२ दललाई समेटेर गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले आफैँले तय गरेको महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ। महाधिवेशनको मिति नजिकिँदै गए पनि पार्टीभित्र त्यसको तयारी भने लगभग शून्य देखिन्छ।

चुनावअघि तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारमा अघि बढाएको एकता प्रक्रियाबाट नेकपा गठन भएको थियो। वामपन्थी शक्तिको एकताको सन्देशसहित चुनावमा होमिएको नेकपा प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ गरी १५ सिट जित्दै प्रतिनिधिसभामा चौथो दल बन्यो।

चुनावपछि पार्टीको राजनीतिक सक्रियता क्रमशः कमजोर हुँदै गएको नेताहरू बताउँछन्। संगठन निर्माण, सदस्यता अद्यावधिक र अधिवेशन तयारीका विषयमा पार्टीभित्र छलफलसमेत हुन सकेको छैन।

नेकपाले आगामी मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। महाधिवेशन आउन तीन महिना मात्र बाँकी रहँदा पनि त्यसको तयारीले गति लिन सकेको छैन।

‘पार्टीको तयारी हेर्दा समयमा महाधिवेशन हुन्छ जस्तो लाग्दैन,’ नेकपा नेता जगन्नाथ खतिवडा भन्छन्, ‘यो प्रश्नचाहिँ कमरेड प्रचण्डलाई नै सोध्नुपर्छ।’

नेकपाले जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसंगठनको संगठनात्मक समायोजन सक्ने निर्णय गरेको थियो। त्यसअनुसार कतिपय तहमा समायोजन भए पनि सबै तहमा प्रक्रिया पूरा भएको छैन।

पार्टीका मूल कमिटी भने एकीकृत भइसकेका छन्। नेकपा माओवादी र एकीकृत समाजवादीसहित विभिन्न दललाई उनीहरूको राजनीतिक हैसियतअनुसार समेटेर एकीकृत कमिटी बनाइएको छ। तर जनसंगठनको एकीकरण अझै पूरा भएको छैन।

सदस्यताको अवस्थासमेत स्पष्ट हुन सकेको छैन। २२ दल एकीकृत भएर नेकपा बने पनि ती दलबाट कति सदस्य तथा कार्यकर्ता नयाँ पार्टीमा समाहित भए भन्ने यकिन विवरण पार्टीसँग छैन।

‘हाम्रो पार्टीको सदस्यता सीधा रूपमा ११ लाख हुनुपर्ने हो। तर चुनावपछि कति छन् टुंगो लाग्न बाँकी छ,’ खतिवडा भन्छन्।

पार्टीको घोषित कार्यतालिकाअनुसार भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ १६ देखि भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने थियो। त्यसपछि मंसिर ११ देखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने योजना थियो।

तर वडा र पालिका अधिवेशनको तयारीसमेत प्रभावकारी रूपमा अघि बढेको छैन। ‘हाम्रो पार्टीमा यही पाराले त मंसिर होइन, चैतसम्ममा पनि महाधिवेशन हुँदैन,’ नेकपाका एक नेता भन्छन्, ‘अहिलेसम्म पनि केन्द्रीय कमिटीको बैठक बोलाइएको छैन। अब तत्काल बोलाउने कुरा पनि आएन। अनि कसरी हुन्छ महाधिवेशन?’

नेकपाभित्र महाधिवेशनको तयारी अघि बढाउन सबैभन्दा पहिले केन्द्रीय कमिटी बैठक आवश्यक रहेको नेताहरू बताउँछन्। नयाँ संगठनात्मक रणनीति, महाधिवेशनको स्वरूप, प्रतिनिधि छनोटदेखि नेतृत्व परिवर्तनसम्मका विषयमा निर्णय गर्न केन्द्रीय कमिटी सक्रिय हुनुपर्ने उनीहरूको भनाइ छ।

तर त्यही केन्द्रीय कमिटी बैठकसमेत तत्काल बोलाउने तयारी नदेखिएको नेताहरूको गुनासो छ।

‘अहिले बर्खा छ। अर्कोतिर बाढीपहिरो छ। केन्द्रीय कमिटी बोलाउन पनि १५ दिनअघि निम्ता दिनुपर्छ,’ एक नेता भन्छन्, ‘भदौ अन्तिममा बैठक बोलाउने हो भने पनि यतिबेला सदस्यहरूलाई निम्ता दिनुपर्थ्यो तर खै तयारी?’

नेकपाका अर्का नेता रन्जित तामाङ पनि महाधिवेशनको तयारीप्रति असन्तुष्ट छन्। ‘पार्टीमा महाधिवेशन गर्ने संकेत देखिँदैन। पार्टी अध्यक्षको ध्यान महाधिवेशनतर्फ छ जस्तो लाग्दैन,’ तामाङ भन्छन्, ‘प्राकृतिक विपत्ति एकातिर छ भने अर्कातिर नेताहरूको ध्यान महाधिवेशनतिर देखिँदैन।’

उनले महाधिवेशनलाई जटिल र खर्चिलो बनाउनुको सट्टा केन्द्रदेखि वडासम्म क्रमशः अधिवेशन गर्दै जाने ‘पिरामिड शैली’ अपनाउनुपर्ने धारणा राखेका छन्।

नेकपामा महाधिवेशनको तयारी सुस्त हुनुको पछाडि प्राकृतिक विपत्ति, बर्खा, चाडपर्व र संगठनात्मक जटिलता मात्रै कारण नभएको नेताहरू बताउँछन्। उनीहरूका अनुसार मुख्य प्रश्न नेतृत्व परिवर्तनको हो।

पार्टी गठन गर्दा नयाँ राजनीतिक शक्ति र वामपन्थी एकताको सन्देश दिइएको थियो। तर अहिले पार्टीभित्र पुरानो नेतृत्वलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ।

‘कमरेड प्रचण्ड चुनावअघि जति रूपान्तरणको मुद्दामा लाग्नुभएको थियो, अहिले त्यो पाइँदैन,’ तामाङ भन्छन्, ‘नवयुवाहरूको आन्दोलनपछि नेतृत्व छाड्नुपर्छ भन्नेमा उहाँ पुगेकै हो। अहिले त्यस्तो पाइँदैन।’

नेकपाका कतिपय नेताको बुझाइमा प्रचण्ड स्वयं सक्रिय भएर महाधिवेशन अघि बढाउने वातावरण नबनेसम्म प्रक्रिया तीव्र हुने सम्भावना कम छ।

‘पार्टीमा नेतृत्व परिवर्तनको दबाब चर्को छ। त्यो दबाब थेग्न सक्दिनँ कि भन्ने पनि नेताहरूलाई होला। त्यही कारण समय गुजारेको मैले पाएको छु,’ एक नेता भन्छन्।

पार्टीभित्रको एउटा धार भने माधवकुमार नेपाल, प्रचण्ड र झलनाथ खनालजस्ता शीर्ष नेताहरूलाई सल्लाहकार भूमिकामा राखेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा छ।

‘झलनाथसहितका नेताहरू अहिले सल्लाहकार बन्न तयार छन्। तर मुख्य नेता तयार देखिएनन्,’ नेकपाका अर्का नेता भन्छन्।

यसले महाधिवेशनलाई केवल संगठनात्मक पुनर्संरचनाको प्रक्रिया नभई नेतृत्व हस्तान्तरणको निर्णायक मञ्चका रूपमा हेरिन थालेको देखाउँछ।

महाधिवेशनको स्वरूपसमेत नेकपाभित्र अझै स्पष्ट छैन। आगामी मंसिरमा हुने भनिएको महाधिवेशन संगठनात्मक मात्रै हुने हो कि पार्टीको नीति, नेतृत्व र राजनीतिक कार्यदिशासमेत पुनर्निर्धारण गर्ने पूर्ण महाधिवेशन हुने हो भन्ने प्रश्नमा स्पष्ट निर्णय भइसकेको छैन।

‘अहिलेको विधानअनुसार मंसिरमा संगठनात्मक मात्र महाधिवेशन हुने कि नीतिगत पनि हुने निश्चित छैन। अब तत्काल केन्द्रीय कमिटी बोलाएर यो कुरा स्पष्ट गर्नुपर्छ। अनि मात्र महाधिवेशनबारे प्रस्ट हुन सकिन्छ,’ तामाङ भन्छन्।

यही अस्पष्टताले पनि महाधिवेशन तयारीलाई प्रभावित गरेको नेताहरूको बुझाइ छ।

महाधिवेशनको तयारीमा प्राकृतिक विपत्तिले पनि असर गरेको नेताहरू बताउँछन्। भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेकपाका धेरै नेता उद्धार तथा राहतमा केन्द्रित छन्। देशका विभिन्न भागमा बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा केन्द्रीय तहको राजनीतिक भेला गर्नसमेत कठिन भएको उनीहरूको तर्क छ।

‘चाडपर्व लागेको छ। तीजपछि दसैँतिहार सुरु हुन्छ। यो बेला महाधिवेशनमा हिँड्ने फुर्सद हुन्न,’ एक नेता भन्छन्, ‘अर्को कुरा बर्खाका कारण ठाउँठाउँको सडक मार्ग प्रभावित छ। यस्तो बेला सबै नेता भेला पारेर कसरी केन्द्रीय कमिटी बस्ने?’

तर पार्टीभित्रै अर्को धार भने प्राकृतिक विपत्तिलाई महाधिवेशन तयारी सुस्त हुनुको मुख्य कारण मान्न तयार छैन। उनीहरूको तर्कमा राजनीतिक इच्छाशक्ति भए कठिन परिस्थितिका बाबजुद पनि आवश्यक निर्णय र संगठनात्मक प्रक्रिया अघि बढाउन सकिन्छ।

पार्टीभित्र महाधिवेशनबारे आशंका बढिरहेका बेला नेकपा प्रवक्ता प्रकाश ज्वाला भने निर्धारित समयमै महाधिवेशन हुने दाबी गर्छन्। ‘सबै प्रक्रिया अघि बढिसक्यो। महाधिवेशन तोकिएकै मितिमा हुनेमा शंका छैन,’ ज्वाला भन्छन्, ‘सदस्यता नवीकरणको काम अघि बढिसक्यो।’

प्रवक्ताको दाबी र पार्टीभित्रका नेताहरूको असन्तुष्टिबीच ठूलो अन्तर देखिन्छ। एकातिर नेतृत्व महाधिवेशन समयमै हुने बताइरहेको छ, अर्कातिर वडा र पालिका अधिवेशनदेखि केन्द्रीय कमिटी बैठकसम्मका आधारभूत प्रक्रिया नै अन्योलमा छन्।

प्रकाशित: २० भदौ २०८३ २१:२४ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast