कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी

हिमाल प्रेस १८ भदौ २०८३ १९:२१ | Thursday, September 3, 2026
कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी

काठमाडौँ- भोटेकोशी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तब्यमा डटिरहेको छ।

भदौ १० गतेको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित नौ जना र त्रिशूली जलविद्युत् आयोजना सुरक्षा बेस मैलुङमा कार्यरत चार गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए।

ड्युटीमा निस्किएका कमाण्डर खत्री र दोस्रो कमाण्डमा रहेका नायब निरीक्षक प्रकाश न्यौपानेसहितको टोली गुमाउँदा पनि सशस्त्र प्रहरी सहायक निरीक्षक तामबहादुर थापा मगरले तुरुन्त कमाण्ड सम्हाली आफ्नो फौज सुरक्षित गरेका थिए।

बेपत्ता भएकामध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको थियो भने अन्य सशस्त्र प्रहरी कर्मचारी अझै सम्पर्कबिहीन छन्।

बाढी गएको झन्डै २४ घण्टासम्म सरकारी कार्यालयको नाममा सशस्त्र प्रहरी बलको बीओपी मात्र एक्लै थियो। जुन टोली करिब एक दिन हेडक्वार्टरको सम्पर्कमा थिएन।

बिजुली र टेलिफोन अबरुद्ध, हेक्वार्टरसँगको सम्पर्क बिच्छेद तथा कमान्डर गुमाएको फौजले आफ्नो कर्तव्य भने चुपचाप पूरा गरिरह्यो। भदौ ११ गते धुन्चेबाट सो क्षेत्रमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा थप टोली पठाइएको थियो।

उनीहरूले हालसम्म उक्त क्षेत्रमा बेपत्ता भएका ९८ जनाको शव फेला पारेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरीको उद्धार टोलीले भाद्र १२ गते साँझ टिमुरेमा माटोमुनि पुरिएको अवस्थामा ६ वर्षीया बालिकालाई जीवितै उद्धार गर्न सफल भएको थियो। यो टोलीले बाढी आएको करिब ६० घण्टापछि ती बालिका रोइरहेको आवाज सुनेपछि उद्धार गरेको थियो।

बाढीमा परी सम्पर्कविहीन भएकाको खोजीका लागि सशस्त्र प्रहरीले चार हजार २०० जनशक्ति परिचालन गरेको छ। बाढी प्रभावित धादिङको मलेखु र गल्छी, नुवाकोटको देविघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशुली–३ ‘ए’, त्रिशुली–३ ‘बी’, स्याफ्रुबेशी र बोगटीटारमा १२ वटा वेश स्थापना गरी खोज तथा उद्धारलाई तीव्रता दिएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता थापा जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि कत्ति पनि विचलित नभई सरकारले सुम्पेको जिम्मेवारीलाई दरिलो खम्बाका रुपमा उभिएर काम गर्दै आइरहेको बताउँछन्।

गोरखा भूकम्प, कोरोना महामारी, सीमलताललगायत ठूला घटना, दुर्घटना तथा महामारीमा समेत सशस्त्र प्रहरीले उत्कृष्ट कार्य प्रदर्शन गर्दै आइरहेको छ।

रसुवा बाढीलगत्तै सशस्त्रले टिमुरेदेखि पश्चिम नवलपरासीसम्म करिब ८०० जना विशेष तालिम प्राप्त टोली उद्धारमा खटाएको छ। उद्धार, राहत र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नुवाकोटमा सात, रसुवामा चार र धादिङमा दुई गरी १३ स्थानमा विपद बेस स्थापना गरेको छ।

विशेषज्ञ टोलीमा रहेको के ९ ले १२, ड्रोन टिमले १९, स्वीफ्ट वाटर रेस्क्यु टिमले १२३ शव फेला पारेको छ। बीओपी टिमुरेले मात्र अन्य सुरक्षा निकायसँग संयुक्त रुपमा टिमुरे इलाकाबाट ९८ शव संकलन गरेको छ।

प्रकाशित: १८ भदौ २०८३ १९:२१ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast