कांग्रेस बैठक शनिबार, महाधिवेशनबारे समानान्तर तयारी तीव्र

हिमाल प्रेस १७ भदौ २०८३ १६:११ | Wednesday, September 2, 2026
कांग्रेस बैठक शनिबार, महाधिवेशनबारे समानान्तर तयारी तीव्र

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठकमा रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपद् र १५औँ महाधिवेशन मुख्य एजेन्डाका रूपमा राखिएको पार्टीले जनाएको छ।

नेपाली कांग्रेसको संस्थापनइतर समूह, अर्थात् पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशन सम्पन्न गर्न छुट्टै कार्यतालिका प्रस्ताव गरेको छ। चुनदेवीस्थित १५औँ महाधिवेशन तयारी समितिको सम्पर्क कार्यालयमा बुधबार बसेको तयारी समिति बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको हो।

प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने उल्लेख छ।

यसअघि संस्थापन समूहले असोजको तेस्रो साता काठमाडौँमा १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संस्थापन समूहले सोही कार्यतालिकाअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको भन्दै संस्थापनइतर पक्षले संस्थापन समूहले अघि बढाएको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। तर सर्वोच्चले संस्थापन समूहले अघि बढाएको महाधिवेशन प्रक्रिया रोक्न आदेश दिन अस्वीकार गरेपछि इतर समूहले पनि छुट्टै कार्यतालिकासहित महाधिवेशनको तयारी अघि बढाएको हो।

महाधिवेशनको मिति र कार्यतालिकामै दुई समूहबीच फरक धारणा देखिएपछि कांग्रेसभित्रको विवाद अब संगठनात्मक प्रक्रियामै समानान्तर गतिविधिका रूपमा देखिन थालेको छ। एउटै महाधिवेशनका लागि संस्थापन र संस्थापनइतर समूहले अलग-अलग कार्यतालिका अघि सारेपछि पार्टीभित्रको विभाजनको जोखिम थप बढेको छ।

दुवै समूहले आ–आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्रको विवाद अब नेतृत्वको विवादबाट संगठनात्मक संरचना र महाधिवेशन प्रक्रियामै प्रवेश गरेको छ। शनिबार बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महाधिवेशनसम्बन्धी विषयले प्राथमिकता पाउने भएकाले दुई समूहबीचको विवाद कसरी अघि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

प्रकाशित: १७ भदौ २०८३ १६:११ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast