नेप्सेमा ६ दिनदेखिको गिरावटमा ब्रेक, ९.२४ अंकले बढ्यो

हिमाल प्रेस १६ भदौ २०८३ १५:५० | Tuesday, September 1, 2026
नेप्सेमा ६ दिनदेखिको गिरावटमा ब्रेक, ९.२४ अंकले बढ्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार ६ दिनदेखिको गिरावट मंगलबार रोकिएको छ। मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा बन्द भएको छ।

कारोबारको सुरुवातमा केही घटेको नेप्से त्यसपछि सुधारिँदै २ हजार ५३६.७६ विन्दुसम्म पुगेको थियो। दिनभरमा केही अंक गुमाए पनि परिसूचक अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशतले बढेर बन्द भएको हो।

परिसूचकमा सामान्य सुधार आए पनि मंगलबार कारोबार रकम भने घटेको छ। मंगलबार ७६ लाख १० हजार कित्ता सेयर ४८ हजार ३४१ वटा कारोबारमार्फत किनबेच हुँदा कुल २ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो गत असार यताकै न्यून कारोबार हो। असारमा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

मंगलबार बजारको समग्र अवस्था सकारात्मक देखिएको छ। कारोबार भएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढ्दा ८४ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ। त्यसपछि एमबीएल इक्विटी फन्डको ५.८८ प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको ४.८५ प्रतिशतले सेयर मूल्य बढेको छ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ८.४८ प्रतिशतले घटेको छ। घोराही सिमेन्ट इन्डस्ट्रीज लिमिटेडको ५.५३ प्रतिशत र सीवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.३९ प्रतिशतले सेयर मूल्य घटेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। कम्पनीको १३ करोड ८२ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ६३ लाख ९० हजार रुपैयाँ र अंकु खोला जलविद्युत कम्पनी लिमिटेडको १० करोड ३६ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार उत्पादन तथा प्रशोधन उपसमूहबाहेक सबै उपसूचक बढेका छन्। सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक १.०१ प्रतिशतले बढेको छ। जीवन बीमा उपसूचक ०.८९ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८३ प्रतिशतले बढेका छन्।

प्रकाशित: १६ भदौ २०८३ १५:५० | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast