संसद बैठक आह्वानका लागि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

हिमाल प्रेस १५ भदौ २०८३ १५:२६ | Monday, August 31, 2026
संसद बैठक आह्वानका लागि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने फाइल तस्बिर

काठमाडौँ- संसद बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बस्ने भएको छ।

सोमबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद बैठक सञ्चालनको टुङ्गो लगाउने बताएका हुन्।

सदन विपद्का कारण केही दिन स्थगित गरिएको भए तापनि अब तत्काल सञ्चालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेले बताए।

जवाफमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्शको बैठकपश्चात संसद आह्वान गरिने प्रतिवद्धता जनाएको आङदेम्बेले जानकारी दिए।

उनले विपद् व्यवस्थापन, राहत वितरणमा हुने दोहोरोपना रोक्न र वास्तविक पीडितलाई राज्य भएको अनुभूति दिलाउन संसद तथा संसदीय समितिहरूबाट सुक्ष्म निगरानी र निर्देशन हुनुपर्ने उल्लेख गरे।

सत्तारूढ दलका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन संसदको भूमिका अपरिहार्य रहेको आङदेम्बेको भनाइ छ।

यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले संसद बैठक बोलाउन सभामुखलाई ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।

विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निष्कर्ष बैठकले निकालेको थियो।

प्रकाशित: १५ भदौ २०८३ १५:२६ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast