काठमाडौँ- इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले क्षेत्रका मुस्लिम देशहरूलाई अमेरिका र इजरायलविरुद्ध एकजुट हुन आह्वान गरेका छन्।
यो आह्वान मध्यपूर्व युद्ध सुरु भएको ६ महिनापछि जारी गरिएको लिखित सन्देशमा आएको हो।
इरानी सर्वोच्च नेता खामेनीले फेब्रुअरी २८ मा युद्ध सुरु हुँदा उनका बुबा अली खामेनी मारिएको केही समयपछि सत्ताको बागडोर सम्हालेका थिए।
सर्वोच्च नेताको नियुक्तिपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् र अधिकारीहरूले उनको कुनै भिडियो वा अडियो पनि सार्वजनिक गरेका छैनन्।
‘इस्लामी राष्ट्रहरूका समस्याहरूको समाधान शब्दको एकता, मित्रता र भलाइको बाटोमा सहकार्य हो,’ उनले आइतबार शिया मुस्लिमहरूले पैगम्बर मोहम्मदको जन्मदिन मनाइरहेका बेला भनेका छन्।
‘जानाजानी वा अनजानमै भए पनि कसैले पदमा भएर पनि मुस्लिमहरूबीच विभाजन ल्याउने र मुस्लिम समुदायमा द्वन्द्व सिर्जना गर्ने कुनै काम गर्छ भने उसले इस्लामका शत्रुहरूको उद्देश्य पूरा गर्न सेवा गरेको ठहर्नेछ,’ उनले आफ्नो आधिकारिक वेबसाइटमार्फत् सार्वजनिक वक्तव्यमा उल्लेख गरेका छन्।
सर्वोच्च नेता खामेनीले अमेरिका र इजरायलतिर संकेत गर्दै मध्यपूर्व क्षेत्रका शासकहरूलाई ‘आफ्नो वास्तविक शत्रु चिन्नुहोस्, उसको योजना बुझ्नुहोस् र त्यसको सामना गर्नुहोस्’ भनेका छन्।
युद्धको क्रममा इरानले साउदी अरब, संयुक्त अरब इमिरेट्स, जोर्डन, कुवेत, कतार र बहराइनसहित मध्यपूर्वका अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाएको थियो। त्यसपछि ती देशहरूसँगको सम्बन्ध बिग्रिएको छ।
महत्वपूर्ण राज्य नीतिमा अन्तिम निर्णय गर्ने अधिकार भएका खामेनीले इरानी अधिकारी र नागरिकहरूलाई पनि मतभेद बिर्सेर इजरायल र अमेरिकाविरुद्ध एकजुट हुन आह्वान गरे।
‘म दृढतापूर्वक घोषणा गर्छु, सामाजिक एकतामाथि हानिकारक कुनै पनि काम निषेधित छ,’ उनले शुक्रबारको सन्देशमा भनेका थिए।
शुक्रबार उनले इरानी अर्थतन्त्रलाई क्रमशः डलरमुक्त बनाउन र अमेरिकी नौसैनिक नाकाबन्दीका महिना र वर्षौँदेखिको कठोर प्रतिबन्धले जनजीवनमा पारेको असरपछि आर्थिक उत्पादन बढाएर वृद्धिमा सहयोग गर्न पनि आह्वान गरेका थिए।- रासस/एएफपी


