सिन्हवाले प्रसारण गरेको भिडियोबाट लिइएको स्क्रिनसट तस्बिर।
काठमाडौँ- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोले बनाएको ताल शुक्रबार ओभरफ्लो भएपछि दुई दिनअघि आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा फेरि त्रास फैलिएको छ। ताल फुट्ने जोखिम बढेपछि केही समयका लागि उद्धार कार्यसमेत रोकिएको थियो।
ताल फुट्ने सूचना फैलिएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र चितवनमा त्रास फैलिएको हो। तटवर्ती क्षेत्रका बासिन्दा ज्यान जोगाउन माथिल्लो भेगर्तफ लागेका छन्।
बुधबार आएको विनाशकारी बाढीमा नेपालमा चार सय ८९ र चीनको तिब्बतमा पाँच जनाको मृत्यु भएको छ। दुवै देशमा गरी एक हजारभन्दा बढी बेपत्ता छन्।
शुक्रबार तालमा जम्मा भएको पानी २५ लाख घनमिटर नाघेको थियो। एक दिनअघि यसको मात्रा १५ देखि २० लाख घनमिटर अनुमान गरिएको थियो। पछि तालको पानी किनारा नाघेर भोटेकोशी नदीमा मिसिन थालेको थियो।
रसुवा जिल्लाका वरिष्ठ प्रशासकीय अधिकारी नरेन्द्र परियारले तालले आफ्नो किनारा नाघेको सूचना पाएका बताए। उनले भने, ‘तर यो कति ठूलो छ र पानीको सतह कति माथि पुगेको छ भन्ने हामीलाई थाहा छैन। नदीमा पानीको सतह बढिरहेको हामी देख्न सक्छौँ।’
ताल ओभरफ्लो भएको खबरसँगै स्थानीय बासिन्दाहरू सामान बोकेर सुरक्षित स्थानतर्फ दौडिएका छन्। नदीबाट टाढा रहन चेतावनी दिँदै माइकिङ गरिएको छ भने प्रहरीहरू डोरी र स्ट्रेचर तयारी अवस्थामा राखेर तैनाथ छन्।
उद्धारकर्मीहरूलाई पनि आफ्ना उपकरणसहित सुरक्षित स्थानमा जान भनिएको छ।


