म्याग्दी- म्याग्दीमा गहना चोरी गर्ने बारा र पर्साका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार, पक्राउ पर्नेमा बाराका आकाश राय, पर्साका लालबाबु राय, प्रमोद कुमार, सुनिलकुमार राय र एक नाबालकलाई अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बेनी नगरपालिका–६ अर्थुङ्गेमा भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई म्याग्दी जिल्ला अदालतको अनुमतिमा अनुसन्धानका लागि तीन दिनका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाहरुले बेनी नगरपालिका–५ गाजनेको जगन्नाथ मन्दिरमा सोमबार लागेको धार्मिक मेलामा पूजाआजाका लागि आएकी स्थानीय भद्रकुमारी कार्कीले घाँटीमा लगाएको सुनको सिक्री चोरी गरेर भागेका थिए । उनीहरु यसअघि पनि म्याग्दीका अन्य चोरीका घटनाहरुमा संलग्न भई मुद्दा चलेको खुलेको प्रहरीले जनाएको छ।
प्रकाशित: १० भदौ २०८३ ८:४३ | Wednesday, August 26, 2026
प्रतिक्रिया


