काठमाडौँ– ललितपुरको पाटनमा पुनर्निर्माण गरिएको सांस्कृतिक सम्पदा स्थल कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन गरिएको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोमबार संयुक्त रूपमा दुवै सम्पदा स्थलको उद्घाटन गरेका हुन्।
कार्यक्रममा नेपाल सरकारअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का अधिकारी, स्थानीय समुदायका प्रतिनिधि तथा भारतीय राजदूतावासका अधिकारीहरूको सहभागिता थियो।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब पाँच करोड रुपैयाँको लागतमा कुमारी छेँ र नयाँ कुमारी निवास पुनर्निर्माण गरिएको हो। परियोजना केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले कार्यान्वयन गरेको थियो भने डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेसनल ट्रस्ट फर आर्ट्स एन्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको भारतीय राजदूतावासले जनाएको छ।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य खरेलले स्थानीय बासिन्दाको योगदानको प्रशंसा गर्दै जीवित सांस्कृतिक सम्पदा स्थलको संरक्षण आवश्यक रहेको बताए।
ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरसहित विभिन्न जिल्लाका सांस्कृतिक सम्पदा स्थलको पुनर्निर्माण र पुनर्स्थापनामा भारतले गरेको सहयोगको प्रशंसा गरे।
भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धको चर्चा गर्दै नेपालका ऐतिहासिक धरोहरको पुनर्स्थापनामा भारतको निरन्तर सहयोग रहने बताए।
भारतीय राजदूतावासका अनुसार भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहायता कार्यक्रमअन्तर्गत नेपालका आठ जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षणमा सहयोग गरेको छ।
कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माणले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई थप सहयोग गर्नुका साथै नेपाल–भारतबीचको विकास साझेदारीलाई समेत प्रतिबिम्बित गरेको भारतीय राजदूतावासले जनाएको छ।


