कन्सर्टका लागि अमेरिकी गायिका जेसिका लिन काठमाडौँमा

हिमाल प्रेस ९ भदौ २०८३ १४:०५ | Tuesday, August 25, 2026
कन्सर्टका लागि अमेरिकी गायिका जेसिका लिन काठमाडौँमा

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासको आमन्त्रणमा ‘कन्ट्री’ विधाकी प्रख्यात अमेरिकी गायिका तथा गीतकार जेसिका लिन नेपाली संगीतकर्मी तथा संगीत उद्योगका पेसाकर्मीहरूसँग जारी सप्ताहव्यापी व्यावसायिक आदानप्रदान, मार्गदर्शन तथा सहकार्यका लागि काठमाडौँमा छिन्। यो कार्यक्रम अमेरिकी परराष्ट्र मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आर्ट्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको एक हिस्सा रहेको दूतावासले जनाएको छ। भदौ ८ मा सुरु भएको कार्यक्रम १३ गतेसम्म चल्नेछ।

गायिका लिन गीत लेखन, सांगीतिक व्यवसाय, डिजिटल प्लेटफर्म, प्रतिलिपि अधिकार र बृहत्तर संगीत उद्योगमा केन्द्रित अन्तरक्रियात्मक सत्रहरूमार्फत लीन यस हप्ताभरि नेपाली गायक-गायिका, संगीतकार, गीतकार, निर्माता, कलाकार व्यवस्थापक र अन्य सांगीतिक पेसाकर्मीहरूसँग संलग्न भएकी छन्। यसबाट नेपाली कलाकार तथा पेसाकर्मीहरूले बजार, श्रोता-दर्शक र अमेरिकी संगीत उद्योगका समकक्षीहरूसँग सहकार्यका अवसरहरूबारे नयाँ दृष्टिकोण हासिल गर्ने विश्वास दूतावासको छ।

‘अमेरिका र नेपालबिचको साझेदारी कलाको क्षेत्रसम्म पनि फैलिएको छ र यसै साल अमेरिकी स्वतन्त्रताको २५० वर्षको उत्सव मनाउँदै गर्दा अमेरिकी सांस्कृतिक उत्कृष्टता बाँड्न पाउँदा हामी गौरवान्वित छौँ। संगीत हाम्रा दुई देशका जनतालाई जोड्ने एक शक्तिशाली माध्यम हो। अमेरिकी र नेपाली कलाकार तथा श्रोता-दर्शकहरूलाई एकअर्काबाट सिक्ने, आफ्ना दृष्टिकोणहरू बाँड्ने र सार्थक व्यावसायिक सम्बन्धहरू निर्माण गर्ने अवसर सिर्जना गर्दै नेपालको बढ्दो उद्योगधन्दाको आर्थिक वृद्धि र सिर्जनात्मकतामा योगदान दिन पाउँदा हामीलाई खुसी छ,’ कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले भनेका छन्।

‘आर्ट्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको समापन भदौ १३ गते ललितपुरको पुलचोकस्थित ‘द प्लाजा’ सम्मेलन केन्द्रमा एक सार्वजनिक कन्सर्टका साथ हुनेछ। दर्ता भएका आमन्त्रित अतिथिका लागि ढोका दिउँसो ३:३० बजे खुल्नेछ भने कार्यक्रम ठिक ४:३० बजे सुरु हुनेछ। कन्सर्टमा जेसिका लिनका अतिरिक्त नेपाली कलाकारहरू रातो रानी र उजन शाक्यका पनि प्रस्तुति रहनेछन्।

प्रकाशित: ९ भदौ २०८३ १४:०५ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast