यज्ञोपवीत निर्माणका प्राविधिक पक्ष

विष्णुप्रसाद पोखरेल ९ भदौ २०८३ १३:४८ | Tuesday, August 25, 2026
यज्ञोपवीत निर्माणका प्राविधिक पक्ष

ब्रह्मज्ञान तथा वेदप्रतिपादित विषयको सूचकका रूपमा रहेको पवित्र सूत्रलाई यज्ञोपवीत, ब्रह्मसूत्र तथा सावित्रीसूत्र भनिन्छ। यज्ञोपवीतको निर्माणमा संख्या, मन्त्र, तन्तु, ग्रन्थि तथा धारणविधिको विशेष महत्त्व रहेको पाइन्छ।

चतुर्वेदेषु गायत्री चतुर्विंशतिकाक्षरी।
तस्माच्चतुर्गुणं कृत्वा ब्रह्मतन्तुमुदीरयेत्।। -शिष्टस्मृति

ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार वेद तथा चौबीस अक्षरयुक्त गायत्री मन्त्रलाई चार गुणा गर्दा प्राप्त हुने छयानब्बे (९६) संख्यात्मक समूहको समष्टिगत स्वरूपलाई ब्रह्मतन्तु अर्थात् यज्ञोपवीतका रूपमा व्याख्या गरिएको छ। यसैलाई अर्को शास्त्रीय परम्परामा यसरी स्पष्ट गरिएको छ-

तिथिर्वारश्च नक्षत्रं तत्त्ववेदगुणान्वितम्।
कालत्रयं च मासाश्च ब्रह्मसूत्रं हि षण्णवम्।। -छान्दोग्यपरिशिष्ट

यसअनुसार ब्रह्मसूत्रमा निम्न छयानब्बे (९६) तत्त्वहरूको सांकेतिक समावेश रहेको मानिन्छ-
तिथि – १५
वार – ७
नक्षत्र – २७
तत्त्व – २५
वेद – ४
गुण – ३
काल – ३
मास – १२
जम्मा – ९६

यज्ञोपवीत निर्माणमा प्रयोग हुने सामग्री

यज्ञोपवीत निर्माणका लागि कपास, क्षौम (रेशमी वा सनसम्बन्धी तन्तु), गोवाल, शाण, वल्कल, तृण आदि शास्त्रसम्मत सामग्री प्रयोग गर्न सकिने उल्लेख पाइन्छ-
कार्पासक्षौमगोबालशाणवल्कतृणादिकम्।
यथासंभवतो धार्यमुपवीतं द्विजातिभिः।।

अर्थात् कार्पास, क्षौम, गोवाल, शाण, वल्कल, तृण आदिबाट यथासम्भव निर्माण गरिएको उपवीत द्विजहरूले धारण गर्नुपर्दछ।

यज्ञोपवीत निर्माणको विधि

यज्ञोपवीत निर्माणका सम्बन्धमा स्मृत्यर्थसार मा यस प्रकारको विधान उल्लेख गरिएको छ-
शुचौ देशे शुचिः सूत्रं संहताङ्गुलिमूलके।
आवेष्ट्य षण्णवत्या तत्त्रिगुणीकृत्य यत्नतः।।
अब्लिङ्गकैस्त्रिभिः सम्यक् प्रक्षाल्योर्ध्ववृतं तु तत्।
अप्रदक्षिणमावृतं सावित्र्या त्रिगुणीकृतम्।
अधः प्रदक्षिणमावृतं समं स्यान्नव सूत्रकम्।
त्रिरावेष्ट्य दृढं बद्ध्वा हरिब्रह्मेश्वरान्नमेत्।। – स्मृत्यर्थसार

यसअनुसार शुद्ध स्थानमा शुद्ध सूत्रलाई संहत अर्थात् जोडिएका औँलाको मूलभागमा राखी गायत्री मन्त्रको जपसहित छयानब्बे पटक बेर्ने, त्यसलाई आवश्यकतानुसार त्रिगुणित गर्ने र आपोहिष्ठादि मन्त्रद्वारा विधिपूर्वक प्रक्षालन गर्ने विधान देखिन्छ। तत्पश्चात् सूत्रलाई उचित दिशामा आवर्तन गराउँदै त्रिगुणित गरी नवतन्तुयुक्त यज्ञोपवीत तयार गरिन्छ। अन्त्यमा तीन पटक दृढतापूर्वक ग्रन्थि बाँधी हरि, ब्रह्मा र ईश्वरको नमस्कार तथा अभिमन्त्रण गरिन्छ।

परम्परागत विधिमा तयार भएको यज्ञोपवीतमा ॐकार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम र विश्वेदेवा आदिको सांकेतिक सम्बन्ध मानिन्छ। त्यसैगरी ग्रन्थिमा हरि, ब्रह्मा र ईश्वर अर्थात् त्रिदेवको स्मरण गरिन्छ। यसरी मन्त्र, तन्तु, आवर्तन, ग्रन्थि र देवतास्मरणद्वारा संस्कारित सूत्र नै यज्ञोपवीतका रूपमा धारण गरिन्छ।

यज्ञोपवीतको लम्बाइ

यज्ञोपवीतको लम्बाइ र धारणस्थानका सम्बन्धमा धर्मशास्त्रीय परम्परामा भनिएको छ-

पृष्ठवंशे च नाभ्यां च धृतं यद्विन्दते कटिम्।
तद्धार्यमुपवीतं स्यान्नातिलम्बं न चोच्छ्रितम्।। – धर्मशास्त्र

अर्थात् बायाँ काँधबाट लगाइएको यज्ञोपवीत पृष्ठभाग हुँदै नाभि र कटिसम्म पुग्ने गरी उचित लम्बाइको हुनुपर्दछ। न अत्यधिक छोटो न अत्यधिक लामो हुने गरी यसको परिमाण निर्धारण गरिन्छ। परम्परागत व्याख्याअनुसार छोटो हुँदा स्तनभन्दा माथि र लामो हुँदा कटिभन्दा तल पुग्ने गरी धारण गर्नु उपयुक्त मानिँदैन।

यसरी हेर्दा यज्ञोपवीत केवल कपास वा अन्य तन्तुबाट बनेको सामान्य धागो मात्र नभई वेद, गायत्री, काल, तिथि, नक्षत्र, तत्त्व, गुण तथा संस्कारको सांकेतिक समन्वय भएको ब्रह्मसूत्र हो। शुद्ध सामग्री, शुद्ध स्थान, मन्त्रसंस्कार, निर्धारित संख्या, तन्तु-विन्यास, ग्रन्थि तथा विधिपूर्वक अभिमन्त्रण गरी निर्माण गरिएको यज्ञोपवीतलाई नै शास्त्रीय परम्परामा शुद्ध, संस्कारित र परिष्कृत यज्ञोपवीत मानिएको छ।

अतः प्रातःकालीन शुद्ध वातावरणमा उपयुक्त सामग्री र परम्परागत विधिको अनुसरण गर्दै मन्त्रसंस्कारपूर्वक निर्माण गरिएको यज्ञोपवीत वैदिक संस्कार र द्विजत्वको पवित्र प्रतीकका रूपमा धारण गरिनुपर्दछ।

 

प्रकाशित: ९ भदौ २०८३ १३:४८ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast