तस्बिर साभार : सोनी पिक्चर्स
रामायण प्रसिद्ध कथामध्ये एक हो। अहिले यही वीरगाथालाई दुई भागमा निर्माण गरिएको ठूलो बजेटको फिल्ममार्फत पर्दामा उतारिएको छ। निर्माण टोलीले यो फिल्मलाई विश्वव्यापी घटना बनाउने लक्ष्य राखेको छ।
यस वर्ष चर्चित सुपरहिरो फिल्म र बालबालिकाका एनिमेसन फिल्मबीच हजारौँ वर्ष पुरानो एउटा महाकाव्यमा आधारित फिल्मले पनि बक्स अफिसमा ठूलो सफलता पाएको छ। पौराणिक जीव, सर्वशक्तिमान देवता र धनुषबाण बोकेका एक वीरको कथा समेटिएको होमरको ‘द ओडिसी’लाई निर्देशक क्रिस्टोफर नोलनले पर्दामा उतारेका छन्।
यस वर्ष ठूलो पर्दामा चर्चाको विषय बन्ने हजारौँ वर्ष पुरानो महाकाव्य यही एउटा मात्र नहुन सक्छ। हिन्दू महाकाव्य ‘रामायण’लाई दुई भागमा निर्माण गरिरहेको टोलीले पनि आफ्नो फिल्मले विश्वभर तहल्का मच्चाउने अपेक्षा गरेको छ। फिल्मको पहिलो भाग हिन्दूहरूको पर्व तिहारसँगै नोभेम्बरमा विश्वभर प्रदर्शन गर्ने तयारी गरिएको छ। यसको निर्माणमा भारतीय फिल्मको इतिहासमै अभूतपूर्व ठूलो रकम खर्च गरिएको छ।
रामायण कवि वाल्मीकिले ईसापूर्व चौथो शताब्दीतिर रचना गरेको मानिन्छ। उनले करिब २४ हजार श्लोकमा रामको कथा प्रस्तुत गरेका छन्। कथाको केन्द्रमा अयोध्याका राजकुमार राम छन्, जो हिन्दू धर्ममा पालनकर्ता देवता विष्णुको अवतार मानिन्छन्। रामकी पत्नी सीतालाई दुष्ट राजा रावणले अपहरण गरेपछि उनलाई उद्धार गर्न रामले संघर्ष गर्नुपरेको कथा रामायणको मूल कथावस्तु हो।
रामायणको कथा यसअघि पनि पटकपटक फिल्म र विभिन्न माध्यमबाट प्रस्तुत भइसकेको छ। विश्वभरका दुई अर्बभन्दा बढी मानिस यस कथासँग परिचित रहेको अनुमान गरिन्छ। तर यति ठूलो स्तरमा यसको कथा यसअघि कहिल्यै पर्दामा प्रस्तुत गरिएको थिएन।
रामको भूमिकामा चर्चित अभिनेता रणवीर कपुर र रावणको भूमिकामा यश देखिँदै छन्। हलिउडका चर्चित संगीतकार हान्स जिमर र भारतीय संगीतकार एआर रहमान फिल्मको संगीतमा जोडिएका छन्। सोनी पिक्चर्स पनि हालै यसको अन्तर्राष्ट्रिय वितरकका रूपमा जोडिएको छ।
‘रामायण’ को पहिलो भाग निर्माणमा २०० देखि २५० मिलियन अमेरिकी डलर अर्थात् करिब १४७.५ देखि १८४ मिलियन पाउन्ड खर्च गरिएको छ। यसको दोस्रो भागमा पनि लगभग त्यति नै बजेट छुट्याइएको छ। दोस्रो भाग सन् २०२७ को नोभेम्बरमा प्रदर्शन गर्ने तयारी छ। यससँगै यी दुवै फिल्म अहिलेसम्मकै सबैभन्दा महँगा भारतीय फिल्म बन्नेछन्।
यसअघि सबैभन्दा महँगो भारतीय फिल्म मानिएको सन् २०२४ को ‘कल्की २८९८ एडी’ मा ६८ मिलियन अमेरिकी डलर खर्च भएको थियो।
दुईवटै रामायण फिल्ममा खर्च हुने कुल रकम ‘ह्यारी पोटर एन्ड द डेथ्ली ह्यालोज’ का दुवै भागको संयुक्त बजेटभन्दा दोब्बर हुनेछ। त्यस्तै, तीन भागमा बनेको ‘द होबिट’ शृंखलामा खर्च भएको ६२३ मिलियन डलरको कुल बजेटभन्दा पनि यो रकम धेरै टाढा छैन।
फिल्मका निर्माता तथा यसको मुख्य परिकल्पनाकार नमित मल्होत्रा रामायणलाई विश्वव्यापी फिल्म घटनाका रूपमा प्रस्तुत गर्न चाहन्छन्। उनी भन्छन्, ‘यो सुरुदेखि नै विश्वका लागि बनाउने सोचका साथ परिकल्पना गरिएको थियो। भारतबाट विश्वका लागि।’
उनका अनुसार रामायणको कथा भारतमा पुस्तौँदेखि सुनाइँदै आएको छ। ‘भारतका हरेक हजुरआमाले आफ्ना नातिनातिनालाई रामायणको कथा सुनाउँदै आएका छन्’, मल्होत्राले बीबीसीसँग भने।
ट्रेलर र पहिलो फिल्मका सबै पोस्टरमा राखिएका शीर्षकले पनि प्रस्ट पार्छन्- यो ‘नमित मल्होत्राज रामायण’ हो। दृश्यात्मक रूपमा भव्य यो महाकाव्यमा मल्होत्राको भिजुअल इफेक्ट्ससम्बन्धी विशेषज्ञतालाई केन्द्रमा राखिएको छ।
मल्होत्राले १९ वर्षको उमेरमा सन् १९९७ मा मुम्बईस्थित आफ्नै बुबाको ग्यारेजबाट ‘प्राइम फोकस’ नामक भिजुअल इफेक्ट्स कम्पनी स्थापना गरेका थिए। सन् २०१४ मा यो कम्पनी अग्रणी भिजुअल इफेक्ट्स स्टुडियो डबल नेगेटिभसँग गाभियो। त्यसयता मल्होत्रा विश्वव्यापी प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नेतृत्व गरिरहेको यो कम्पनीले ‘ब्लेड रनर २०४९’, ‘ओपेनहाइमर’ र तीनवटै ‘ड्युन’ फिल्मसहित थुप्रै चर्चित फिल्ममा काम गरिसकेको छ। ‘द ओडिसी’मा समेत यही कम्पनीको संलग्नता छ।
पोस्टरमा मल्होत्राको नाम प्रमुखताका साथ राखिएको भए पनि ‘रामायण’ का निर्देशक भने चर्चित निर्देशक नितेश तिवारी हुन्। उनले पछिल्ला वर्षमा भारतीय फिल्मले विश्वभर हासिल गरेको सफलतालाई उल्लेख गर्दै सन् २०२२ को विश्वव्यापी रूपमा सफल एक्सन फिल्म ‘आरआरआर’ र सन् २०२३ को अपराधप्रधान फिल्म ‘एनिमल’लाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
‘आरआरआर’ ले विश्वभरको बक्स अफिसमा १४५ मिलियन डलर अर्थात् करिब १०७ मिलियन पाउन्ड आम्दानी गरेको थियो भने ‘एनिमल’ ले ९५ मिलियन डलर अर्थात् करिब ७० मिलियन पाउन्ड कमाएको थियो।
तिवारीका अनुसार पछिल्लो समय भारतीय फिल्मले विश्वभरका दर्शकबाट स्वीकार्यता पाउन थालेका छन्। उनी भन्छन्, ‘भारतीय फिल्मले विश्वभरका दर्शकमाझ स्वीकार्यता पाउन थालेका छन्। यसले हाम्रा फिल्म निर्मातालाई अझ ठूलो लक्ष्य राख्न प्रोत्साहित गरेको छ, किनकि अब फिल्मबाट प्राप्त हुन सक्ने प्रतिफल मुख्यतः भारतीय बक्स अफिसमा मात्र सीमित छैन।’
रामायणको महत्त्व
रामायणको कथा पश्चिमी मुलुकका केही दर्शकका लागि नयाँ हुन सक्छ। तर भारतमा यसको व्यापकता कति गहिरो छ भन्ने कुरा अतिशयोक्ति गरेर पनि वर्णन गर्न गाह्रो छ।
राजिन्दर दुधराह बेलायतको बर्मिंघम सिटी युनिभर्सिटीमा सांस्कृतिक अध्ययन तथा सिर्जनात्मक उद्योगका प्राध्यापक हुन्। भारतीय फिल्मबारे उनले विभिन्न पुस्तकसमेत लेखेका छन्। उनका अनुसार रामायण हिन्दू परिवारमा मात्र सीमित छैन।
उनी भन्छन्, ‘मलाई लाग्छ, भारतीय लोकप्रिय संस्कृतिमा हुर्किएको जोसुकैले-मुख्यतः भारतीयले मात्र होइन, समग्र दक्षिण एसियाली समुदायले चाहे ती बंगाली हुन् वा पाकिस्तानी-रामायणको कथामा आधारित विभिन्न रूपका फिल्म हेरेका छन्।’
रामायणका विभिन्न रूप र रूपान्तरणको इतिहास निकै लामो छ। यसको विस्तार नवौँ शताब्दीको जाभानी कविताकृति ‘काकाविन रामायण’ देखि १२औँ शताब्दीको तमिल भाषाको व्याख्या ‘रामावतारम्’ हुँदै सन् १९९२ मा बनेको भारत–जापान संयुक्त एनिमे ‘रामायण : द लिजेन्ड अफ प्रिन्स राम’ सम्म पुगेको छ।
सन् २००८ को अमेरिकी एनिमेसन ‘सीता सिङ्स द ब्लुज’ ले रामद्वारा अपहरण गरिएकी राजकुमारी सीताको दृष्टिकोणबाट कथा प्रस्तुत गरेको छ। सन् २०१० को ‘रावण’ले अपहरणकर्तालाई खलनायकका रूपमा चित्रण गर्ने परम्परागत धारणामाथि प्रश्न उठाएको छ। सन् २०२२ को ‘आरआरआर’ले भारतमा बेलायती औपनिवेशिक शासन रहेको समयको पृष्ठभूमिमा रामायणका कथात्मक तथा सांस्कृतिक सन्दर्भ प्रयोग गरेको छ।
टेलिभिजनमा सबैभन्दा चर्चित रूप
आधुनिक भारतमा रामायणको सबैभन्दा लोकप्रिय र व्यापक चिनिएको रूप भने सन् १९८७–८८ मा प्रसारित टेलिभिजन धारावाहिक ‘रामायण’ हो।
मल्होत्रा सम्झन्छन्, ‘८० को दशकमा यो टेलिभिजन कार्यक्रम प्रसारण हुँदा पूरै देश ठप्पजस्तै हुन्थ्यो। हामी बालबालिका हुँदा हरेक आइतबार टेलिभिजन अगाडि बसेर कार्यक्रम सुरु हुने प्रतीक्षा गर्थ्यौँ।’
हिन्दू धार्मिक ग्रन्थबाट आएको भए पनि रामायण धर्मको सीमाभन्दा माथि रहेको मल्होत्राको धारणा छ।
उनी भन्छन्, ‘मैले सधैँ भन्दै आएको छु-हामी संस्कृतिको कुरा गरिरहेका छौँ, धर्मको होइन। हामी विचारधाराका बारेमा कुरा गरौँ भनिरहेका छौँ। यो कुनै राष्ट्रियता, धर्म वा जातिविरुद्ध होइन। जब हामी पाँच हजार वा १० हजार वर्षअघिको समयको कुरा गर्छौँ, त्यतिबेला अरू केही अस्तित्वमै थिएन। त्यसैले विभाजनको कुनै कारण पनि थिएन। फिल्मको उद्देश्य विभाजन गर्नु होइन, हाम्रा भिन्नतालाई उत्सवका रूपमा मनाउँदै हामीलाई एकताबद्ध गर्नु हो।’
निर्देशक नितेश तिवारीका अनुसार रामायण नैतिक मूल्य, सम्बन्ध र ती सम्बन्धबाट उत्पन्न हुने भावनाको कथा हो।
उनी भन्छन्, ‘सबैभन्दा ठूलो चुनौती हामीले निर्माण गरिरहेको भव्य संसारले ती भावनालाई ओझेलमा नपारोस् भन्ने सुनिश्चित गर्नु थियो। पात्र वरिपरिको संसार जतिसुकै भव्य भए पनि दर्शक उनीहरूको यात्रासँग भावनात्मक रूपमा जोडिइरहनुपर्छ।’ बीबीसी कल्चरबाट


