सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने

हिमाल प्रेस ७ भदौ २०८३ १४:५३ | Sunday, August 23, 2026
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा एक एक वटा आवासीय विद्यालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वय तथा राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको आयोजनामा धनगढीमा भएको ‘अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ विषयक छलफलमा मन्त्री पोखरेलले विद्यालय स्थापनाका लागि आवश्यक बजेटसमेत विनियोजन भइसकेको बताए।

उनका अनुसार विद्यालय सञ्चालनको मोडालिटी तय गर्न सरोकारवालासँग छलफल भइरहेको छ। प्रस्तावित आवासीय विद्यालयमा पठनपाठनसँगै थेरापी, स्वास्थ्य सेवा र अन्य रचनात्मक गतिविधि सञ्चालन गरिनेछ।

‘सरकार गठन हुनेबित्तिकै अटिजम भएका बालबालिकाका लागि देशका सातै प्रदेशमा एउटा एउटा आवासीय विद्यालय स्थापना गर्ने घोषणा गरिसकेका छौँ। त्यसका लागि आवश्यक बजेटको व्यवस्था पनि भइसकेको छ,’ मन्त्री पोखरेलले भने,‘यसै वर्षदेखि विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउँछौँ।’

विद्यालयमा भर्ना गर्नुअघि अटिजम भएका बालबालिकालाई आवासीय रूपमा स्वास्थ्य सेवा र आवश्यक शिक्षा प्रदान गर्ने उद्देश्यले मापदण्डको मस्यौदा तयार गरिएको उनले बताए। मस्यौदालाई प्रभावकारी बनाउन सरोकारवालाबाट रचनात्मक सुझाव आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित: ७ भदौ २०८३ १४:५३ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast