बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

हिमाल प्रेस ३ भदौ २०८३ २१:३६ | Wednesday, August 19, 2026
4
SHARES
बगेर बेपत्ता भएका दुई किशोरको शव फेला प्रतीकात्मक तस्बिर।

काठमाडौँ- पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३० गते बगेर बेपत्ता भएका दुई किशोरको शव भेटिएको छ।

सुरक्षाकर्मीले गोताखोरसहित विभिन्न विधि प्रयोग गरी खोजी गर्ने क्रममा पोखरा–१४ चाउथेका १५ वर्षीय ओमन राईको शव तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदी किनारमा बुधबार भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

यसअघि अर्का बेपत्ता स्याङ्जा स्थायी घर भई पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव मंगलबार घटनास्थलभन्दा डेढ किमी तल खोलाको बीचमा ढुङ्गाले अड्किएको अवस्थामा फेला परेको थियो।

सेती नदीमा खोजी गर्ने क्रममा तनहुँमा भेटिएको राईको शव आमाले सनाखत गरेपछि परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको सहायक प्रजिअ बरालले बताए।

साथीहरुसँग फुटबल खेल्न विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरी जाने क्रममा दुवै जनालाई खोलाले बगाएको थियो।

प्रकाशित: ३ भदौ २०८३ २१:३६ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast