काठमाडौँ- एनसेलले १९८ वटा गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ।
कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको गत साउन २२ को स्वीकृतिअनुसार मंगलबारदेखि ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो।
दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि स्वीकृति दिएको कम्पनीले जनाएको छ।
नयाँ पल्स दर अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रुस, रोमानिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको र लिबियालगायतका मुलुकमा लागू भएको छ।
एनसेलका अनुसार नयाँ पल्स दर लागू भएका सबै मुलुकको पूर्ण सूची तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्क कम्पनीको वेबसाइटमा रहेको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिनेछ।


