गृहमन्त्री सुधन गुरुङ। फाइल तस्बिर
काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले आज रातिदेखि भोलिसम्म विभिन्न नदी तथा खोलानालामा आकस्मिक बाढी, गेग्रान बहाब (डेब्रिस फ्लो) र जल सतह बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
उनको सचिवालयले जारी गरेको विशेष अलर्टअनुसार गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा र प्युठान तथा आसपासका जिल्लामा तत्काल लागू हुने गरी भोलि बिहानसम्म आकस्मिक बाढी र गेग्रान बहाबको उच्च जोखिम रहेको छ।
त्यस्तै, मध्यरातपछि भोलिसम्म रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, दाङ, जाजरकोट, सुर्खेत र दैलेख तथा आसपासका जिल्लामा उच्च जोखिम रहने जनाइएको छ।
काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, चितवन र नवलपरासीमा पनि सावधानी अपनाउन आग्रह गरिएको छ।
सचिवालयका अनुसार भोलि र पर्सिका लागि नारायणी नदी तथा यसका प्रमुख उपजलाधार त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती र कालीगण्डकीलगायत नदी तथा तिनका सबै उपजलाधारमा बाढीको जोखिम रहेको छ।
जोखिमलाई ध्यानमा राख्दै नदी, खोला तथा तटीय क्षेत्रमा अनावश्यक रूपमा नजान, रातिको समयमा खोला तथा नदी तर्ने वा जोखिमपूर्ण यात्रा नगर्न र बाढी, पहिरो तथा गेग्रान बहाब आउन सक्ने स्थानमा बसोबास गर्नेहरूले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।
त्यसैगरी, जल सतह बढेको वा बाढी आएको अवस्थामा पुल, कल्भर्ट तथा खोल्सा पार गर्ने प्रयास नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना तथा चेतावनीलाई निरन्तर पछ्याउन आग्रह गरिएको छ। जोखिममा रहेका समुदायलाई समयमै सुरक्षित स्थानतर्फ सर्न तयार रहनसमेत भनिएको छ।


