काठमाडौँ- नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि आकर्षक तलब सुविधाको प्रलोभनमा क्यानडा पठाइदिने भन्दै रु १२ लाख ८० हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहा जिल्ला, सिरहा नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–५ टीकाथली बस्ने ३२ वर्षीय सुशान्त सिंह रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरण काठमाडौँबाट पक्राउ अनुमति लिई उनलाई काठमाडौँ शङ्खमुलबाट पक्राउ गरिएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
उनलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २९ साउन २०८३ ५:४१ | Friday, August 14, 2026
प्रतिक्रिया


