साम्य भयो लुम्बिनीमा मुरारी बापुको कथावाचन विवाद

हिमाल प्रेस २४ माघ २०७९ १३:३१
12
SHARES
साम्य भयो लुम्बिनीमा मुरारी बापुको कथावाचन विवाद

लुम्बिनी- लुम्बिनीमा भारतीय सन्त मुरारी बापुद्वारा गरिने कथावाचनको विषयलाई लिएर कुनै पनि पक्षले विरोध नगर्ने सहमति भएको छ। लुम्बिनी विकास कोषमा मंगलबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारीको रोहबरमा बसेको बैठकले चार बुँदे सहमति गरेको हो।

बैठकमा लुम्बिनी गुरुयोजनाबमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मुरारी बापुको कथावाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ।

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, संघर्ष समितिका संयोजक पार्वती घर्ती, नेपाल आदिवासी जनजाती महासंघ रूपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल र परामकथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले सहमतिमा हस्ताक्षर गरेका छन्।

यस्तै माघ २३ गते पर्सा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनाको दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारको व्यवस्था मिलाउने, घटनाको आवश्यक छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्ने सहमति भएको छ।

हस्ताक्षर गरिएको सहमतिमा विश्व शान्ति क्षेत्र लुम्बिनीका सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ। त्यसै गरी लुम्बिनीमा सञ्चालनमा भएको राम कथाका विषयलाई लिएर विभिन्न बौद्धमार्गीहरूले संवादका क्रममा राखेको सुझावलाई मध्यनजर गर्दै आयोजकहरूलाई ध्यानाकर्षण गराई कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरूमा लुम्बिनी विकास कोषले बुद्ध, धर्म, संघ, दर्शन र परम्परा विपरीत नहुने गरी कार्यविधि बनाउने, उक्त कार्यविधि बनाउँदा बुद्ध धर्मसँग सम्बन्धित संघ संस्था र सरोकारवालासँग परामर्श गर्ने सहमति भएको छ।

बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, रूपन्देहीका प्रहरी प्रमुख, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, रूपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीको उपस्थिति थियो। लुम्बिनीमा आजदेखि मुरारी बापुको कथा प्रवचन सुरु भएको छ।

प्रकाशित: २४ माघ २०७९ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast