फाइल तस्बिर/रासस
काठमाडौँ- वर्षा लागेसँगै राजमार्ग अवरुद्ध हुने क्रम जारी छ। कुनै सडक पूर्णरूपमा त कुनै आंशिकरूपमा अवरुद्ध हुँदा सवारी आवतजावतमा कठिनाइ भइरहेको छ। आज पनि विभिन्न सडक अवरुद्ध भएको सूचना जारी भएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको खुरकोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधन चलाउन दिइने व्यवस्था मिलाइएको छ।
मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर आउने कान्ति लोकपथमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी साधन चलाउन निषेध गरिएको छ। अर्को सूचना नभएसम्मका लागि यो नियम लागु हुने जनाइएको छ।
सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिकाको चारकिलो, कोदारी र लिपिङमा खसेको पहिरोले तातोपानी जाने बाटो पूर्ण रूपमा बन्द भएको हो।
रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खुलाउन लामो समय लाग्ने विवरणमा उल्लेख छ।
इलाम नगरपालिका वडा नम्बर ९ राजदुवालीस्थित झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि यस सडक खण्डमा वैकल्पिक बाटोको व्यवस्था भने छ।
सोही प्रदेशको भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिममा बाढीका कारण ‘मध्यपहाडी लोकमार्ग’ प्रभावित भएको छ। वैकल्पिक बाटो समेत रहेको उक्त स्थानमा हाल एकतर्फी रूपमा मात्र सवारी साधन चलिरहेका छन्।
गण्डकी प्रदेशअन्तर्गत बागलुङ र लमजुङका सडकहरू पहिरोका कारण आंशिक रूपमा सञ्चालनमा छन्। बागलुङको जैमिनी नगरपालिकास्थित बेलबगरमा खसेको पहिरोले कालीगण्डकी करिडोर एकतर्फी मात्र सुचारु छ। त्यहाँ दुईतर्फी बाटो खुलाउन अझै समय लाग्ने देखिएको छ। लमजुङको मध्यनेपाल नगरपालिकास्थित बिमिरेभञ्ज्याङमा पनि ‘मध्यपहाडी लोकमार्ग’ पहिरोका कारण एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेशमा बाढीले सडक सञ्जाल विच्छेद गराएको छ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ६ स्थिति रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोर अन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।


