काठमाडौँ- अतिरिक्त खर्च कटौती, मौज्दात दुग्धजन्य पदार्थको बिक्री र आक्रामक बजारीकरणमार्फत दुग्ध विकास संस्थान (डिडिसी) ले दैनिक नाफा बढाउन थालेको छ।डिडिसीका महाप्रबन्धक डा.शरणकुमार पाण्डेका अनुसार संस्थानले अहिले ४४ जिल्लाका संकलन केन्द्रबाट दैनिक करिब ६१ हजार लिटर दूध संकलन गरिरहेको छ भने दैनिक ८० हजार लिटर दूध बिक्री गरिरहेको छ। बिक्री हुनेमध्ये करिब १९ हजार लिटर दूध विगतमा मौज्दात रहेको दूधबाट व्यवस्थापन भइरहेको छ।
गत वैशाख १८ गते नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हाल्दा डिडिसीसँग ६०० टन पाउडर दूध र ४५० टन बटर मौज्दात थियो। अहिले पाउडर दूधको मौज्दात १४० टन र बटरको १३५ टनमा झरेको पाण्डेले बताए। मौज्दात घटाउँदै बिक्री बढाउँदा संस्थानको आम्दानीमा सुधार आएको उनको भनाइ छ।
डिडिसीले किसानबाट प्रतिलिटर रु ६६ मा दूध खरिद गर्छ। ढुवानी र सहकारी व्यवस्थापनलगायत खर्च जोड्दा प्रारम्भिक लागत करिब रु ७० पुग्छ। दूधमा रहेको अतिरिक्त फ्याटलाई छुट्टै प्रशोधन गरी बटर तथा घिउ उत्पादनमा प्रयोग गरिने भएकाले वास्तविक लागत भने प्रतिलिटर करिब रु ६४ पर्ने संस्थानको हिसाब छ।
प्रशोधन, प्याकेजिङ, चिस्यान, ढुवानी, कर्मचारी र मेसिन सञ्चालनलगायत खर्च जोड्दा तीन प्रतिशत फ्याट भएको दूधको उत्पादन लागत प्रतिलिटर अधिकतम रु ८२ पुग्छ। डिडिसीले उक्त दूध डिलरलाई रु ९२ मा बिक्री गर्छ। यसबाट प्रतिलिटर रु १० नाफा हुने गरेको छ। दैनिक करिब ७३ हजार लिटर तीन प्रतिशत फ्याट भएको दूध बिक्री गर्दा यसबाट मात्रै करिब रु सात लाख ३० हजार नाफा हुने डिडिसीको भनाइ छ।
यस्तै पाँच प्रतिशत फ्याट भएको दूधको उत्पादन लागत करिब रु ९७ पर्छ। डिडिसीले उक्त दूध डिलरलाई रु १२० मा बिक्री गर्छ भने उपभोक्ताले रु १३० मा खरिद गर्छन्। दैनिक करिब सात हजार लिटर बिक्री हुने यो दूधबाट करिब रु एक लाख ६१ हजार नाफा हुने गरेको छ।
यसरी डिडिसीले दैनिक ८० हजार लिटर दूध बिक्रीबाट करिब रु आठ लाख ९१ हजार प्रारम्भिक नाफा आर्जन गरिरहेको छ। यसमा बटर, घिउ, दही, आइसक्रिम, मोही र पाउडरलगायत अन्य दुग्धजन्य पदार्थको बिक्रीबाट हुने आम्दानी समावेश छैन।
डिडिसीको कुल बिक्रीमा दूधको हिस्सा करिब ८५ प्रतिशत र अन्य दुग्धजन्य पदार्थको हिस्सा १५ प्रतिशत छ। पछिल्लो समय मौज्दातमा रहेका बटर, पाउडर र घिउलगायत सामग्रीको बिक्री बढाउँदा संस्थानको आम्दानीमा थप सुधार आएको छ।
किसानको बक्यौता घट्यो
आम्दानी बढेसँगै डिडिसीले किसानको बक्यौता भुक्तानी र पुरानो ऋण घटाउन थालेको छ। नयाँ व्यवस्थापन आउँदा किसानको आठ महिनाको करिब रु ७२ करोड भुक्तानी बाँकी रहेकामा अहिले त्यो दुईदेखि तीन महिनाको करिब रु ३५ करोडमा झरेको छ।
यस अवधिमा संस्थानले किसानलाई रु ६० करोड भुक्तानी गरिसकेको छ। उक्त रकममा सरकारबाट प्राप्त अनुदान समावेश नभएको डिडिसीको भनाइ छ। अब किसानको भुक्तानी एक महिनाभित्र सीमित गर्ने लक्ष्य राखिएको छ।
खर्च कटौती, कर्मचारी सुविधामा कमी, व्यवस्थापन सुधार, बिक्री वृद्धि र बक्यौता असुलीमा कडाइले आर्थिक अवस्था सुधारिएको संस्थानको भनाइ छ। यही अवधिमा डिडिसीले करिब रु तीन करोड पुरानो ऋणसमेत तिरेको छ।
निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौँ उपत्यकामा आठ वटा ‘डेडिकेटेड सेल्स काउन्टर’ सञ्चालनमा ल्याइएको छ। डिडिसीका अनुसार असार मसान्तसम्म दैनिक ६० देखि ६२ हजार लिटर दूध बिक्री हुँदै आएकोमा साउनको पहिलो सातादेखि औसत बिक्री ८० हजार लिटर पुगेको छ। दूध बिक्रीबाट हुने दैनिक आम्दानी करिब रु ६० लाखबाट बढेर रु ९० लाख पुगेको छ।
संस्थानका अनुसार बिक्रीबाट थप भएको रकम किसानको भुक्तानीमा खर्च भइरहेको छ। रासस


