भारतीय विदेशमन्त्री जयशंकर भदौ दोस्रो साता नेपाल आउँदै

हिमाल प्रेस २६ साउन २०८३ ६:५८ | Tuesday, August 11, 2026
16
SHARES
भारतीय विदेशमन्त्री जयशंकर भदौ दोस्रो साता नेपाल आउँदै

काठमाडौँ- भारतका विदेशमन्त्री डा. एस. (सुब्रमण्यम) जयशंकर भदौ दोस्रो साता नेपाल आउने भएका छन्। उनी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सेप्टेम्बर १२-१३ (भदौ २७-२८) मा नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा दिन काठमाडौं आउन लागेका हुन्।

यसअघि पनि जयशंकरको नेपाल भ्रमणको तयारी भएको थियो। तर भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण हुने भनिए पनि उच्चस्तरको भेटवार्ताको विषय टुंगो नलागेपछि (प्रोटोकलसम्बन्धी कारणले) भ्रमण रोकिएको थियो। विदेश सचिवको भ्रमण रोकिएसँगै जयशंकरको भ्रमणसमेत अघि बढ्न सकेको थिएन।

पछिल्लो समय भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार (साउन २५) मा प्रधानमन्त्री बालेनसँग सिंहदरबारमा छुट्टै भेट गरेपछि रोकिएको प्रक्रिया पुनः अघि बढेको हो। यो भेट प्रधानमन्त्री शाहको कार्यभार सम्हालेपछि कुनै विदेशी राजदूतसँग समूहबाहेकको पहिलो भेट थियो। त्यसपछि जयशंकरको नेपाल भ्रमणको तयारी अगाडि बढाइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

‘यसबीचमा त्यस्तो कुनै अप्रत्याशित घटना नभए भारतीय विदेशमन्त्री डा. एस. जयशंकर यही अगस्टको अन्तिम साता (भदौ दोस्रो साता) नेपाल भ्रमणमा आउनेछन,’ परराष्ट्र अधिकारीले भने, ‘१८औँ ब्रिक्स शिखर सम्मेलनको निम्तो प्रधानमन्त्री बालेनलाई दिन उनी नेपाल आउन लागेका हुन ।’ १८औँ ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा आयोजना हुँदैछ।

भारतले यसअघि पनि ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीलाई निमन्त्रणा दिँदै आएको छ। भारतको निमन्त्रणामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ असोजमा भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका थिए। संयोगले त्यतिबेला प्रचण्ड, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच समेत एकसाथ भेटवार्ता भएको र उक्त तस्बिर सार्वजनिक भएपछि दाहाल विवादित बनेका थिए।

यसपटक पनि भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई ब्रिक्स शिखर सम्मेलनमा सहभागीका लागि निमन्त्रणा दिन लागेको हो। नेपाल सार्कको अध्यक्ष राष्ट्र हो भने विमस्टेक सदस्य पनि हो। त्यही निमन्त्रणा हस्तान्तरण गर्न भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आउन लागेका हुन्। यसअघि नयाँ सरकार गठनपछि परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण गरेका थिए। भ्रमणमा भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता भएको थियो भने नेपालले जयशंकरलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए। त्यसअघि मौरीससमा पनि भेट भएको थियो खनाल जयशंकर।

ब्रिक्समा हाल ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स सदस्य छन्। यो भ्रमणले नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र उच्चस्तरीय संवादलाई निरन्तरता दिने अपेक्षा पनि गरिएको छ।

प्रकाशित: २६ साउन २०८३ ६:५८ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast