अविचलित जीवित सीमास्तम्भ गोपाल कोइराला

विवेक विवश रेग्मी २३ साउन २०८३ १७:०० | Saturday, August 8, 2026
12
SHARES
अविचलित जीवित सीमास्तम्भ गोपाल कोइराला

सेतै कपाल, सेतै दाह्री। घरको एउटा कुनामा पुराना नक्सा, फाइल र सीमासम्बन्धी दस्तावेजका थुप्रा अझै व्यवस्थित छन्। कहिले ती कागज पल्टाउँदै बित्छ समय, कहिले मोबाइलमा नेपालको सीमासम्बन्धी समाचार हेर्छन्। थकित आँखामा अझै पनि सीमाप्रतिको चिन्ता उस्तै देखिन्छ। बीचबीचमा घरको आँगनमा खेलिरहेको कुकुरसँग जिस्किँदै मुस्कुराउँछन्। उमेरले ८७ वर्ष टेकिसके पनि गोपाल कोइराला ‘त्यागी’को मन भने अझै सीमामै डुलिरहेको छ।

सुनसरीको इनरुवाका उनी कुनै समय नेपाल-भारत सीमा संरक्षणका अथक अभियन्ता थिए। सीमास्तम्भ खोज्ने, मर्मत गराउने, अतिक्रमणबारे आवाज उठाउने र राज्यका निकायलाई झक्झक्याउने अभियानमा उनको जीवन बित्यो। अहिले शरीरले साथ कम दिए पनि पुराना फाइल, नक्सा र सम्झनाहरूले उनलाई विगतसँग जोडिराखेका छन्। सीमाको रक्षा आफ्नो जीवनकै धर्म ठानेका त्यागीका लागि उमेर बढेको छ, तर सीमाप्रतिको चिन्ता अझै बूढो भएको छैन। कुनै समय सीमाबारे अथक अभियन्ताका रूपमा पिलरजस्तै बनेका उनी हातगोडा थाकेजस्तो महसुस गर्छन्।

बनारसको साहित्यिक वृत्तबाट जन्मिएको एउटा पहिचान- ‘त्यागी’

गोपाल कोइरालाको नामसँग जोडिएको ‘त्यागी’ पैतृक थर होइन। न त परिवारबाट आएको उपाधि नै। यो त उनको युवावस्थाको साहित्यिक यात्राले दिएको परिचय हो। जुन आज सात दशकपछि पनि उनको नामसँग अभिन्न रूपमा जोडिएको छ।

उनी करिब सात दशकअघिको बनारस सम्झिन्छन्। त्यो समय नेपालमा राजनीतिक हलचल थियो। धेरै नेपाली विद्यार्थी संस्कृत भाषाको अध्ययन, परीक्षा र बौद्धिक बहसका लागि बनारस पुग्थे। उनी पनि त्यही उद्देश्यले बनारस गएका थिए। बनारस शिक्षा हासिल गर्ने ठाउँ मात्र थिएन। नेपाली साहित्यकार, राजनीतिज्ञ र बुद्धिजीवीहरूको भेटघाट हुने साझा चौतारी पनि थियो।

त्यतिबेला प्रसिद्ध प्रकाशक माधवप्रकाश शर्माको पुस्तक पसल नेपाली साहित्यिक गतिविधिको केन्द्रजस्तै बनेको थियो। त्यही पसलमा लक्ष्मीप्रसाद देवकोटा बेला-बेला पुग्ने, साहित्य, राजनीति र समाजका विषयमा लामो छलफल हुने गथ्र्यो। भाषाविद् बालकृष्ण पोखरेल, कर्णसिंह, महानन्द सापकोटालगायतका साहित्यिक व्यक्तित्वहरू पनि त्यही जमघटमा नियमित सहभागी हुन्थे।

उनी त्यस क्षण स्मरण गर्दै भन्छन्, ‘त्यो २०१४ सालतिरको कुरा हो। त्यहाँ सबैले आफ्नै किसिमका साहित्यिक नाम राख्ने चलन थियो। बालकृष्ण पोखरेलले आफ्नै रमाइलो शैलीमा नाम प्रयोग गर्नुहुन्थ्यो। हामी पनि त्यही वातावरणमा हुर्किरहेका थियौँ।’

त्यही क्रममा उनीहरूबीच नयाँ पुस्ताका लेखकलाई छुट्टै साहित्यिक नाम दिने कुरा उठ्यो। नारायणप्रसाद घिमिरेले घर छोडेर पटनामा अध्ययन गरेपछि आफूलाई ‘नारायणप्रसाद सिंह’ भनेर चिनाउन थालेका थिए।

‘मेरो नाम के राख्ने भन्ने कुरा निस्कियो,’ उनी सम्झन्छन्, ‘कसैले भन्यो यो किशोर उमेरको केटालाई त्यागको भावना सिकाउनुपर्छ। त्यसपछि ‘त्यागी’ राख्ने निर्णय भयो। त्यही दिनदेखि म गोपाल कोइराला मात्रै भइन, ‘गोपाल कोइराला त्यागी’ भएँ।’

त्यसपछि उनले आफ्ना कविता र लेखहरूमा ‘जीके त्यागी’ भनेर हस्ताक्षर गर्न थाले। उनका रचना दार्जिलिङबाट प्रकाशित ‘दियालो’ र असमबाट निस्कने ‘विन्दु’ जस्ता साहित्यिक पत्रिकामा नियमित प्रकाशित हुन थाले। बिस्तारै ‘त्यागी’ उनको साहित्यिक परिचय मात्र नभई सार्वजनिक पहिचान नै बन्यो।

त्यही हुलमा सुनसरीकै मधेशाका उपेन्द्रले आफ्नो नामसँग ‘पागल’ जोडे। हरिकृष्णले ‘विरही’ लेख्न थाले। साहित्यिक वृत्तमा यस्ता उपनामले छुट्टै पहिचान बनाउने क्रम चलिरहेको थियो।

उनी अहिले पनि त्यो निर्णय सम्झँदा सन्तुष्ट देखिन्छन्। ‘गोपालप्रसाद कोइराला भन्ने नाम भएका धेरै मानिस छन्,’ उनी भन्छन्, ‘तर ‘त्यागी’ जोडिएपछि मेरो छुट्टै पहिचान बन्यो। आज विगत सम्झिदाँ खुसी लाग्छ।’

उनको जीवनमा ‘त्यागी’सात दशकदेखि बोकेको वैचारिक र साहित्यिक पहिचान हो। बनारसको एउटा सानो साहित्यिक जमघटमा जन्मिएको त्यो नाम आज पनि उनको व्यक्तित्वको अविभाज्य अंश बनेर जीवित छ।

सीमाका अविरल पहरेदार

आफ्नो जीवनको सात दशकभन्दा बढी समय राष्ट्रको सीमाको खोज, अध्ययन र संरक्षणमा समर्पित गरेको इतिहासका साक्षी उनी आफूलाई कुनै राजनीतिक अभियन्ता वा सामाजिक अगुवा भन्दा पनि ‘सीमा अन्वेषक’ भन्न रुचाउँछन्।

१९९७ सालमा जन्मिएका त्यागीले आफ्नो जीवनको अधिकांश समय नेपाल-भारत सीमा, कोशी सम्झौता, नदी व्यवस्थापन र राष्ट्रिय भूमिको संरक्षणका विषयमा अध्ययन, अनुसन्धान र नागरिक अभियानमा बिताएका छन्। पाँचथरको पहाडदेखि सिरहाको तराईसम्म फैलिएको सीमावर्ती भूभाग उनी अनेकौं पटक पैदल, साइकल र अन्य साधनबाट पुगेर सीमा सम्बन्धी अध्ययन गरेका छन्। सीमा स्तम्भको अवस्था, नदीले बगाएका पिलर, अतिक्रमणका घटना र सीमावर्ती नागरिकका समस्या टिपोट गर्दै उनले वर्षौंसम्म प्रमाण संकलन गरे।

सरकारी सेवामा रहँदा उनले भूमिसुधार, भू-आर्जन तथा कोशी योजनासँग सम्बन्धित जिम्मेवारी सम्हाले। त्यही अनुभवले उनलाई सीमाको वास्तविक अवस्थासँग अझ नजिक बनायो। उनी कार्यालयमा बसेर समय कटाउने मेलो गरेनन्, फिल्डमै पुगेर तथ्य संकलन गर्ने अधिकारी बने।

उनका अनुसार आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक चतरास्थित करिब ३५० बिघा नेपाली भूमि फिर्ता गराउने पहल हो। त्यसका लागि उनले संकलन गरेका नक्सा, प्रमाण र सरकारी अभिलेख सम्बन्धित निकायमा बुझाएका थिए। सीमा अतिक्रमणका विषयमा उनले प्रमुख जिल्ला अधिकारीदेखि मन्त्रालय, राजदरबार र अन्य सरकारी निकायसम्म पटक-पटक पुगेर ध्यानाकर्षण गराए।

तर उनको अनुभव सुखद् मात्रै छैन। उनी भन्छन्, ‘मैले प्रमाणसहित धेरै कुरा राज्यसमक्ष राखेँ। तर, त्यसलाई राज्यले अपेक्षाअनुसार गम्भीरतापूर्वक लिएन।’ उनको बुझाइमा नेपालको सीमा समस्याको जड बाह्य हस्तक्षेपभन्दा पनि राज्यको उदासीनता हो। ‘सीमा पहिला नक्सामा हराउँदैन,’ उनी भन्छन्, ‘राज्यको प्राथमिकताबाट हराउन थालेपछि मात्रै जमिन पनि हराउन थाल्छ।’

सीमावर्ती बस्तीका नागरिकको सुरक्षा, कोशी सम्झौताको पुनरावलोकन, नदी नियन्त्रण र राष्ट्रिय भूमिको संरक्षणका विषयमा उनी अझै विभिन्न तहमा आवाज उठाइरहेका छन्।

‘कोशी सम्झौताका विषयमा नेपाल सरकारले भारतसँग आत्मविश्वासका साथ आफ्ना राष्ट्रिय हितका एजेन्डा प्रस्तुत गर्नुपर्छ,’ उनी भन्छन्, ‘दुई देशबीचको सम्बन्ध मित्रतापूर्ण भए पनि वार्ता समानता, आपसी सम्मान र राष्ट्रिय हितको आधारमा हुनुपर्छ।’

राष्ट्रिय सीमा कुनै एक व्यक्ति वा एउटा निकायको मात्र सरोकार नभई यो सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी रहेको उनी बताउँछन्। खासगरी प्रधानमन्त्री बालेन शाहले संसद्मा उभिएर भारतको भूमि नेपालले मिचेको छ भन्नु अस्वाभाविक रहेको उनको भनाइ छ।

‘प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको छ भन्दा छिटो मानिसहरूले सुने, भारतले जमिन मिचिरहेको छ भन्दा किन कसैले सुनिरहेको छैन ? किन नेपाली भारतीय दूतावास पुग्दैनन्, के हो यो ? यो हाम्रो देश होइन र ? सरकारले गरेन भने हामीले केही गर्न सक्ने दायित्व छैन र ?,’ उनी भन्छन्, ‘सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राज्यले सबैभन्दा पहिले सुरक्षाको प्रत्याभूति दिनुपर्छ। नेपालले त्यो प्रत्याभूत गराउन सकेको छैन। सीमा सुरक्षित हुनु भनेको भूभागको सुरक्षा मात्र होइन, त्यहाँ बस्ने नागरिकको जीवन, सम्पत्ति र अधिकारको सुरक्षा सुनिश्चित हुनु पनि हो।’
उनको अनुभवमा सीमावर्ती क्षेत्रमा सुरक्षा संयन्त्र अझ प्रभावकारी हुन आवश्यक छ। सीमामा बस्ने नागरिकले आफू सुरक्षित भएको अनुभूति गर्न सक्नुपर्छ। त्यसका लागि आवश्यक स्थानमा सुरक्षा निकायको उपस्थिति, नियमित गस्ती र प्रभावकारी निगरानीको व्यवस्था हुनुपर्ने उनको भनाइ छ।

‘नेपालमा त रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले भनेको भनाइ नै सत्य हो भन्ने अवस्था सिर्जना गर्न अनेक प्रपञ्चहरू भए। यो देश र जनताको लागि घातक छ। नेपालमा पनि जमिन मिचिएको छ भनेको भए अर्कै कथा हुन्थ्यो, तर नेपालले पनि मिचिएको छ भन्नु असान्दर्भिक हुन्छ,’ उनी भन्छन्, ‘जनताले दसगजामा गाई बाँधेका छन्। पराल राखेका छन्। त्यसलाई जमिन मिचिएको हो भन्न हुँदैन। सरकारले गरेको र जनताले गरेको गल्ती भिन्न हुन्छ। नेपालले भारतको जमिन मिच्न वा कब्जा गर्न सक्ने अवस्था छ ? सीमा क्षेत्रमा बस्ने नेपालीहरू दिनानुदिन रोइराख्ने अवस्था छ। एकोहोरो मात्रै वर्णन गर्नु हुँदैन।’

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, हिंसा वा नागरिकमाथि हुने अन्यायप्रति राज्यले तत्काल प्रतिक्रिया दिन सक्नुपर्ने उनी सुनाउँछन्। उनी थप्छन्, ‘नेपालमा शासन गर्ने सरकारले भारतलाई न्याउरी मुसो र आफूलाई सर्प देख्छन्। हामी आफैँ कमजोर छौँ भन्ने आत्मबोध गर्छौँ, त्यो कमजोरी भइराखेको छ।’

चाकरी होइन, स्वाभिमानले बाँचेको जीवन

उनका लागि सफलता पद, पैसा वा शक्तिको उचाइले मापन हुँदैन। उनको दृष्टिमा सफलता भनेको आफ्ना सिद्धान्तमा अडिग रहँदै कसैसँग सम्झौता नगरी जीवन बिताउन सक्नु हो।

कोइराला भन्छन्, ‘सफलता प्राकृतिक देन पनि हो, मानिसको स्वभावले पनि निर्धारण गर्छ। म आज यहाँसम्म आइपुग्नुमा एउटा कारण छ- मैले जीवनभर कसैको पछाडि लागिनँ, कसैको चाकरी गरिनँ। नहुने कुरामा ‘हुन्छ’ भनेर कसैलाई आश्वासन पनि दिइनँ।’

त्यागीका अनुसार समाजमा उनको प्रतिष्ठा पदका कारण होइन, व्यवहारका कारण बनेको थियो। विभिन्न समस्या लिएर मानिसहरू उनीकहाँ आउँथे। सम्भव भएसम्म समाधान गरिदिन्थे। तर त्यसबापत कहिल्यै प्रतिफलको अपेक्षा गरेनन्।

‘म के पाउँछु भनेर कहिल्यै काम गरिनँ,’ उनी भन्छन्, ‘समाजका लागि गर्न सकिने काम गरेँ। त्यसैले आज पनि मानिसहरूले सम्झिन्छन्।’

जब मरिचमानले भने- चुनाव नलड्नू

उनको सार्वजनिक जीवनमा राजनीतिक उतारचढाव पनि कम आएन। पत्रकार संघको केन्द्रीय अध्यक्ष पदमा उनले मञ्जुरत्न शाक्यविरुद्ध उम्मेदवारी दिए। त्यो समय मरिचमानसिंह श्रेष्ठ प्रधानमन्त्री थिए। चुनावका क्रममा आफूलाई उम्मेदवारी फिर्ता लिन अनेक दबाब आएको उनी सम्झिन्छन्।

‘पैसाको प्रलोभन पनि आयो, पदको आश्वासन पनि दिइयो। पुतलीसडकको एउटा गेस्टहाउसमा त पेस्तोल देखाएर चुनाव नलड्नसमेत दबाब दिइयो,’ उनी भन्छन्, ‘मैले सल्लाह गर्छु भनेर त्यहाँबाट निस्किएँ, तर आफ्नो निर्णय परिवर्तन गरिनँ।’

त्यसबेला उनले मुलुकमा प्रजातन्त्रिक विचारधारा भएको मान्छे आवश्यकता भएको औंल्याएका थिए। खासगरी उनै मरिचमान भूमिसुधार मन्त्री हुँदा कोइराला भूमि अधिकृत भएर पनि काम गरेका थिए। सोही कारण कोइरालालाई मरिचमानले शाक्यलाई छोडिदिनू भनेर धेरैपटक आग्रह गरे। ‘मञ्जुरत्न शाक्य नै चाहिएको हो भने मनोनयन फिर्ता लिन्छु। म अराष्ट्रिय तत्त्व हुँ कि ? भनेर प्रश्न गरेँ। त्यही व्यक्ति मात्रै चाहिन्छ भन्नुहुन्छ भने म छाडिदिन्छु भनेँ,’ कोइराला विगत स्मरण गर्छन्।

पञ्चायतकालमा पनि उनले आफ्ना सिद्धान्तसँग सम्झौता गरेनन्। इनरुवाको उपप्रधानपञ्च पदमा खेमराज पोखरेलसँग प्रतिस्पर्धा गर्दा उनले चुनावी प्रतिनिधिसमेत परिचालन गरेनन्।

‘खेमराज दाइले मान्छे (प्रतिनिधि) पठाएछन्। मलाई पनि पठाउन भनियो। मैले भनेँ- आवश्यक छैन,’ उनी सम्झिन्छन्, ‘४५ मतदातामध्ये मैले ४४ मत पाएँ। उहाँले एक मत मात्रै पाउनुभयो।’ पञ्चायतकालमा एउटा वडामा पाँच जना मतदाता हुन्थे। कर्णसिंह मुरुङ्जय प्रधानपञ्च थिए।

इनरुवालाई नगरपालिका बनाउने प्रस्ताव आयो। दिलबहादुर श्रेष्ठ, होमबहादुर श्रेष्ठ, कपिल पोखरेलसहित कोइरालाको नेतृत्वमा डेलिगेशन गयो। इनरुवालाई नगरपालिका घोषणा गराउन गरिएको पहललाई पनि उनी जीवनको महत्त्वपूर्ण उपलब्धिमध्ये एक मान्छन्। आफू नेतृत्वको प्रतिनिधिमण्डल लिएर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई भेट्न गएको प्रसंग सुनाउँदै उनी भन्छन्, ‘हामीले तीन पृष्ठको मागपत्र तयार गरेका थियौँ। प्रधानमन्त्रीले सोध्नुभयो- ‘तिमीले प्रधानपञ्चलाई कहिल्यै भेटेका छौ ?’ मैले भनेँ- ‘म त प्रधानपञ्चको काखमा हुर्किएको मान्छे हुँ। पछि सूर्यबहादुरसँग मेरो घनिष्ठ सम्बन्ध बन्यो।’

जीवनभर विभिन्न पदमा रहे पनि आफूले व्यक्तिगत स्वार्थका लागि कसैको ढोका नढकढक्याएको उनी गर्वका साथ सुनाउँछन्। ‘आजसम्म मैले कसैको चाकरी गरिनँ। मलाई फलानोको मान्छे भनेर आरोप पनि लाग्यो। तर समयले सबै कुरा प्रमाणित गरिदियो,’ उनी भन्छन्, ‘मैले धेरै मानिसलाई घरबार जुटाउन सहयोग गरेँ। लाखौँ रुपैयाँको ऋणमुक्त गराइदिएँ। अहिले उनीहरू सबै आफ्नो जीवनमा व्यस्त छन्। कसैले सम्झिए वा नसम्झिए पनि मलाई त्यसको कुनै गुनासो छैन।’

उनी २०६१ सालमा ज्ञानेन्द्र शाहको शासनकालमा इनरुवा नगरपालिकाको मेयरसमेत भएका थिए। उनी आफ्नो जीवनको अर्को उपलब्धि सामाजिक सेवालाई मान्छन्।

८७ वर्षको उमेरमा पुगेका त्यागी आफ्नो जीवनलाई फर्केर हेर्दा सन्तुष्ट देखिन्छन्। ‘म जत्तिको सुखी मानिस सायद कमै होलान्,’ उनी मुस्कुराउँदै भन्छन्, ‘सबै छोराछोरी नेपालमै छन्। उनीहरूले आफ्नो कर्म गरेका छन्। मेरो पुस्तक पनि छोराले नै प्रकाशित गरिदियो। मलाई अब केही चाहिएको छैन।’

उनका लागि यही नै सफल जीवनको परिभाषा हो- सिद्धान्तमा अडिग रहनु, स्वाभिमान नबेच्नु र समाजका लागि केही छाडेर जानु।

जीवन प्रकृतिको देन

जीवनलाई परिभाषित गर्ने दृष्टिकोण भिन्न-भिन्न हुन्छ। उनको विचारमा जीवन प्रकृतिको देन हो। ‘हामीले ईश्वरलाई प्रत्यक्ष देखेका छैनौँ, तर ईश्वरको शक्ति र अस्तित्वको अनुभूति गर्न सक्छौँ। सृष्टिको अस्तित्व र सञ्चालन नै ईश्वरको उपस्थितिको संकेत हो,’ कोइराला भन्छन्, ‘मानिसभित्र रहेको सद्भाव, करुणा र नैतिक चेतनामा पनि ईश्वरीय भावना प्रतिबिम्बित हुन्छ।’

उनकाअनुसार मानिसलाई अनुशासित बनाउन डर, दण्ड वा कुटपिटले मात्र हुँदैन। वास्तविक ज्ञान, सही मार्गदर्शन र नैतिक शिक्षाको आवश्यकता हुन्छ। मानव सभ्यताको प्रारम्भिक चरण, जस्तै ढुंगे युगमा, मानिसलाई अनुशासनमा राख्न धार्मिक विश्वास र ईश्वरीय अवधारणाले महत्त्वपूर्ण भूमिका खेलेको हुन सक्छ। प्राकृतिक तथा जैविक प्रकोपको डरले पनि मानिसलाई आश्रय खोज्न र सामाजिक नियम पालना गर्न प्रेरित गर्‍यो।

‘आजको समयमा पनि विद्यार्थीलाई कुटेर शिक्षा दिने अवस्था छैन। उचित मार्गदर्शन, प्रेरणा र नैतिक शिक्षाले नै मानिसलाई सही बाटोमा डोर्‍याउँछ,’ उनी भन्छन्, ‘धर्मको मूल उद्देश्य पनि यही हो। तर अहिले धेरै अवस्थामा मानिसले राजनीति गरिरहेको भन्दा पनि धर्मलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेको देखिन्छ।’

उनको विचारमा जीवन प्रकृतिको अमूल्य उपहार हो र यसलाई सही तरिकाले परिचालन गर्नुपर्छ। ‘वर्तमान जीवनमा हाम्रो पहिलो जीवनदाता र संरक्षक भनेका आमाबुबा हुन्। हामी आफैँ केही गर्न नसक्ने अवस्थामा हुँदा उहाँहरूले हाम्रो पालनपोषण, सुरक्षा र शिक्षाको जिम्मेवारी लिनुहुन्छ,’ कोइराला बालापनतिर हाम्फाल्छन्, ‘उहाँहरूले नै हामीलाई बोल्न, हिँड्न र पढ्न सिकाउनुहुन्छ। पशुपक्षीलाई कसैले सिकाउनुपर्दैन, तर मानिसलाई सानोदेखि नै ताते-ताते भन्दै प्रत्येक कुरा सिकाउनुपर्छ। त्यसैले आमाबुबा नै प्रत्यक्ष रूपमा हाम्रो पहिलो ईश्वर हुन्।’

उनी बाल्यकाल सम्झिदाँ गाउँघरमै बाघ, भालु, चितुवा र हरिणजस्ता वन्यजन्तु प्रशस्त थिए। बाघ गाउँछेउको बाटो हुँदै गर्जिँदै दौडिन्थ्यो। सुरक्षाका लागि ठूलो रुखमाथि मचान बनाइएको थियो। ‘म करिब बाह्र वर्षको हुँदा बाघको गर्जन आफ्नै कानले सुनेको सम्झना अझै ताजा छ। त्यसबेला नदीमा गोही पनि धेरै थिए। दिउँसै गाईवस्तुलाई समेत गोहीले समात्ने घटना हुने गथ्र्यो,’ उनी भन्छन्।

पछि उनले धेरै पुस्तक पढ्ने अवसर पाएँ। संस्कृत अध्ययन पनि गरे।

सरकारी सेवाबाट अवकाश हुँदा उनले पेन्सनको सट्टा उपदान लिए। किनकि घर बनाउनुपर्ने आवश्यकता थियो। कर्मचारी सञ्चय कोषबाट कर्जा पनि लिए। त्यस समयमा करिब तीन लाख रुपैयाँमै घर निर्माण सम्पन्न भयो। सिमेन्टको एक बोरा करिब ८ रुपैयाँमा पाइन्थ्यो, र अन्य निर्माण सामग्री तथा ज्यालादारी खर्च पनि तीनदेखि पाँच रुपैयाँको हाराहारीमा थियो। आजको तुलनामा त्यो समयको लागत अत्यन्तै कम थियो।

विवाहपछि मुहारमा आएको प्रकाश

उनको विवाह २०२३ सालमा तेह्रथुम जिल्लाको आठराईकी किरण कोइराला (सिटौला)सँग भयो। किरणको जन्म २००७ सालको प्रजातान्त्रिक क्रान्तिको समयमा भएकाले घरपरिवारमा उनलाई ‘हमला’ भनेर बोलाइन्थ्यो। विवाहको बेला जग्गेमा नयाँ नाम राख्ने चलन थियो।

आफूलाई मन परेको नाम खुसुक्क बेहुलीलाई सुनाउनुपथ्र्यो। मन परेपछि भने उक्त नाम सबैलाई पढेर सुनाउनुपथ्र्यो। ‘विवाहपछि मलाई लाग्यो- जीवनमा एउटा नयाँ प्रकाश आएको छ। मेरी श्रीमती पनि साँच्चै मेरो जीवनकी प्रकाश बनिन्,’ मुस्कुराउँदै उनी भन्छन्, ‘त्यतिखेर मेरो कविता, साहित्य पत्रपत्रिकामा छापिइसकेका थिए। जीवनमा बिहाबारी गरियो, जीवनमा एउटा प्रकाश आयो। प्रकाशमय नै भइन् उनी पनि। जीवनमा प्रकाश आउन लागेपछि मैले किरण नाम राखेको हुँ।’

त्यो समय आजजस्तो भाडामा सजिलै गाडी पाइँदैनथ्यो। बेहुला-बेहुलीलाई लैजान पनि निकै कठिन हुन्थ्यो। त्यसबेला उनी पाँचथरमा भूमि अधिकारीको रूपमा कार्यरत थिए। ‘मेरा एक साथीको सरुवा तेह्रथुम भएको थियो र उहाँको विवाह पनि आठराईमै तय भएको थियो। गफगाफकै क्रममा उहाँले मलाई पनि केटी हेर्न जाऔँ भन्नुभयो। एक रात उहाँसँगै गएँ र त्यही अवसरमा पहिलो पटक मेरी भावी जीवनसंगिनीलाई देखेँ,’ उनी विगत स्मरण गर्छन्।

खासगरी विवाहअघि उनका ससूरा आफैँ पाँचथर पुगेर यहीँ विवाह गरिदिऔँ भनेको उनी सम्झन्छन्। तर उनले स्वीकार गरेनन्। ‘मैले भनेँ, जीवनमा विवाह एकपटक मात्र गरिन्छ। अरूको विवाहमा बाजागाजा र रमाइलो देखेको छु, मेरो विवाह पनि परम्पराअनुसार बाजागाजासहित नै हुनुपर्छ।’

आर्थिक अवस्था धेरै सबल थिएन। के खाने, के लगाउने भन्ने चिन्ताकै बीच जीवन अघि बढिरहेको थियो। त्यसबेला सुनको मूल्य प्रतितोला डेढ सयदेखि दुई सय रुपैयाँसम्म थियो। ‘मैले श्रमतीजीलाई सुन किनिदिने कुरा गर्दा उनले भनिन्, ‘पहिला घर बनाऔँ।’ उनलाई गहना, लुगा वा अन्य विलासिताका वस्तुप्रति कुनै लोभ थिएन। उनले सधैँ परिवारको आवश्यकता र भविष्यलाई प्राथमिकता दिइन्। त्यही त्याग र सहयोगले हाम्रो परिवार अघि बढेर ६ दशकदेखि सँगै छौँ।’

सरकारी सेवामा रहँदा निरन्तर सरुवाले जीवन निकै कठिन बनाएको उनी बताउँछन्। अन्ततः उनले २०३६ सालमा सरकारी जागिरबाट राजीनामा दिए। ‘सरकारी सेवामा काम गर्दा धेरै प्रकारका दबाब र चाकरीको संस्कृतिसँग जुध्नुपथ्र्यो। मलाई त्यो वातावरण कहिल्यै मन परेन। यो कुनै धाक लगाएको कुरा होइन, तर १८ वर्षको सरकारी सेवामा मैले ५५ वटा जिल्लामा सरुवा भएर काम गर्ने अवसर पाएँ,’ कोइरालाले भावमिश्रित हुँदै थपे, ‘कतिपय ठाउँमा त दुई-तीन दिन मात्र बस्न पाइयो भने धेरै ठाउँमा दुई महिनाभन्दा बढी टिक्नै सकिनँ। एकपटक सोलुखुम्बुमा कार्यरत रहँदा अचानक मेरो सरुवा बर्दिया गरियो। यस्तो निर्णय कति न्यायपूर्ण थियो ? भन्ने प्रश्न आज पनि मेरो मनमा उठिरहन्छ।’

बारम्बारको सरुवाले प्रशासनिक अस्थिरता मात्र होइन, कर्मचारी र परिवार दुवैको जीवनमा ठूलो मानसिक, सामाजिक र आर्थिक असर पार्ने रहेछ भन्ने उनले अनुभव गरे।

नेपालको राजनीतिमा व्यक्तिगत अहम् र सत्ताकेन्द्रित सोच

वर्तमान नेपाली राजनीतिबारे कोइराला विगत र वर्तमानको तुलना गर्छन्। उनका अनुसार कुनै पनि राजनीतिक व्यवस्था पूर्ण रूपमा राम्रो वा नराम्रो हुँदैन, त्यसका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन्।

उनी पञ्चायतकालका केही पक्ष जनहितमा उपयोगी रहेको बताउँछन्। ‘पञ्चायतका मानिसले मलाई पञ्चे भन्थे, कांग्रेस र कम्युनिस्टले मण्डले भन्थे,’ उनी मुस्कुराउँदै सम्झन्छन्। तर, कुनै दलप्रति अन्धसमर्थन नभएका कारण दुःख-सुखमा सबै दलका मानिसहरू आफ्नै घरमा आउने गरेको उनको अनुभव छ।

उनका अनुसार त्यतिबेला राजनीतिक नेताबीच प्रतिस्पर्धा र वैमनस्य भए पनि त्यो जनताप्रति लक्षित थिएन। ‘जनता जहाँबाट आए पनि स्वागत हुन्थ्यो। प्रतिस्पर्धा नेताहरूबीच थियो, जनतासँग थिएन,’ उनी भन्छन्। अहिले भने कार्यकर्ताले समेत आफ्नो नेतालाई मात्र सही मान्ने प्रवृत्ति बढेको उनको बुझाइ छ। यसले स्वस्थ राजनीतिक संस्कृतिलाई कमजोर बनाएको उनी ठान्छन्।

पञ्चायतकालमै उनी व्यवस्थाभित्र सुधारको पक्षमा बोल्थे। वर्गीय संगठन हटाउनुपर्ने, पञ्चायत व्यवस्थाका कमजोरी सच्याउनुपर्ने र दलगत भावनाभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने विचार राखेकै कारण आफ्नै पक्षका केही नेताले समेत उनलाई विरोधीको रूपमा हेरेको उनी सुनाउँछन्। ‘पञ्चका केही नेताहरू घमण्डी भए। मैले उनीहरूलाई चुपलाग भनेँ। मलाई नै उनीहरूले विरोधी ठानेँ।’

राजा महेन्द्रको शासनकालदेखि राजदरबारका विभिन्न कार्यक्रममा आफूलाई निमन्त्रणा आउने गरेको स्मरण गर्दै उनी आफूलाई कुनै एक राजनीतिक धारमा सीमित नगरेको दाबी गर्छन्। विभिन्न पक्षबाट भिन्न-भिन्न आरोप खेप्नुपरे पनि आफूले सधैँ आफ्नै विचारअनुसार काम गरेको उनको भनाइ छ।

पहिचानको मुद्दालाई उनले आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण पक्ष मान्छन्। संविधानसभा निर्वाचनमा तराजु चुनाव चिह्न लिएर उम्मेदवारी दिएको स्मरण गर्दै उनी आफूलाई पहाडी वा मधेसी भनेर होइन, नेपाली नागरिकको रूपमा चिनिनुपर्ने पक्षमा रहेको बताउँछन्। ‘पहाड, हिमाल र मधेस भूगोल हुन्, मानिसको पहिचान होइन,’ भन्ने उनको तर्क छ। आफ्ना विचारका कारण आफूले ज्यान मार्ने धम्कीसमेत खेप्नुपरेको उनी सम्झन्छन्।

उनको दृष्टिमा नेपालको राजनीतिमा व्यक्तिगत अहम् र सत्ताकेन्द्रित सोच बढ्दै गएको छ। ‘सत्ता कसरी जोगाउने, कार्यकर्ता कसरी जोगाउने र प्रतिस्पर्धीलाई कसरी हटाउने भन्ने चिन्ताले राजनीतिलाई गाँजेको छ,’ उनी भन्छन्, ‘कुनै पनि दलमा नेतृत्वमा पुगेपछि म नभए पार्टी नै छैन भन्ने मानसिकता विकसित हुनु लोकतन्त्रका लागि घातक हो।’

खासगरी राजनीति जनताकेन्द्रित नभई सत्ताकेन्द्रितमा मात्रै सीमित हुँदा जनताको वास्तविक मुद्दा वर्षौँदेखि ओझेलमा परेको उनको टिप्पणी छ।

‘अहिले त कार्यकर्ता पनि नेताले जे गर्‍यो त्यही भन्ने हुन्छ। कार्यकर्ताले पनि आफ्नो नेतालाई मात्रै राम्रो देख्छ। अहिलेको राजनीति खाली व्यक्तिगत अहम्को कार्यक्रम सञ्चालित भयो,’ कोइरालाको अनुभव छ, ‘सत्ता कसरी जोगाउने, कार्यकर्ता कसरी जोगाउने र प्रतिस्पर्धीलाई कसरी बाहिर धपाउने भन्ने भयो। सबै दलमा ओहदामा पुगिसकेपछि यो सारा काम मबाहेक अरु कसैले गरेको होइन, म भए पार्टी छ नभए केही छैन भन्ने बोध भयो। त्यो गलत भइरहेको छ।’

शिक्षा र अनुभवबीचको सम्बन्धबारे पनि उनको दृष्टिकोण स्पष्ट छ। पुस्तकको ज्ञान आवश्यक भए पनि व्यावहारिक अनुभव अझ महत्त्वपूर्ण हुने उनी बताउँछन्। सुनसरी खोलाको बाँध निर्माणको एउटा उदाहरण दिँदै उनी प्राविधिक ज्ञानसँगै स्थानीय अनुभवको पनि उत्तिकै मूल्य हुने उल्लेख गर्छन्। ‘एउटा उखान छ नि पढेर भन्दा गरेर जानिन्छ। मैले परेर धेरै कुरा सिकेँ। अनुभव र व्यावहारिकतामा डुबेको मानिसले जे पनि गर्न सक्छ,’ उनको प्रश्न छ, ‘अक्षर सृष्टि गर्ने को हो ? जसले अक्षर र भाषा बनायो त्यो कुन् विश्वविद्यालयमा पढेर आएको थियो ?’

राजा हुँदैमा देश खराब हुन्छ भन्ने प्रवृत्ति गलत

राजतन्त्रबारे उनी एकपक्षीय निष्कर्षमा पुग्न नहुने धारणा राख्छन्। उनका अनुसार कुनै व्यवस्था सफल वा असफल हुनु त्यसलाई सञ्चालन गर्ने व्यक्तिको व्यवहार र नीतिमा निर्भर हुन्छ। राजनीति व्यक्तिगत स्वार्थ, असहिष्णुता र विभाजनको माध्यम बन्नु हुँदैन भन्ने उनको जोड छ।

उनी भन्छन्, ‘राजा हुँदैमा देश खराब हुन्छ भन्ने प्रवृत्ति गलत हो। फ्रान्समा पनि राजाहरू सबै मासे पनि राजा मान्ने छन्। अहिले त धर्मको आडमा ‘मै खाउँ, मै लाउँ, म बाँचु, मै नाचु’ भन्ने प्रवृत्ति विकसित भयो। वास्तवमा त्यो धर्म होइन, राजनीति हो। कतिपयले राजासँग सम्झौता गरे तर सम्झौता उल्लंघन गरे।’

नेपालमा स्वस्थ राजनीति नभएको र व्यक्तिगत असहिष्णुता बढेको उनको टिप्पणी छ।

समाज त राजनीतिक दलका भए

समाजको वर्तमान अवस्थाप्रति पनि उनी चिन्तित छन्। जात, क्षेत्र, धर्म र राजनीतिक आस्थाका आधारमा समाज क्रमशः खण्डित हुँदै गएको उनी महसुस गर्छन्। उनका अनुसार नागरिकबीच सहिष्णुता, संवाद र राष्ट्रिय एकताको भावना कमजोर हुँदै जानु नेपालको सबैभन्दा ठूलो चुनौती हो। समाजलाई विभाजनभन्दा माथि उठाएर साझा राष्ट्रिय हितमा अघि बढाउन सके मात्र देशले दीर्घकालीन स्थिरता र समृद्धिको बाटो समात्न सक्छ भन्ने उनको विश्वास छ।

उनी प्रश्न गर्छन् ‘तपाईँलाई समाजले केही गर्न प्रोत्साहित, उत्साहित गरेको कति सुन्नुभएको छ ? म त्यसबेलाको आदर्शको समाज सम्झिन्छु, अहिले त समाज नै छैन भन्दा पनि हुन्छ।’

खासगरी समाज पनि राजनीतिक दलका आधारमा विभाजित हुँदै गएको उनको टिप्पणी छ।

‘समाज खोज्न जाने हो भने गाउँ जानू। अहिलेको समाज पनि राजनीतिक दलका भए। कुन संस्था देश र जनताका लागि छन् ? सबै संस्था व्यक्तिगत स्वार्थ र राजनीतिका लागि खोलिएका छन्। समाज उद्देश्यविहीन भयो। उद्देश्य भए न लय हुन्छ। तपाईँ जे काम गर्नुस्, पैसा र पैसाको धाकबाहेक कुनै इमानदारी हामीमा छैन,’ कोइरालाको अनुभव छ, ‘विकृत समाजभित्र हामी छौँ। समाजका सदस्य पनि हामी नै हौँ, समाज हामीले नै बनाएको हो। कसलाई गाली गर्नु ?’

अहिलेको समयमा आदर्श समाजको कल्पना गर्न नहुने उनको भनाइ छ। उनले थपे, ‘नागरिक समाज भन्ने कुरा न देश र जनताको हितमा छ, न कुनै जातीय समाज नै। जातीय समाजले जातको उत्थान गर्ने नभई चुनाव लड्ने साम्प्रदायिक भावनामा मात्रै केन्द्रित छ।’

‘रक्तपात आन्दोलनको उद्देश्य हुन सक्दैन’

हालैका राजनीतिक घटनाक्रम र युवाको भूमिकाबारे बोल्दै कोइराला आन्दोलनको मूल उद्देश्य र त्यसको परिणामबीच स्पष्ट भिन्नता गर्नुपर्ने आवश्यकता औँल्याउँछन्। उनका अनुसार कुनै पनि आन्दोलनको मूल्याङ्कन त्यसका आदर्श र व्यवहार दुवैका आधारमा हुनुपर्छ।

जेनजी आन्दोलनबारे उनी भन्छन्, ‘युवाहरूमा परिवर्तनको चाहना र असन्तुष्टि स्वाभाविक हो। त्यस अर्थमा जेनजीको भावना थियो भन्न सकिन्छ। तर सिंहदरबार जलाउने वा रक्तपात मच्चाउने कुरा जेनजी आन्दोलनको उद्देश्य हुन सक्दैन।’ उनका अनुसार हिंसात्मक गतिविधिले आन्दोलनको नैतिक शक्ति कमजोर बनाउँछ। ‘रक्तपात भएको आन्दोलनलाई आन्दोलन भन्न गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘तिमीहरूको भविष्य अनुहारबाट थाहा हुन्छ। जेनजीको भावनाको आन्दोलन थियो, तर रक्तपात भयो। सिंहदरबार जलाउने जेनजीको आन्दोलन होइन। रक्तपातयुक्त विद्रोहलाई आन्दोलन भन्न मिल्दैन, त्यो त माओवादीले नै गरेकै थियो।

सरकारको कार्यशैलीबारे भने उनी मिश्रित धारणा व्यक्त गर्छन्। वर्तमान सरकारप्रति सुरुमा जनतामा ठूलो अपेक्षा रहेको स्मरण गर्दै उनी अहिले ती अपेक्षामाथि प्रश्न उठ्न थालेको बताउँछन्। यद्यपि सरकारका केही प्रयासलाई उनी सकारात्मक रूपमा हेर्छन्।

‘भ्रष्टाचारविरुद्ध कारबाही आवश्यक छ,’ उनी भन्छन्, ‘तर एकैपटक धेरै मोर्चामा आक्रमण गर्दा त्यसलाई व्यवस्थापन गर्न कठिन हुन्छ। भ्रष्टाचार नियन्त्रण, सुकुम्बासी व्यवस्थापन, शिक्षा सुधारजस्ता धेरै संवेदनशील विषय एकैसाथ अघि बढाउँदा सरकारमाथिको दबाब बढ्ने जोखिम हुन्छ। आफूले धान्न सक्ने काम मात्र अघि बढाउनुपर्छ। धेरै कुरा एकैचोटि सम्हाल्न खोज्दा कुनै पनि काम प्रभावकारी रूपमा सम्पन्न हुन सक्दैन।’

सरकारले प्राथमिकता निर्धारण गर्दै योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उनको सुझाव छ। राजनीतिमा सबै क्षेत्रमा एकैपटक हस्तक्षेप गर्ने प्रवृत्तिलाई उनी राजनीतिक लोकप्रियता खोज्ने रणनीतिसँग जोड्छन्।

उनका अनुसार कुनै पनि सरकारले गल्ती गर्न सक्छ, तर गल्ती सच्याउने क्षमता र कामलाई व्यवस्थित ढङ्गले अघि बढाउने इच्छाशक्ति नै सफलताको आधार हो। साम्प्रदायिक र विभाजनकारी भाषाप्रति पनि उनी सचेत रहन आग्रह गर्छन्। नेपालको नेतृत्व कुनै जाति वा समुदायको मात्र नभई सबै नेपालीको साझा प्रतिनिधित्व हुनुपर्ने उनको धारणा छ। राष्ट्रियता कुनै समुदायको एकाधिकार नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उनी जोड दिन्छन्।

राष्ट्रवादबारे उनी नेपाली समाजमा देशप्रेमको भावना गहिरो रहेको उल्लेख गर्छन्। तर राष्ट्रिय हितका विषयमा सबै परिस्थितिमा समान संवेदनशीलता देखिनुपर्ने उनको विचार छ। उनका अनुसार राष्ट्रवाद नारामा मात्र सीमित नभई व्यवहारमा पनि देखिनुपर्छ।

मेयरहरूमा ‘म नै मालिक हुँ’ भन्ने सोच देखिन्छ

स्थानीय सरकार, राजनीतिक संस्कार र समाजको बदलिँदो चरित्रबारे बोल्दै कोइराला नेतृत्वमा विनम्रता र उत्तरदायित्वको अभावप्रति चिन्ता व्यक्त गर्छन्। उनका अनुसार पद प्राप्त गर्नुभन्दा त्यसको प्रयोग कसरी गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ।

उनी भन्छन्, ‘आजका धेरै मेयरहरूको कार्यशैली हेर्नुस्। अझै पनि ‘म नै मालिक हुँ’ भन्ने सोच देखिन्छ। सल्लाह र सुझाव सुन्ने संस्कार कमजोर छ। हुती छ भनेर मानिस ठगेर, बेकुफ बनाएर हिँड्नु हुँदैन।’ लोकतान्त्रिक व्यवस्थामा नेतृत्वले आलोचना र सुझावलाई स्वीकार गर्न सक्नुपर्ने उनको धारणा छ। उनका अनुसार जनतालाई वास्तविकता नै भन्नुपर्छ, चाहे त्यो लोकप्रिय होस् वा नहोस्।

सुनसरीका स्थानीय तहको राजनीतिक परिवेशलाई उदाहरण दिँदै उनी दलगत अहंकार अझै समाप्त नभएको बताउँछन्। ‘कांग्रेस होस् वा एमाले, कार्यकर्तामा हैकम देखाउने प्रवृत्ति अझै बाँकी छ,’ उनी भन्छन्। उनका अनुसार राजनीति जनसेवाको माध्यम हुनुपर्ने हो, तर धेरै ठाउँमा व्यक्तिगत प्रभाव र स्वार्थको साधन बन्दै गएको देखिन्छ।

पद, शक्ति वा प्रभाव क्षणिक हुन सक्छ, तर मानिसले छोड्ने नैतिक उदाहरण नै अन्ततः उसको वास्तविक परिचय बन्ने उनको विश्वास छ।

राजनीतिक अनुभवले मानिसलाई धेरै कुरा सिकाउने उनी बताउँछन्। सही सुझाव दिँदा पनि कतिपयले त्यसलाई व्यक्तिगत रूपमा लिने र असहज मान्ने प्रवृत्ति बढेको उनको अनुभव छ। ‘आजभोलि मानिस छेपारोजस्तै रङ फेर्न सक्यो भने मात्रै राम्रो राजनीतिज्ञ ठानिने अनपेक्षित अवस्था बन्यो,’ उनी टिप्पणी गर्छन्।

वर्तमान राजनीतिक संस्कृतिबारे उनी स्पष्ट असन्तुष्टि व्यक्त गर्छन्। ‘आज राजनीति विचारको भन्दा पनि कसले कसलाई फाइदा गराउँछ भन्ने हिसाबमा सीमित हुँदै गएको छ,’ उनी भन्छन्। त्यसको असर समाजमा पनि परेको उनको बुझाइ छ। उनका अनुसार समाज विभाजित र अविश्वासले भरिएको बन्दै गएको छ।

कांग्रेसको उदाहरण दिँदै उनी भन्छन्, ‘दल छोडेर जानेहरू मन्त्री भए, तर पार्टीमा इमानदारीपूर्वक बसेका धेरै मानिस चुनाव जित्न सकेनन्।’ पदमा पुगेपछि पनि केही नेतामा अहंकार झन् बढेको उनले अनुभव गरेका छन्।

राजनीतिसँगै शिक्षामा पनि उनको योगदान उल्लेखनीय छ। उनले इनरुवा इङ्लिस बोर्डिङ विद्यालय स्थापना गरेका थिए। विद्यालय सुरु गर्दा जम्मा ३३ जना विद्यार्थी थिए र भर्ना शुल्क १० रुपैयाँ मात्र राखिएको थियो। शिक्षा, साहित्य, संगीत र विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रममा निरन्तर सहयोग गर्दै आएको उनी सम्झन्छन्। समाज निर्माणमा विद्यालय र संस्कृतिको भूमिका राजनीतिभन्दा कम नभएको उनको विश्वास छ।

अब त म डाँडामाथिको जून भइसकेँ

उमेरले शरीरलाई सीमित बनाएको स्वीकार्दै पनि उनी मुस्कुराउँदै थप्छन्, ‘अब दौडिन सक्दिनँ, तर हिँड्न त सक्छु नि !’

उमेरको उत्तरार्धमा पनि उनको सामाजिक सक्रियता रोकिएको छैन। समाजका विभिन्न गतिविधिमा उनी अझै सहभागी हुन्छन्। नेपालको सीमा, राष्ट्रिय हित र इतिहाससँग सम्बन्धित प्रमाणिक दस्तावेज सङ्कलनमा पनि उनले लामो समय खर्चिएका छन्। तर उनी दोषारोपणभन्दा समाधान खोज्नुपर्ने पक्षमा जोड दिन्छन्। ‘कसलाई गाली गर्ने, कसलाई प्रशंसा गर्ने ?’ उनी प्रश्न गर्छन्।

उनको दृष्टिमा नेपालको सबैभन्दा ठूलो समस्या नेता र जनताबीचको बढ्दो दूरी हो। ‘राष्ट्र र जनताको हितमा सोच्ने नेताको कहिल्यै मूल्य हुँदैन,’ उनी भन्छन्। प्रत्येक दलभित्र ‘मबाहेक अरू कोही छैन’ भन्ने अहंकारी प्रवृत्तिले राजनीतिक संस्कृतिलाई कमजोर बनाएको उनको बुझाइ छ। राजनीतिक नेतृत्वमा पुस्तान्तरण र समयअनुकूल परिवर्तन आवश्यक रहेको उनी जोड दिन्छन्। उनका अनुसार उमेर, अनुभव र क्षमताबीच सन्तुलन हुनुपर्छ।

राजतन्त्रबारे पनि उनी एकपक्षीय निष्कर्षमा पुग्न नहुने धारणा राख्छन्। ‘सबै राजा भगवान् रामचन्द्रजस्ता हुँदैनन्, कोही रावणजस्ता पनि हुन सक्छन्,’ उनी भन्छन्। कुनै पनि व्यवस्थाको सफलता त्यसलाई सञ्चालन गर्ने व्यक्तिको चरित्र, नीति र व्यवहारमा निर्भर रहने उनको विश्वास छ।

साहित्य र पत्रकारिता उनको जीवनको अर्को महत्त्वपूर्ण अध्याय हो। २०१३ सालदेखि साहित्यिक पत्रिकासँग जोडिएका उनी विभिन्न पत्रपत्रिकाको सम्पादन र प्रकाशनमा सक्रिय रहे। उनले २२ वर्ष पत्रकारितामा बिताएको स्मरण गर्दै समाजमा विचार, ज्ञान र बहसको संस्कृति कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्छन्।

इनरुवाको बौद्धिक वातावरणबारे उनी खुलस्त छन्। ‘यहाँ सामाजिक र बौद्धिक छलफल निकै कम देखिन्छ,’ उनी भन्छन्। मानिसहरू आफ्नै दैनिकीमा सीमित हुँदै गएको र सामूहिक विचार-विमर्शको परम्परा कमजोर बनेको उनको अनुभव छ।

मिडियाको भूमिकाप्रति पनि उनी चिन्तित छन्। उनका अनुसार पत्रपत्रिका र सञ्चारमाध्यमले समाजलाई ज्ञान, विवेक र स्वस्थ बहस दिनुपर्ने हो, तर अहिले त्यस्तो भूमिका कमजोर बन्दै गएको छ। सामाजिक सञ्जाल र डिजिटल माध्यममा बढ्दो अश्लीलता, उत्तेजना र सतही सामग्रीले समाजमा नकारात्मक प्रभाव पारिरहेको उनको धारणा छ। यस्ता परिस्थितिमा जिम्मेवार नागरिक र बौद्धिक वर्गले खुलेर आफ्नो विचार राख्नुपर्ने आवश्यकता उनी औँल्याउँछन्।

लामो जीवन अनुभवबाट उनले सिकेको निष्कर्ष स्पष्ट छ। खासगरी समाज, राजनीति र राष्ट्रलाई सही दिशामा लैजान कुनै एक व्यक्ति, दल वा व्यवस्थाले मात्र सक्दैन। त्यसका लागि इमानदारी, अनुभव, सहकार्य, निरन्तर संवाद र सार्वजनिक हितप्रतिको प्रतिबद्धता आवश्यक हुने उनको तर्क छ।

जीवनको उत्तरार्धमा आइपुगेका गोपाल कोइराला ‘त्यागी’ आफूलाई एउटा सुन्दर उपमामार्फत चिनाउँछन्। उनी अनुभवको उज्यालो बाँड्न चाहन्छन्। जसकारण टाढाबाट पनि उज्यालो दिइरहने र बाटोबारे सोच्ने एउटा साक्षी बन्न चाहन्छन्।

उनी भन्छन्, ‘अब त म डाँडामाथिको जून भइसकेँ।’

(गोपाल कोइराला त्यागीसँग ०७ साउन ०८३ मा गरिएको  कुराकानीमा आधारित।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast