बाल सुरक्षामा लापरवाही गरेको भन्दै मेटामाथि थप ५६७ मिलियन डलर जरिबाना

हिमाल प्रेस २२ साउन २०८३ ७:२८ | Friday, August 7, 2026
8
SHARES
बाल सुरक्षामा लापरवाही गरेको भन्दै मेटामाथि थप ५६७ मिलियन डलर जरिबाना

अमेरिकाको न्यु मेक्सिको राज्यको एक अदालतले सामाजिक सञ्जाल कम्पनी मेटालाई बाल सुरक्षामा लापरवाही गरेको ठहर गर्दै थप ५६७ मिलियन अमेरिकी डलर (करिब ४२१ मिलियन पाउन्ड) जरिबाना तिर्न आदेश दिएको छ। बाल सुरक्षासम्बन्धी मुद्दामा मेटाविरुद्ध भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक दण्ड हो।

न्यायाधीश ब्रायन बिड्स्चाइडले मेटाका प्लेटफर्महरूलाई ‘सार्वजनिक उपद्रव’ को संज्ञा दिँदै यसले बालबालिकामा पुर्‍याएको मनोवैज्ञानिक तथा यौन शोषणसम्बन्धी जोखिम समाजभर फैलिएको बताएका छन्। अदालतले उक्त रकम भविष्यमा यस्ता क्षति न्यूनीकरण गर्न स्थापना गरिने विशेष कोषमा जम्मा गर्न आदेश दिएको छ।

यसअघि यही मुद्दामा मेटालाई ३७५ मिलियन डलर जरिबाना गरिएको थियो। नयाँ आदेशसँगै कम्पनीले तिर्नुपर्ने कुल जरिवाना ९४२ मिलियन डलर पुगेको छ।

अदालतका अनुसार मेटाको सिफारिस एल्गोरिदमले किशोर प्रयोगकर्तालाई हानिकारक सामग्री र जोखिमपूर्ण सम्पर्कतर्फ बारम्बार डोर्‍याएको थियो। यसले न्यु मेक्सिकोको अनुचित व्यापार अभ्यास ऐन उल्लंघन गरेको ठहर गरिएको छ।

फैसलामा १८ वर्षमुनिका प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न मेटालाई थप कडा व्यवस्था लागू गर्न पनि निर्देशन दिइएको छ। यसअन्तर्गत नाबालिगको खाता वयस्कलाई सिफारिस नगर्ने, वयस्कले नाबालिगलाई सन्देश पठाउन नपाउने, नाबालिगबीच नग्न तस्बिर आदान-प्रदान रोक्ने, १८ वर्षमुनिका प्रयोगकर्ताको ‘लाइक’ संख्या हटाउने, राति तथा विद्यालय समयमा पुष नोटिफिकेसन बन्द गर्ने र इन्स्टाग्राम तथा फेसबुकको मासिक प्रयोग समय ९० घण्टामा सीमित गर्ने व्यवस्था समावेश छन्।

मेटाले भने अदालतको निर्णयसँग असहमति जनाउँदै उच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ। कम्पनीले आफ्ना प्लेटफर्मलाई सुरक्षित बनाउन निरन्तर काम गरिरहेको र किशोर प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न विभिन्न उपाय अपनाएको दाबी गरेको छ।

मेटाविरुद्ध अमेरिकामा बाल सुरक्षा र गोपनीयतासम्बन्धी यस्तै प्रकृतिका हजारौँ मुद्दा विचाराधीन छन्। आगामी साता क्यालिफोर्नियामा पनि करिब तीन दर्जन अमेरिकी राज्यले दायर गरेको अर्को महत्वपूर्ण मुद्दाको सुनुवाइ सुरु हुने भएको छ।

प्रकाशित: २२ साउन २०८३ ७:२८ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast