पोखरा- कास्कीको मर्दी पदयात्रामा निस्किएका ३ जना युवाको सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको प्रयासमा बिहीबार करिब ११ बजे उनीहरुको सकुशल उद्धार गरिएको छ । उनीहरुलाई डोरीको सहयोगमा मोदी खोला तारिएको हो ।
पोखरा–१४, खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २६ वर्षीय करण लामा ३ दिनदेखि सम्पर्कविहीन भएका थिए । अन्नपूर्ण गाउँपालिका वडा ११, छोमरोङको पिंधस्थित मोदी खोलाको पारिपट्टि उनीहरु हिजो साँझ सकुशल भेटिएका थिए ।
उनीहरुले २ दिनसम्म ओढारमा रात बिताउन बाध्य भएका थिए । बाटो बिराएर भिर र जंगलको बीचमा पर्ने मोदी खोलाको किनारमा उनीहरु पुगेका थिए । तर अविरल वर्षासँगै मोदी खोलामा पानीको अत्यधिक बहावले तत्काल उद्धार सम्भव हुन सकेको थिएन । उद्धारका लागि डोजरको प्रयोग गरी रुख ढालेर अस्थायी पुल निर्माण गर्ने प्रयाससमेत सफल भएको थिएन ।
सुरुमा घान्द्रुक र बगरबाट प्रहरी टोली तथा सशस्त्र प्रहरीको कालिका गणबाट १० जनाको टोली घटनास्थल पुगेको थियो । खोलामा पानीको बहाव निकै ठूलो भएकाले आइतबार राति अबेरसम्म प्रयास गर्दा पनि उनीहरुलाई वारि ल्याउन सकिएको थिएन । उद्धार गरिएका युवाको स्वास्थ्य जाँचपछि परिवारको जिम्मा लगाइने कास्की प्रहरीले जनायो ।


