काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विप्लवले सरकार गठनको छोटो समयमा नै जनता निराश बन्न थालेको र सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका हुन्।
उनले विद्रोहको भावनाबाट बनेको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए।
जनता र नयाँ पुस्तामा असन्तुष्टि बढेर पुनः आन्दोलन र विद्रोहको वातावरण सिर्जना भइरहेको उनले बताए। विप्लवले भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिएको, उनीहरूको मनोबल बढेको र धरौटी वा विनाधरौटी सहजै रिहाइ भइरहेकोप्रति चिन्ता व्यक्त गरे।
सरकार कुनै स्पष्ट नेतृत्व वा दिशानिर्देशविना चलेको जस्तो देखिएकाले जनता अन्योलमा परेको उनको भनाइ छ। साथै उनले विद्यमान प्रणाली र सरकार असफलतातिर गइरहेकाले नेपाली युवा, जेनजी र सर्वसाधारणको सहभागितामा स्पष्ट राजनीतिक, आर्थिक र सांस्कृतिक प्रस्तावसहित नयाँ निकास खोज्नुपर्नेमा जोड दिए।
उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई परम्परागत र पुराना शैलीबाट मात्र नहेरी गम्भीर समीक्षा र व्यापक बहस गर्नुपर्ने धारणा राखे।


