नेपालगन्ज-नेपाल–भारत सीमा नजिक रहेको नेपालगन्ज क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागुऔषध मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरी छुटेका एक व्यक्तिसहित दुई जनालाई ५२६ ग्राम २९० मिलिग्राम खैरो हेरोइन (ब्राउनसुगर) सहित पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अरुणकुमार जयसवाल र नेपालगन्ज–४ का ३० वर्षीय सुशील भण्डारीलाई पक्राउ गरेको हो।
उहाँका अनुसार भारतको बहराइचबाट ब्राउनसुगर खरिद गरी कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्न ल्याउँदै गरेको सूचनाका आधारमा सोमबार नेपालगन्ज उपमहानगरपालिका–४, न्युरोडस्थित रणबहादुर केसीको घरबाट उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले प्रारम्भिक कारबाहीका क्रममा उनीहरूको साथबाट १३६ ग्राम ८५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो। त्यसपछि अनुसन्धानका क्रममा अरुणकुमार जयसवालको घरमा खानतलासी गर्दा दराजमा लुकाएर राखिएको थप ३८९ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बरामद लागुऔषध र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट डिजिटल तराजु एक थान, मोबाइल फोन दुई थान, नेपाली रुपियाँ एक लाख ८० हजार र भारतीय रुपियाँ दुई लाख एक हजार ४०० गरी जम्मा पाँच लाख दुई हजार २४० रुपियाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।
बरामद नगद तथा सामग्री लागुऔषध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा आर्थिक कारोबारसमेत अनुसन्धान भइरहेको सूचना अधिकारी राठौरले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जयसवाल यसअघि २०७५ असोज २४ गते २४ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। उक्त मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरी छुटेका जयसवाल पुनः लागुऔषध कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।



