काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक रहेको बताएकी छन्।
तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उनले नेता अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको उल्लेख गर्दै उनको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले पछिल्ला दिनमा सुनसरीसहित पूर्वी तराईका केही जिल्लामा देखिएका तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबैले संयमता अपनाउनुपर्नेमा जोड दिइन्।
उनले अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबै नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले आज प्राप्त लोकतान्त्रिक उपलब्धिका पछाडि अमात्यजस्ता अग्रजहरूको लामो संघर्ष, त्याग र समर्पण रहेको उल्लेख गर्दै उनलाई सम्झनु भनेको केवल इतिहासको स्मरण गर्नु मात्र नभई उनका आदर्श र मूल्यलाई व्यवहारमा उतार्नु पनि भएको बताइन्।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल र पूर्वअध्यक्ष केशवप्रसाद बडाललाई सम्मान गरिएको थियो। साथै हाजिरीजवाफ प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको थियो।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सहसंयोजक नेपालले नेता अमात्यले प्रतिष्ठित र सहज जीवन बिताउने अवसर हुँदाहुँदै किसान, मजदुर तथा उत्पीडित समुदायको हक र अधिकारका लागि संघर्षको कठिन बाटो रोजेको उल्लेख गरे।


