पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ

हिमाल प्रेस १५ साउन २०८३ २१:२६ | Friday, July 31, 2026
4
SHARES
पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ

काठमाडौँ- सन् २०२६ को पहिलो त्रैमासमा विश्वव्यापी वस्तु व्यापार वृद्धि अपेक्षाभन्दा बढी भएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ।

कृत्रिम बुद्धिमत्ता (एआई) सँग सम्बन्धित विद्युतीय उपकरणहरूको व्यापारमा तीव्र वृद्धिले मध्यपूर्व द्वन्द्वको नकारात्मक प्रभावलाई सन्तुलन गरेको छ।

तथ्यांकअनुसार यस वर्षको पहिलो त्रैमासमा मौसमी रूपमा समायोजित विश्वव्यापी वस्तु व्यापारको मात्रा अघिल्लो त्रैमासको तुलनामा १.९ प्रतिशत र वार्षिक रूपमा ३.२ प्रतिशत बढेको छ।

मूल्यका हिसाबले विश्वव्यापी वस्तु व्यापार अघिल्लो त्रैमासभन्दा दुई प्रतिशत र सन् २०२५ को सोही त्रैमासभन्दा ११ प्रतिशत बढेको छ।

सन् २०२६ को पहिलो त्रैमासमा रेकर्ड गरिएको वार्षिक वृद्धि दर विशेष रूपमा उल्लेखनीय छ, किनकि सन् २०२५ को पहिलो त्रैमासको व्यापार वृद्धि मुख्यतया अपेक्षित भन्सार वृद्धिअघि उत्तर अमेरिकामा आयात अगाडि गर्नाले भएको थियो।

एआईसँग सम्बन्धित विद्युतीय उपकरणहरूको बलियो व्यापारले मध्यपूर्वमा युद्ध सुरु भएपछि हर्मुज जलमार्ग हुँदै हुने ढुवानीमा अवरोध र उच्च ऊर्जा मूल्यका कारण इन्धन आयात गर्ने देशहरूमा मन्द आर्थिक वृद्धि जस्ता प्रतिकूल प्रभावहरूलाई पूर्णरूपमा पूर्ति गरेको छ।

डब्ल्यूटीओले एआईका सक्षम उत्पादनहरूको विश्वव्यापी व्यापार मात्राबारे कुनै विशिष्ट तथ्यांक उपलब्ध नभए पनि तिनीहरूको अमेरिकी डलरमा आधारित व्यापार मूल्य पहिलो त्रैमासमा वार्षिक रूपमा ४० प्रतिशतभन्दा बढी बढेको जनाएको छ।

द्वन्द्वले मध्यपूर्वको वस्तु व्यापारलाई गम्भीर रूपमा प्रभावित गरेको छ। यस क्षेत्रको मौसमी रूपमा समायोजित निर्यात र आयात मात्रा क्रमशः ९.७ प्रतिशत र ११.९ प्रतिशतले वार्षिक रूपमा घटेको छ र दोस्रो त्रैमासमा अझ तीव्र गिरावट हुने अपेक्षा गरिएको छ।

यसैबीच एआईसँग सम्बन्धित लगानी खर्चले पहिलो त्रैमासमा एसियाको व्यापार मात्रा बढाएको छ। एसियाको मौसमी रूपमा समायोजित निर्यात र आयात क्रमशः १२.९ प्रतिशत र १४.६ प्रतिशतले वार्षिक रूपमा बढेका छन्।

एसियाको व्यापार विस्तारको ठूलो भाग एआई सक्षम वस्तुहरूको अन्तर–क्षेत्रीय आवतजावतबाट आएको हो।

उत्तर अमेरिकामा पहिलो त्रैमासको निर्यात वार्षिक रूपमा ७.० प्रतिशत बढेको छ भने आयात १०.७ प्रतिशत घटेको छ।

आगामी त्रैमासको व्यापार तथ्यांकले हर्मुज जलमार्ग हुँदै हुने ढुवानीमा भएका अवरोधहरूलाई अझ पूर्ण रूपमा प्रतिबिम्बित गर्ने डब्ल्यूटीओले अपेक्षा गरेको छ।-रासस/सिन्हवा

प्रकाशित: १५ साउन २०८३ २१:२६ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast