शान्ति र सामाजिक सद्भाव कायम राख्न हिन्दू-मुस्लिम धार्मिक अगुवाको अपिल

हिमाल प्रेस १५ साउन २०८३ १५:०० | Friday, July 31, 2026
6
SHARES
शान्ति र सामाजिक सद्भाव कायम राख्न हिन्दू-मुस्लिम धार्मिक अगुवाको अपिल

काठमाडौँ– सुनसरीको देवानगन्जमा भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त अपिल जारी गरेका छन्।

धार्मिक अगुवाहरूले सुनसरी, सिरहा तथा मधेशका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

साथै पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न पनि आग्रह गरेका छन्।

अपिलमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकता देशको पहिचान र बल भएको उल्लेख गरिएको छ। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुग्न नहुनेमा जोड दिइएको छ।

वक्तव्यमा धर्मको नाममा हिंसा फैलाउने प्रयासप्रति सचेत रहन सबै नागरिकलाई अपिल गरिएको छ। उत्तेजनात्मक, घृणात्मक तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न नहुन आग्रह गर्दै सबै धर्मको मूल उद्देश्य मानवकल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचारालाई सुदृढ गर्नु रहेको उल्लेख छ।

संयुक्त अपिलमार्फत स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षलाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय योगदान दिन पनि आह्वान गरिएको छ।

संयुक्त अपिलमा सुनसरी, सिरहा तथा मधेश प्रदेशका अन्य जिल्लामा भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

अपिलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा–ए–नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ नेपालका सचिवालय सदस्य राजुराज फुयाँल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १५ साउन २०८३ १५:०० | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast