बुटवल- सुनसरीमा भएको घटनापछि मुलुकमा उत्पन्न तनाव र अशान्तिको अन्त्यको कामना गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार शान्ति पाठ तथा प्रार्थना गरिएको छ।
लुम्बिनी विकास कोषको आयोजनामा मायादेवी मन्दिर परिसरमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामनासहित शान्ति प्रार्थना गरिएको हो।
कार्यक्रममा थेरवादी र महायानी परम्पराका भिक्षु-भिक्षुणीहरूले परित्राण पाठ गर्दै पछिल्लो समय विभिन्न द्वन्द्वका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। मुलुकमा शान्ति, सद्भाव, सहिष्णुता र भ्रातृत्व कायम रहोस् भन्ने कामना गरिएको थियो।
भिक्षु सागर धम्मले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएकाले सबै समुदायबीच एकता, सद्भाव र पारस्परिक सम्मान कायम रहन आवश्यक रहेको बताए। ‘जसरी विभिन्न फूलहरूले बगैंचाको सौन्दर्य बढाउँछन्, त्यसरी नै विविध समुदायको सहअस्तित्वले नेपालको पहिचान बलियो बनाएको छ,’ उनले भने।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव हिमाल उप्रेतीले भगवान बुद्धले लुम्बिनीबाट शान्ति, अहिंसा र करुणाको सन्देश विश्वभर फैलाएको स्मरण गर्दै पछिल्ला घटनाप्रति दुःख व्यक्त गरे।
उनले अब कुनै पनि प्रकारको हिंसा वा अशान्ति दोहोरिन नदिन लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले शान्ति प्रार्थना आयोजना गरिएको बताए।
कार्यक्रममा भिक्षु चन्द्रभूषण, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क अधिकृत डा.हरिध्वज राई लगायतको उपस्थिति रहेको थियो।


