देवानगन्ज घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न मधेशकेन्द्रित दलको माग

हिमाल प्रेस १४ साउन २०८३ २०:३८ | Thursday, July 30, 2026
14
SHARES
देवानगन्ज घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न मधेशकेन्द्रित दलको माग

काठमाडौँ- मधेशकेन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगन्जमा भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। उनीहरूले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन पनि अपिल गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र महतो, जनमत पार्टीका  जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेका हुन्।

उनीहरूले साम्प्रदायिक संवेदनशीलतासँग जोडिएको घटनामा राज्यका निकायले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रहेर काम गर्नपर्नेमा जोड दिँदै घटनापछिको प्रहरी हस्तक्षेप र बल प्रयोगबारे गम्भीर प्रश्न उठेकाले त्यसको सत्यतथ्य पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

संयुक्त वक्तव्यमा प्रधानमन्त्री घटनापछि पाँच दिनसम्म मौन बसेको र गृहमन्त्रीको भूमिकामाथि पनि प्रश्न उठाउँदै प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गरी शान्ति, सद्भाव, न्याय र कानुनी शासनप्रति नागरिकलाई आश्वस्त पार्नुपर्ने माग गरिएको छ।

नेताहरूले घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, दीर्घकालीन जीविकोपार्जनका लागि रोजगारीको व्यवस्था गर्न तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

वक्तव्यमा घटनामा बाह्य तत्व, रोहिंग्या वा अन्य कुनै संगठित समूहको संलग्नता रहेको वा नरहेको विषय स्वतन्त्र र निष्पक्ष अनुसन्धानबाट स्पष्ट पार्नुपर्ने उल्लेख गरिएको छ। साथै, दमनमा संलग्न भएको आरोप लागेका प्रहरी तथा प्रशासनिक अधिकारीलाई अनुसन्धान अवधिभर निलम्बन गरी सुरक्षा व्यवस्थामा भएको कमजोरी र बल प्रयोगको औचित्यमाथि छानबिन गर्नुपर्ने माग पनि गरिएको छ।

घाइतेहरूको निःशुल्क उपचार, आवश्यक राहतको व्यवस्था तथा साम्प्रदायिक सद्भाव कायम गर्न राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवासँग समन्वय गर्न सरकारलाई आग्रह गरिएको छ। पछिल्ला दिनमा मधेशका विभिन्न क्षेत्रमा देखिएका तनावपूर्ण घटनाको पनि निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्नुपर्ने उनीहरूको भनाइ छ।

संयुक्त वक्तव्यमा निष्पक्ष छानबिन र न्यायबिना जनविश्वास पुनःस्थापित हुन नसक्ने उल्लेख गर्दै सरकारले पक्षपातरहित ढंगले सत्य, न्याय र उत्तरदायित्वको मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ।

मधेशकेन्द्रित दलहरूले नागरिकलाई संयम र धैर्यता अपनाउन, कुनै पनि अफवाह, घृणा वा उत्तेजनाबाट टाढा रहन तथा सामाजिक सद्भाव र कानुनी शासनको पक्षमा उभिन आग्रह गरेका छन्।

प्रकाशित: १४ साउन २०८३ २०:३८ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast