कपिलवस्तुमा ट्रक दुर्घटना : १२ वर्षीय बालकसहित तीनको मृत्यु, चालक पक्राउ

हिमाल प्रेस १३ साउन २०८३ १५:३९ | Wednesday, July 29, 2026
6
SHARES
कपिलवस्तुमा ट्रक दुर्घटना : १२ वर्षीय बालकसहित तीनको मृत्यु, चालक पक्राउ

बुटवल- कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ गैडहवास्थित बहादुरगन्ज-तौलिहवा हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ।

मृतकमध्ये एक जना १२ वर्षीय बालक रहेका छन्। बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्रकले सडक किनारमा पार्किङ गरिएको नम्बर नखुलेको मोटरसाइकल र साइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार दुर्घटनामा महाराजगन्ज नगरपालिका-२ गैडहवाका आशिष कश्यपका १२ वर्षीय छोरा आनन्द कश्यपको मृत्यु भएको छ।

पैदल हिँडिरहेका उनलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी, साइकलमा सवार महाराजगन्ज नगरपालिका-३ गनौरियाका अन्दाजी ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका अन्दाजी ७५ वर्षीय भोल्लर कुर्मीको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रक चालक मोरङका ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा ट्रकले सडक किनारमा पार्किङ गरिएको मोटरसाइकल र साइकललाई ठक्कर दिएको खुलेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। यसैबीच घटनाप्रति कपिलवस्तु महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलामले विज्ञप्ति जारी गर्दै दुर्घटनाको आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

उनले सडक सुरक्षाको प्रभावकारी उपायहरू अबिलम्व अवलम्बन गर्न समेत माग गरेका छन्।

प्रकाशित: १३ साउन २०८३ १५:३९ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast