फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, लाखौँ विस्थापित

हिमाल प्रेस १२ साउन २०८३ २२:४७ | Tuesday, July 28, 2026
4
SHARES
फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, लाखौँ विस्थापित

काठमाडौँ- तापक्रम बढेसँगै दक्षिण–पश्चिम युरोपमा डढेलोको जोखिम उच्च बनेपछि फ्रान्सको एट्लान्टिक तटीय क्षेत्रमा करिब चार हजार मानिसलाई मंंगलबार सुरक्षित स्थानमा सारिएको छ।

बोर्दोको पश्चिममा फैलिएको विशाल डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकले केही सफलता हासिल गरे पनि बढ्दो तापक्रम र घट्दो आद्र्रताले आगो पुनः फैलिन सक्ने जोखिम बढाएको अधिकारीले बताएका छन्।

फ्रान्स र स्पेनमा फैलिएका डढेलोका कारण हालसम्म करिब तीन लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्पेनले यस वर्षको चौथो गर्मीको लहरको सामना गरिरहँदा त्यहाँका धेरै डढेलो अझै नियन्त्रणमा आउन सकेका छैनन्।

फ्रान्समा अग्निनियन्त्रकले रातभरको प्रयासपछि गिरोन्ड क्षेत्रमा फैलिएको आगोलाई केही हदसम्म नियन्त्रणमा राखेका छन्।

तटीय क्षेत्रका बालुवे ढिस्को नजिकको आगो नियन्त्रणमा आए पनि डढेलोले हालसम्म करिब ४२० वर्ग किलोमिटर क्षेत्र ओगटेको छ।

अधिकारीले गिरोन्डको डढेलोको अवस्था स्थिर रहे पनि पूर्ण रूपमा नियन्त्रणमा नआएको बताएका छन्। तापक्रम बढ्दै र आद्र्रता घट्दै गएमा आगो पुनः फैलिन सक्ने चेतावनी दिइएको छ।

गिरोन्ड क्षेत्रीय अधिकारीका अनुसार सावधानीस्वरूप लाकानाउ समुद्री तट र लाकानाउ ताल आसपासका शिविरस्थल, बिदा मनाउने गाउँ, पर्यटकीय आवास तथा मनोरञ्जन पार्कबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको हो।

फ्रान्सको राष्ट्रिय अग्निनियन्त्रक महासंघका प्रवक्ता एरिक ब्रोकार्डीले तापक्रम बढ्ने पूर्वानुमानका बाबजुद डढेलो नियन्त्रणको प्रयास जारी राखिने बताए।

फ्रान्सको राष्ट्रिय मौसम सेवाले मंगलबार दिउँसोदेखि गिरोन्डमा तापसम्बन्धी पहेँलो चेतावनी जारी गरेको छ। त्यहाँको तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने तथा हावाको गति बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार यस वर्ष देशभर एक हजार १६० वर्ग किलोमिटरभन्दा बढी क्षेत्र डढेलोबाट प्रभावित भइसकेको छ।

युरोपेली संघको कोपर्निकस जलवायु सेवा तथा विश्व मौसम विज्ञान संगठनका अनुसार युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको महादेश हो। अत्यधिक गर्मी र व्यापक सुख्खापनले फ्रान्स र स्पेनमा डढेलो फैलिन र तीव्र हुन सहयोग पु¥याएको कोपर्निकसले जनाएको छ।

गिरोन्डको डढेलो गत सातादेखि तीव्र रूपमा फैलिएको हो। आगोले हालसम्म पेरिस सहरको क्षेत्रफलको करिब चार गुणा बराबर भू–भाग प्रभावित गरेको र करिब दुई लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीले बताएका छन्।

आगो फैलिन नदिन सैन्य इन्जिनियर तथा वन डढेलो नियन्त्रण टोलीले मंगलबार पनि फायरब्रेक निर्माणको काम जारी राखेका छन्। अधिकारीका अनुसार हालसम्म १०३ किलोमिटर फायरब्रेक निर्माण भइसकेको छ। डढेलो नियन्त्रणका क्रममा ९३ अग्निनियन्त्रक घाइते भएका छन्।

बोर्दोतर्फ जाने ए–६३ राजमार्गको केही भाग बन्द गरिएको छ भने बोर्दोको दक्षिणी क्षेत्रबाट टुलुज जाने रेलमार्गबाहेक अन्य रेल सेवा स्थगित गरिएको छ।- रासस/एपी

प्रकाशित: १२ साउन २०८३ २२:४७ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast