 
                            
                                            काठमाडौँ- टर्कीमा सोमबार शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या ५० पुगेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीको दक्षिणी भागमा गएको ७.८ म्याग्निच्युडको भूकम्पको झट्का छिमेकी साइप्रस, लेबनान र सिरियासम्म महसुस गरिएको छ।
भूकम्पको केन्द्रबिन्दू गाजियान्टेप रहेको बताइएको छ। जहाँबाट सिरियासँगको सीमाना नजिक छ।
भूकम्पका कारण दर्जनौँ भवन ढलेका छन् जसले गर्दा उद्धारमा कठिनाई भइरहेको छ। टर्कीस अधिकारीहरूका अनुसार भूकम्प प्रभावित सहर खारामानमारास र त्यस वरपर उद्धार टोली र जहाज खटाइसकिएको छ।
मृत्यु हुनेमा मालाट्या प्रान्तका २३, सान्लिउरफाका १७, डियारबाकिरका ६ र ओसमानिएका पाँच छन्। सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार त्यहाँ ४२ मारिएका छन्।
‘म यहाँ बसेको ४० वर्ष भयो, तर यत्तिको शक्तिशाली झट्का यसअघि कहिल्यै महसुस गरेको थिइनँ,’ गाजियान्टेप सहरका स्थानीय एर्डेमले रोयटर्ससँग भनेका छन्।
भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुस गरिएको रोयटर्सको रिपोर्टमा उल्लेख छ। स्थानीय अधिकारीका अनुसार सान्लिउरफामा १६ र ओसमानिएमा ३४ भवन ध्वस्त भएका छन्।
उता सिरियाको एलेप्पोमा पनि ठूलो क्षति पुगेको बताइएको छ। सिरियाकै राजधानी दमास्कस, लेबनानका दुई ठूला सहर बेरुत र त्रिपोलीमा स्थानीय सडकमा निस्किएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 