स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

हिमाल प्रेस ११ साउन २०८३ २१:२८ | Monday, July 27, 2026
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालको सबै सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अनुरोध गरेको छ।

शनिबार अस्पतालमा भएको घटनाको सम्बन्धमा सोमबार मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्दै स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषी पत्ता लगाइ कानुनी कारबाहीको दायरामा ल्याउन र सर्वसाधारण सबैलाई अस्पतालको संवेदनशीलतालाई बुझेर सेवा निरन्तर हुने वातावरण बनाइदिन अनुरोध गरेको हो।

शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए।

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीले आकस्मिकलगायत सेवा बन्द गर्दै आएका छन्। मन्त्रालयले भनेको छ, ‘नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको निधन भएको घटनाप्रति मन्त्रालय गहिरो दुःख व्यक्त गर्दछ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ। उक्त घटनापछि अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

बिरामीको जीवन बचाउन दिनरात सेवामा खटिने स्वास्थ्यकर्मीबाट कुनै त्रुटि हुन गएमा त्यसको छानबिन गरी कानुनी उपचार र न्यायका लागि प्रचलित कानुन बमोजिम हुने व्यवस्था विद्यमान रहेको जनाउँदै मन्त्रालयले त्यस प्रकारका हिंसाका घटनाप्रति शून्य सहनशीलताको नीति दोहो¥याएको छ।

‘स्वास्थ्य अत्यन्त संवेदनशील क्षेत्र हो। त्यसैले उपचारमा संलग्न हुने सेवाग्राही र सेवा प्रदायक सबैले यो संवेदनशीलता बुझ्नु जरुरी महत्त्वपूर्ण छ। सबै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिरामीको सेवामा निर्भय, सुरक्षित, उच्च मनोबलका साथ निरन्तर सेवामा समर्पित हुने वातावरण बनाउन मन्त्रालय कटिबद्ध छ,’ मन्त्रालयले भनेको छ।

मन्त्रालयले सबैलाई संयमित हुन र अस्पतालको सेवा नियमित रूपमा सञ्चालन गर्न आफ्नो ठाउँबाट सहयोग गरिदिन पनि सबैमा अनुरोध गरेको छ।

प्रकाशित: ११ साउन २०८३ २१:२८ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast