काठमाडौँ- जिल्ला प्रहरी कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
राति ९ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार पूर्वतर्फ इनरुवा नगरपालिका वडा नम्बर ३ र ६ को सीमा (महेन्द्रराजमार्ग अन्तर्गत घोपाली टोल), पश्चिम कोशी ब्यारेजको पुल र उत्तर र दक्षिण महेन्द्रराजमार्गदेखि २०० मिटर क्षेत्रसम्म।
कर्फ्यु अवधिमा तोकिएको सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा भनिएको छ।
कफ्यु आदेश उल्लंघन भएमा एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुन सक्ने सूचनामा उल्लेख छ।
गएराति जिल्लाको देवानगन्जमा दुई समूदायबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। यो घटनापछि सुनसरीलगायत अन्य स्थानहरुमा प्रदर्शन भएको छ।
देवानगन्जमा कर्फ्यु उल्लंघन गरेर प्रदर्शन भएपछि त्यहाँ सेना परिचालन गरिएको छ।



