काठमाडौँ- अचम्मको संयोजग। धर्मेन्द्र प्रधान कुनैबेला आफैँ प्रश्नपत्र चुहावटविरूद्ध प्रदर्शन गर्दा प्रहरीको लाठीबाट घाइते भएका थिए। आज अर्को एउटा प्रश्नपत्र चुहावटलाई लिएर उनको राजीनामा माग्दै विद्यार्थीहरू प्रहरीको लाठीबाट घाइते भएका छन्।
सन् २०२१ मा ‘द न्यू इन्डियन एक्सप्रेस’ मा छापिएको एउटा समाचारलाई मूलधारका सञ्चारमाध्यमहरूमा फेरि व्यापक रूपमा सेयर गरिँदैछ।
यो समाचारअनुसार सन् १९९७ मा स्वर्गी जेबी पटनायकको सरकारमा ओडिसामा भएको एउटा प्रश्नपत्र चुहावटविरूद्ध अखिल भारतीय विद्यार्थी परिषद् (एबीवीपी) को तर्फबाट राज्य सचिवालयअगाडि गरिएको प्रदर्शनका क्रममा धर्मेन्द्र प्रहरीको लाठीबाट घाइते भएका थिए।
प्रधानले त्यो प्रदर्शनको नेतृत्व गरेका थिए।
त्यो घटनाको २९ वर्षपछि २० जुलाई २०२६ मा प्रधानको राजीनामा माग गर्दै नयाँदिल्लीमा संसद्तर्फ मार्च गरिरहेका विद्यार्थी तथा युवाहरूमाथि प्रहरीले लाठीचार्ज गर्यो। प्रहरीको लाठीचार्जमा कैयौँ प्रदर्शनकारी घाइते भएर अस्पताल भर्ना भए।
२९ वर्षअघि प्रश्नपत्र चुहावटविरूद्ध भएको आन्दोलनको नेतृत्व प्रधानले गरेको पुष्टि हाल भुवनेश्वरको पटिया क्षेत्रमा रहेको राजा मधुसुदन देव कलेजको अध्यक्ष पदमा कार्यरत प्रशान्त राउतले गरेको बीबीसीले उल्लेख गरेको छ।
उनले भने,‘ती दिनहरूमा एबीवीपी भुवनेश्वर शाखाको अध्यक्ष थिएँ र धर्मेन्द्र प्रधान संगठनका राष्ट्रिय महासचिव। मलाई मिति ठ्याक्कै याद छैन। तर जुलाई १९९७ को तेस्रो हप्ताको कुनै दिन (साय १७ वा १८ तारिख) एबीवीपीका सयौँ कार्यकर्ता धर्मेन्द्र प्रधानको नेतृत्वमा प्लस टुमा भएको प्रश्नपत्र चुहावटविरूद्ध विधानसभाअगाडि प्रदर्शन गरिरहेका थिए।’
लगातार भइरहेको प्रश्नपत्र चुहावटविरूद्ध त्योे बेला आफूहरू प्रदर्शनमा उत्रिएको उनले बताएका छन्। राउतले भने,‘सन् १९८८ देखि १९९७ को बीचमा लगभग हरेक वर्ष प्रश्नपत्र बाहिरिएका थिए। त्यसैले हामी त्यसलाई ‘डिकेड अफ क्वेश्चन लिक’ भन्ने गथ्र्यौँ। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न आरएएफका जवानहरूले हामीमाथि अन्धाधुन्ध लाठी बर्साए, जसमा हाम्रा ६४ जना कार्यकर्ता घाइत भएर अस्पताल भर्ना गरिएका थिए। घाइतेहरूमा म र धर्मेन्द्र प्रधान पनि समावेश थियौँ।’
विद्यार्थी युनियन चुनावमा तेस्रो स्थानमा रहेका प्रधान
प्रधानको लामो राजनीतिक यात्रा ८० को दशकमा विद्यार्थी राजनीतिबाट सुरू भएको थियो।
बाल्यकालदेखि नै उनी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीवीपी) सँग जोडिए। र, ओडिसाको तालचेर कलेज विद्यार्थी युनियनको अध्यक्ष निर्वाचित भए।
पछि उनले एबीवीपीको तर्फबाट उत्कल विश्विद्यालय विद्यार्थी युनियनको अध्यक्षको चुनाव पनि लडे। तर, एसएफआईका उम्मेदवार तथा अहिलेका बीजु जनता दल (बीजद) का वरिष्ठ नेता अरुण साहूसँग पराजित भए।
त्यो चुनावमा प्रधान तेस्रो र छात्र जनताका उम्मेदवार सिन्धुज्योति त्रिपाठी दोस्रा भएका थिए। यद्यपि तीनै जना उम्मेदवारबीच मतको अन्तर धेरै कम थियो।
प्रधानको विद्यार्थी जीवनका बारे सिन्धुज्योति भन्छन्,‘धर्मेन्द्र एकदमै साधारण विद्यार्थी थिए। अध्यक्ष पदका लागि एबीवीपीको तर्फबाट उहाँको नाम उम्मेदवारको रूपमा घोषणा हुनुअघि क्याम्पसमा धेरै कम मानिस उहाँलाई चिन्दथे। तर, उत्कल विश्विद्यालयमा ती दिनहरूमा एबीवीपको संगठन धेरै बलियो थियो, उहाँले राम्रो भोट पाउनुभयो।’
त्यो चुनावमा प्रधानलाई माथ दिने अरुण साहु पछि बीजेडीका एक प्रमुख नेता र ओडिसाको शिक्षामन्त्री बने। संयोगले सन् २०१९ मा उत्कल विश्वविद्यालयको प्लाटिनम (७५ औँ) समारोहका अवसरमा प्रधान र साहू दुवै मञ्चमा उपस्थित थिए।
प्रधानको राजनीतिक उदयका बारेमा साहूले भने,‘तपाईंलाई थाहा छ कि बीजेपीमा सबै निर्णय संघका हुन्छन्। उहाँ लामो समयसम्म संघसँग जोडिएको हुनाले र त्यो पनि यस्तो समयमा जब ओडिसामा बीजेपीको कुनै खास पहिचान थिएन, त्यसैले उहाँले पार्टी र पछि सरकारमा ठूला पद पाउनु स्वाभाविक थियो।’
प्रधान-राजनीतिको उदय
उत्कल विश्वविद्यालयमा चुनाव हारे पनि प्रधानको राजनीतिक उदयमा कुनै अवरोध आएन। आफ्नो मिहिनेत र लगनशीलताले उनी बीजेपीको विद्यार्थी र युवा संगठनमा सफलताको भर्याङ उक्लिन थाले।
प्रधान १९९४ मा एबीवीपीको राष्ट्रिय महासचिव बने र १९९७ सम्म यो पदमा रहे। सन् २००४ देखि २००६ सम्म उनी भारतीय जनता युवा मोर्चाको अध्यक्ष भए। पछि उनी बीजेपीको राष्ट्रिय महासचिव बने। यो पदमा रहँदा उत्तर प्रदेश, बिहार, कर्नाटकलगायत धेरै राज्यहरूमा राज्य प्रभारीको रूपमा पार्टीको जितमा भूमिका खेले।
प्रधानको चुनावी यात्रा सन् २००० मा सुरू भयो। उनी बीजेडी–बीजेपी गठबन्धनको उम्मेदवारका रूपमा विधानसभा सदस्यमा निर्वाचित भए।
यसको चार वर्षपछि अर्थात् २००४ मा भएको आम निर्वाचनमा उनी देवगढ संसदीय क्षेत्रबाट सांसद निर्वाचित भए। अब देवगढ संसदीय निर्वाचन क्षेत्र रहेन, यसलाई सम्बलपुर संसदीय क्षेत्रमा गाभिएको छ, जहाँबाट उनी २०२४ मा सांसद निर्वाचित भए। यसअघिको लामो समयसम्म उनले चुनाव लडेनन्।
यद्यपि पार्टीमा बलियो पकडका कारण उनी दुईपटक अन्य राज्यहरूबाट राज्यसभा सांसद बने। अप्रिल २०१२ देखि अप्रिल २०१८ सम्म बिहारबाट र फेरि अप्रिल २०१८ देखि अप्रिल २०२४ सम्म मध्य प्रदेशबाट।
सन् २०१४ मा पहिलोपटक नरेन्द्र मोदीको सरकार बनेको बेला प्रधान पेट्रोलियम राज्यमन्त्री भए। त्यो बेला उनी राज्यसभामा बिहारको प्रतिनिधित्व गरिरहेका थिए।
दुई दशकपछि २०२४ मा उनी फेरि ओडिसाबाट चुनाव लडे र सम्बलपुरबाट लोकसभा सांसद बने। मोदी नेतृत्वको सरकारमा प्रधान शिक्षामन्त्री बनेका थिए।


