विपक्षी खेलाडी कुट्ने अर्जेन्टिनामाथि फिफाको अनुसन्धान सुरु, प्रतिबन्धसमेत हुन सक्ने

हिमाल प्रेस ५ साउन २०८३ ११:४८ | Tuesday, July 21, 2026
14
SHARES
विपक्षी खेलाडी कुट्ने अर्जेन्टिनामाथि फिफाको अनुसन्धान सुरु, प्रतिबन्धसमेत हुन सक्ने

विश्व फुटबल महासंघ (फिफा) ले विश्वकप फाइनलपछि अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षक समूहको व्यवहारबारे छानबिन सुरु गरेको छ।

फिफाको अनुशासन समितिले घटनाको अनुसन्धान गर्न अनुशासन तथा आचारसंहिता अभियोजक नियुक्त गरेको पुष्टि गरेको छ।

छानबिनपछि घटनामा संलग्न खेलाडी वा प्रशिक्षकमाथि निलम्बनको कारबाही हुन सक्नेछ भने अर्जेन्टिना फुटबल संघ (एएफए) लाई जरिवाना पनि हुन सक्छ।

आइतबार सम्पन्न फाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी र टोलीका सदस्यहरू स्पेनका खेलाडीहरूसँग झडपमा उत्रिएका थिए। नाहुएल मोलिना, लिएन्ड्रो परेडेस, थियागो अल्माडा तथा सहायक प्रशिक्षक रोबर्टो आयाला घटनामा संलग्न देखिएका थिए।

सुरुमा फिफाले परेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेपछि रातो कार्ड पाएको जनाएको थियो। तर केही समयपछि त्यो निर्णय अभिलेखबाट हटाइयो र बीबीसी स्पोर्टसँगको कुराकानीमा फिफाले खेलकै क्रममा उनीमाथि कुनै अनुशासनात्मक कारबाही नभएको बताएको छ।

यसअघि अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोस्रो हाफको अतिरिक्त समयमा दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाडेका थिए।

यसअघि पनि फिफाले इंग्ल्यान्डविरुद्धको सेमिफाइनल जितपछि अर्जेन्टिनाका खेलाडीहरूले लास माल्भिनास अर्जेन्टिनाकै हुन्  (फकल्याण्ड टापुमाथि अर्जेन्टिनाको दाबी समर्थन गर्ने) लेखिएको ब्यानर प्रदर्शन गरेको विषयमा अनुशासनात्मक प्रक्रिया सुरु गरिसकेको थियो।

फाइनलपछि के भएको थियो?

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा अन्तिम सिटी बज्नासाथ केही अर्जेन्टिनी खेलाडी (लियोनेल मेस्सी) मैदानमै निराश भएर बसे। उता स्पेनका खेलाडीहरू उपाधि जितेको खुसी मनाउँदै मैदानभर दौडिरहेका थिए।

अतिरिक्त समयमा परिवर्तन गरिएका स्पेनका रोड्री टोलीसँग उत्सव मनाउन दौडँदै जाँदा अर्जेन्टिनाका डिफेन्डर मोलिनाले उनको हात वा पेटमा मुक्का हानेको जस्तो देखिएको थियो। त्यसपछि रोड्री र मोलिनाबीच विवाद चर्कियो।

एरिक गार्सिया साथीको समर्थनमा पुगेपछि परेडेसले उनको घाँटीमा धक्का दिएका थिए। खेलमा नउत्रिएका गाभी झगडा रोक्न पुगेका बेला अल्माडाले उनलाई भुइँमा लडाइदिएका थिए। त्यसपछि परेडेसले पनि गाभीको अनुहारमा हात लगाएर धकेलेका थिए।

सहायक प्रशिक्षक आयालाले गार्सियाको घाँटी समातेको र पछि स्पेनका मिडफिल्डर दानी ओल्मोलाई प्रहार गरेको जस्तो दृश्य पनि देखिएको थियो।

बीबीसीका विश्लेषक एलन शियररले भने,‘परेडेसले दुईतीन पटक मुक्का प्रहार गर्ने प्रयास गरे। यस्तो व्यवहार फुटबलमा कुनै पनि हालतमा स्वीकार्य हुँदैन। हार स्वीकार गर्ने पनि एउटा तरिका हुन्छ तर अर्जेन्टिनाको प्रतिक्रिया निकै खराब थियो।’

पूर्व इंग्ल्यान्ड गोलरक्षक जो हार्टले पनि यसलाई घृणित व्यवहार भन्दै आलोचना गरेका थिए। यद्यपि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले घटनालाई सामान्य बनाउन खोज्दै भने,‘हामी जित्दा पनि विनम्र हुन्छौं र हार्दा पनि त्यस्तै हुनुपर्छ। हामीले हार स्वीकार गरेका छौं तर त्यसले यहाँसम्म आइपुग्न गरेको मेहनत बिर्सिने भन्ने होइन।’

अर्जेन्टिनामाथि कस्तो कारबाही हुन सक्छ?

फिफाको अनुशासन समितिसँग विभिन्न प्रकारका कारबाही गर्ने अधिकार छ। अनुशासन तथा आचारसंहिता अभियोजकले केवल हिंसात्मक व्यवहार मात्र होइन खेलको मर्यादा र निष्पक्ष खेल (फेयर प्ले) सम्बन्धी उल्लंघनको पनि विस्तृत अध्ययन गर्नेछन्।

फिफाको अनुशासन संहिताको धारा १३ अनुसार खेलाडी वा पदाधिकारीले सभ्य आचरणको आधारभूत नियम उल्लंघन गरेको वा फुटबल तथा फिफाको प्रतिष्ठामा आँच पुर्‍याउने व्यवहार गरेको ठहर भएमा उनीहरूलाई विश्वव्यापी रूपमा लागू हुने प्रतिबन्धसमेत लगाउन सकिन्छ।

यसअघि सन् २०२३ मा स्पेनका पूर्व फुटबल महासंघ अध्यक्ष लुइस रुबियालेसले महिला विश्वकप जितेपछि जेन्नी हर्मोसोको ओठमा चुम्बन गरेपछि उनीमाथि तीन वर्षको प्रतिबन्ध लगाइएको थियो।

सन् २०१४ को विश्वकपमा उरुग्वेका स्ट्राइकर लुइस सुवारेजले इटालीका जर्जियो किएलिनीलाई टोकेपछि चार महिनासम्म सबै प्रकारका फुटबल गतिविधिबाट निलम्बन गरिएको थियो।

यद्यपि अल्माडा, आयाला, मोलिना र परेडेसले यति लामो प्रतिबन्ध भोग्नुपर्ने सम्भावना कम रहेको बताइएको छ।

अर्जेन्टिनाको पुरानो विवादास्पद इतिहास

अर्जेन्टिना टोली विगत केही वर्षदेखि पनि अनुशासनसम्बन्धी विवादमा पर्दै आएको छ।

२०२२ को विश्वकप जितेपछि उनीहरूको उत्सव मनाउने शैलीमाथि फिफाले प्रश्न उठाएको थियो। गोलकिपर एमिलियानो मार्टिनेजले उत्कृष्ट गोलरक्षकको ट्रफीसँग अशोभनीय हाउभाउ प्रदर्शन गरेका थिए भने ड्रेसिङ रुममा फ्रान्सका स्टार किलियन एम्बाप्पेको खिल्ली उडाएको भिडियो पनि सार्वजनिक भएको थियो।

त्यस घटनापछि अर्जेन्टिना फुटबल संघलाई १८ हजार ३०० पाउन्ड जरिवाना गरिएको थियो यद्यपि कुनै खेलाडीलाई प्रतिबन्ध लगाइएको थिएन।

पछि सन् २०२४ मा मार्टिनेजले पुनः अशोभनीय व्यवहार दोहोर्‍याएपछि विश्वकप छनोटअन्तर्गत दुई खेलको प्रतिबन्ध भोग्नुपरेको थियो।

त्यसैगरी, २०२४ को कोपा अमेरिका जितेपछि एन्जो फर्नान्डेजले सार्वजनिक गरेको भिडियोमा फ्रान्सेली खेलाडीहरूलाई लक्षित जातीय विभेदपूर्ण गीत गाएको आरोप लागेपछि उनले सार्वजनिक रूपमा माफी माग्नुपरेको थियो।

यस विश्वकपमा पनि फकल्याण्ड (माल्भिनास) सम्बन्धी ब्यानर प्रदर्शन गरेकाले एएफएमाथि पुनः जरिवानाको सम्भावना रहेको छ। साथै उक्त ब्यानर बोकेका क्रिस्टियन रोमेरो, जियोभानी लो सेल्सो र लिसान्द्रो मार्टिनेजमाथि पनि कारबाही हुन सक्ने अनुमान गरिएको छ।

युरो २०२४ को फाइनलपछि ‘जिब्राल्टर स्पेनको हो’ भन्ने नारा लगाएपछि स्पेनका कप्तान अल्भारो मोराटा र रोड्रीलाई युइएफएले एक-एक खेलको प्रतिबन्ध लगाएको उदाहरण पनि रहेको छ।

फिफाले अर्जेन्टिनामाथिको अनुसन्धान कहिले टुंगिने भन्ने समयसीमा भने सार्वजनिक गरेको छैन।

प्रकाशित: ५ साउन २०८३ ११:४८ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast