युट्युबबाट हट्यो `मास्टर्नी´ गीत, प्रियंका र दुर्गेशले मागे माफी

हिमाल प्रेस २ साउन २०८३ ६:१० | Saturday, July 18, 2026
18
SHARES
युट्युबबाट हट्यो `मास्टर्नी´ गीत, प्रियंका र दुर्गेशले मागे माफी

काठमाडौँ– विवादित बनेको ‘मास्टर्नी’ को प्रमोसनल गीत युट्युबबाट हटाइएको छ। गायक तथा सर्जक दुर्गेश थापाले चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको ‘मास्टर्नी’ गीतप्रति उठेका विवादपछि क्षमायाचना गर्दै गीतलाई आफ्ना सबै आधिकारिक प्लेटफर्मबाट हटाएको घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै थापाले गीतप्रति दर्शक, श्रोता, शुभचिन्तक तथा गुरुजनले दिएको माया, साथ, समीक्षा, आलोचना र सुझावलाई खुलेर स्वीकार गरेको बताएका छन्। उनले उक्त गीतको उद्देश्य कुनै पनि पेसा, व्यक्तित्व वा कसैको सम्मान तथा भावनामा चोट पुर्‍याउने नभई चलचित्रको प्रचारप्रसारलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नु मात्र रहेको स्पष्ट पारेका छन्।

थापाले गीतका केही शब्द तथा प्रस्तुतीकरणका कारण शिक्षकशिक्षिका, गुरुजन तथा दर्शकको भावनामा ठेस पुगेको महसुस भएको उल्लेख गर्दै आफू र सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना गरेका छन्।

‘शिक्षक भनेका समाजका मार्गदर्शक, ज्ञानका दीप तथा सम्मानका पात्र हुनुहुन्छ। उहाँहरूप्रति मेरो सम्मान सधैँ अटल रहनेछ,’ उनले वक्तव्यमा उल्लेख गरेका छन्।

आगामी दिनमा सुझावलाई आत्मसात् गर्दै अझ जिम्मेवार, उत्कृष्ट र दर्शकको मन जित्ने सिर्जना लिएर आउने प्रतिबद्धता पनि थापाले व्यक्त गरेका छन्।

यसैगरी अभिनेत्री तथा निर्माता प्रियंका कार्कीले चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षक समुदाय र दर्शकसँग सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै कार्कीले गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई विशुद्ध रूपमा प्रचारप्रसारका लागि तयार पारिएको स्पष्ट पारेकी छन्। उनले उक्त गीत चलचित्रको कथावस्तुमा कतै पनि समावेश नगरिएको बताएकी छन्।

कार्कीले गीतमा प्रयोग भएका केही शब्द र दृश्यका कारण शिक्षकशिक्षिका पेसा तथा त्यससँग जोडिएका व्यक्तित्वको गरिमामा आँच पुगेको भन्ने गुनासोलाई आफूले अत्यन्त गम्भीरतापूर्वक लिएको उल्लेख गरेकी छन्।

उनले कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजको सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वमाथि कुनै पनि प्रकारको नकारात्मक असर पार्ने उद्देश्य नरहेको स्पष्ट पार्दै अन्जानमै शिक्षक समुदाय र दर्शकको भावनामा चोट पुगेको भए व्यक्तिगत रूपमा तथा आफ्नो सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना गरेकी छन्।

आफ्नो पहिलो चलचित्र निर्माण यात्रामा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने कल्पनासमेत नगरेको उल्लेख गर्दै उनले यस घटनालाई गल्ती सुधार्ने महत्त्वपूर्ण पाठका रूपमा लिएको बताएकी छन्। साथै नेपाल शिक्षक महासंघ, सम्पूर्ण शिक्षक–शिक्षिका तथा यस घटनाबाट आहत भएका दर्शकप्रति सम्मान व्यक्त गर्दै माफी मागेकी छन्।

विवादपछि सम्बन्धित गीतलाई दुर्गेश थापाको युट्युब च्यानलबाट स्थायी रूपमा हटाइसकिएको र आफ्ना सबै सामाजिक सञ्जालबाट पनि उक्त गीतका अंश हटाइएको जानकारी उनले दिएकी छन्। कार्कीले दर्शकबाट प्राप्त सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गरेको बताउँदै आगामी दिनमा सिर्जना र विषयवस्तु छनोटमा अझ संवेदनशील, जिम्मेवार र सचेत रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रकाशित: २ साउन २०८३ ६:१० | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast