सरकार परिवर्तनको हल्लाका बीच बस्यो लुम्बिनी मन्त्रिपरिषद्को बैठक

हिमाल प्रेस १ साउन २०८३ १९:०६ | Friday, July 17, 2026
18
SHARES
सरकार परिवर्तनको हल्लाका बीच बस्यो लुम्बिनी मन्त्रिपरिषद्को बैठक

बुटवल- सत्तासमीकरण फेरबदलको चर्चा चुलिएको बेला लुम्बिनीमा एमाले–कांग्रेस गठबन्धनकै सरकारको मन्त्रिपरिषद् बैठक बसेको छ।

बिहीबार दिनभर कांग्रेस सरकारबाट बाहिरिने हल्ला चले पनि नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा नदिएपछि शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको हो।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको छ।

प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेकी सुशिला अर्याललाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ।

त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी प्रदान गरिएको छ।

बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को वित्तीय प्रगतिको समीक्षा पनि गरिएको छ।

सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार चालुतर्फ ६७ दशमलव ७७ प्रतिशत र पुँजीगततर्फ ६६ दशमलव ८० प्रतिशत खर्च भएको जानकारी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरिएको थियो।

यसैगरी, प्रमुख सचिव कृष्णप्रसाद काप्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाए। उक्त प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गरिने सरकारका प्रवक्ता घिमिरेले जानकारी दिए।

प्रकाशित: १ साउन २०८३ १९:०६ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast