काठमाडौँ- प्रतिनिधिसभा सदस्यमा काठमाडौँ उपत्यकामा सत्ता गठबन्धनमा आबद्ध दलमध्ये नेपाली कांग्रेसले लाभ लिएको छ भने माओवादी र एकीकृत समाजवादी शून्यमा पुगेका छन्। काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) का १५ सिटमध्ये गठबन्धनमा आबद्ध नभए पनि एमालेले दुई सिट जितेको छ। एक क्षेत्रमा भने नेपाल मजदुर किसान पार्टीले आफ्नो विरासत राख्ने पक्कापक्की छ। ११ सिटको नतिजा आइसक्दा कांग्रेसले ६, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ र एमालेले २ सिट जितेका छन्।
मतगणना जारी ४ सिटमध्ये एक सिटमा नेमकिपाले अग्रता लिइरहेको छ भने एक सिटमा कांग्रेसले अग्रता लिइरहेको छ। यस्तै दुई सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि छन्।
माओवादीले जित्ने भनेर अनुमान गरिएका क्षेत्रमा स्वतन्त्र पार्टीका उम्मेदवार बाधक बनेका छन्। गठबन्धनमा आबद्ध माओवादीका दुई प्रभावशाली नेत्रीलाई महिला उम्मेदवारले संसद् प्रवेशमा रोक लगाइदिए।
१५ सिटमध्ये अघिल्लो चुनावमा कांग्रेस चार सिटमा सीमित थियो। काठमाडौँ क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा, ६ मा भीमसेनदास प्रधान र १० मा राजेन्द्र केसी विजयी भएका थिए। कांग्रेसबाट प्रधानबाहेक तीन जनाले अहिले पनि जितेका छन्।
ललितपुर-१ राणाले लिए सिलवालसँग बदला
ललितपुर–१ मा कांग्रेसका उदयशमशेर राणा २२ हजार ९८२ मसहित विजयी भएका छन्। उनले एमालेका नवराज सिलवालसँग अघिल्लो पटकको बदला लिएका हुन्। सिलवालले १९ हजार २७८ मत छ। राणा सत्ता गठबन्धनका उम्मेदवार हुन्। २०७४ को निर्वाचनमा सिलवालले २६ हजार ९६१ मत ल्याएर विजयी हुँदा राणा २० हजार ७२९ मत ल्याएर पराजित भएका थिए।
ललितपुर-२ एमालेलाई जित दिलाउने महर्जन
ललितपुर–२ एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार ८८६ मत ल्याए। गठबन्धनबाट उठेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन आठ हजार २६४ मतमा सीमित भए। विजयी महर्जन कृष्णलाल महर्जनसँग लामो समय सहकार्य गरेका नेता हुन्। यसपटकको निर्वाचनमा एमालेबाट जितको खाता खोलेका प्रेमले उपत्यकामा एमालेलाई शून्य हुनबाट जोगाएका छन्।
ललितपुर-३ तोसिमाको तरक्की!
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की १३ हजार १६ मतका साथ अगाडि छन् भने एमालेका अमृत खड्का सात हजार २१७ मतसहित दोस्रो स्थानमा छन्। माओवादीकी पम्फा भुसाल चार हजार ६१४ मतसहित तेस्रो स्थानमा छिन्। भुसाल सत्ता गठबन्धनकी उम्मेदवार हुन्। यस क्षेत्रमा भुसालले हार्ने लगभग निश्चित भएको छ।
मेडिकल पृष्ठभूमिकी तोसिमा चुनावअघि नै चचित थिइन्। निर्वाचन आयोगबाट उम्मेदवारी खारेजीका कारण अदालत गएकी उनले सफाइ पाएपछि चर्चा चुलिएको थियो। सोही कारण पनि उनलाई संसद्को यात्रा सहज बन्न पुगेको अनुमान गरिन्छ। यस क्षेत्रबाट अघिल्लो चुनावमा उनै भुसालले कांग्रेसका मदनबहादुर अमात्यलाई हराएकी थिइन्।
भक्तपुर-१ मा बिरासत धान्दै सुवाल
भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल १३ हजार ६८८ मत ल्याई अग्रस्थानमा छन्। उनलाई एमालेका नवराज गेलालले नौ हजार ९५९ मतका साथ पछ्याइरहेका छन्। यस क्षेत्रमा २०४८ पछिका हरेक निर्वाचनमा नेमकिपाका उम्मेदवार विजयी हुँदै आएका छन्। अहिले पनि सुवालले जित्ने लगभग निश्चित छ। अघिल्लो चुनावमा पनि सुवाल विजयी भएका थिए।
भक्तपुर-२ मा एमालेका महेश बस्नेत पछाडि
भक्तपुर–२ मा कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री २१ हजार ३८१ मत ल्याई अग्रस्थानमा छन्। एमालेका महेश बस्नेत २० हजार ८६३ मतका साथ दोस्रो स्थानमा छन्। थापा गठबन्धनमा उम्मेदवार हुन्। अघिल्लो चुनावमा बस्नेतले ३६ हजार ४१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका दमनाथ ढुंगाना १८ हजार, ६८७ मा सीमित भएका थिए। एमालेका बस्नेत अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मध्येका एक मानिन्छन्। चुनाव जितेपछि क्षेत्रको विकास निर्माणमा विशेष चासो दिए पनि यसपटकको चुनावमा उनले कडा प्रतिस्पर्धा गर्नुपरेको छ।
काठमाडौँ-१ मा प्रकाशमानको चौथो पटक
काठमाडौँ–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह सात हजार १४३ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार१८ मत ल्याएका छन्। सिंह गठबन्धनमा उम्मेदवार हुन्। अघिल्लो चुनावमा पनि यी दुईबीच नै प्रतिस्पर्धा भएको थियो। त्यति बेला सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत ल्याएका थिए। सिंह यस क्षेत्रबाट २०६४ देखि निरन्तर सांसद जित्दै आएका छन्। उनलाई यस क्षेत्रमा गठबन्धनको साथ थियो।
काठमाडौँ-२ मा पूर्वसभामुख घर्तीको लज्जास्पद हार
काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम १५ हजार २२९ मत ल्याई विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत ल्याएका छन्। यस क्षेत्रमा गठबन्धनबाट उठेकी माओवादीकी ओनसरी घर्तीले नौ हजार ४४९ मत ल्याएर चौथो बनेकी छन् भने राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याएकी छन्। अघिल्लो चुनावमा यस क्षेत्रमा एमालेका माधवकुमार नेपाल विजयी भएका थिए।
काठमाडौँ-३ राईलाई दोहोरिन रोके चालिसेले
काठमाडौँ– ३ मा कांग्रेसका उम्मेदवार सन्तोष चालिसे १५ हजार १५८ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मत ल्याएका छन्। राई अघिल्लो चुनावमा १९ हजार १६९ मतसहित विजयी भएका थिए। त्यतिबेला कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाएकी थिइन्।
काठमाडौँ-४मा गगनको ह्याट्रिक
काठमाडौँ–४ मा नेपाली कांग्रेसका गगनकुमार थापा २१ हजार ३०२ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन्। अघिल्लो चुनावमा पनि यी दुईबीच नै प्रतिस्पर्धा भएको थियो। २०७४ को चुनावमा थापा २१ हजार ५५८ मतसहित विजयी हुँदा एमालेका भट्टराईले १८ हजार १४० मत पाएका थिए। थापाले यस क्षेत्रमा २०७० मा पनि चुनाव जितेका थिए।
काठमाडौँ-५ मा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराए ‘टुरिस्ट’ पौडेलले
काठमाडौँ– ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल १५ हजार २३७ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १० हजार १७५ मत ल्याएका छन्। पौडेल सत्ता गठबन्धनका उम्मेदवार हुन्। यसअघिका चुनावमा तनहुँबाट लडेका पौडेललाई विपक्षीहरूले ‘टुरिस्ट’ को आरोप लगाउने गरेका थिए।
विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय पौडेललाई मतदाताले भने विश्वास गरेर सिंहदरबारको यात्रा गराएका छन्। यस क्षेत्रमा अघिल्लो चुनावमा एमालेका पोखरेल २३ हजार २९ मतका साथ विजयी हुँदा कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए।
काठमाडौँ-६ मा भीसमेन दासको ‘ह्याट्रिक’ गर्ने सपना अधुरै
काठमाडौँ– ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल ११ हजार ६३८ मत ल्याई अग्रस्थानमा छन्। एमालेका सर्वेन्द्र खनाल ६ हजार ९८५ मतका साथ दोस्रो स्थानमा छन् । यस क्षेत्रमा सत्ता गठबन्धका भीमसेनदास प्रधानले ६ हजार ७३५ मत ल्याएका छन्। प्रधानले अघिल्लो चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीलाई हराएका थिए। सुवेदीले १५ हजार ४८५ मत ल्याउँदा प्रधानको १६ हजार ७८५ मत थियो। एमालेका खनाल पूर्वप्रहरी प्रमुख हुन्।
मानुषीलाई पत्याएन काठमाडौँ-७ ले
काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली आठ हजार ७४३ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ६ अजार ८०० मत ल्याएका छन्। यस क्षेत्रमा गठबन्धनबाट उठेकी माओवादीकी मानुषी यमि भट्टराई ६ हजार ६३ मतका साथ तेस्रो स्थानमा सीमित भइन्। अघिल्लो चुनावमा रामवीर मानन्धर विजयी भएका थिए। उनले राप्रपाका विक्रमबहादुर थापालाई हराएका थिए।
थापाको १० हजार ७९ मत आउँदा मानन्धरको १८ हजार १०२ मत आएको थियो। एमालेबाट टिकट नपाएर स्वतन्त्र उठेका मानन्धरले यसपटक ७५३ मत पाएका छन्। मानुषीलाई यस क्षेत्रबाट चुनाव उठाउनकै लागि उनका पिता डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा चुनाव नलडेको चर्चा छ। उक्त क्षेत्रमा भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समर्थन गरेका छन्।
काठमाडौँ-८ मा विराजभक्तको उदय
काठमाडौं क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन्।
यस क्षेत्रमा गठबन्धनबाट उठेका एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले चार हजार ८७७ मत ल्याएर तेस्रा भएका छन्। अघिल्लो चुनावमा एमालेबाट उठेका श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई हराएका थिए। जोशीको १२ हजार ९५३ मत आउँदा श्रेष्ठको १३ हजार ३९७ मत आएको थियो। विराजभक्त यसअघि विवेकशील साझाका तर्फबाट प्रदेश सांसद थिए।
काठमाडौँ- ९ मा फेरि एमालेका कृष्णगोपाल श्रेष्ठ
काठमाडौँ–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका छन्।
यस क्षेत्रमा गठबन्धनबाट उठेकी माओवादीकी कल्पना धमला तेस्रो भएकी छन्। उनले ६ हजार ४०२ मत ल्याइन्। श्रेष्ठले अघिल्लो चुनावमा कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई पराजित गरेका थिए। रञ्जितले १४ हजार ८०२ मत ल्याउँदा श्रेष्ठ २२ हजार ८५२ मतका साथ विजयी भएका थिए। अघिल्लो कार्यकालमा मन्त्री हुँदा ओलीलाई पेलेसँग तुलना गरेपछि श्रेष्ठ विवादमा आएका थिए।
काठमाडौँ-१० मा राजेन्द्र केसी नै
काठमाडौँ क्षेत्र नं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी १४ हजार ४४८ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका हिमेश केसीले ११ हजार ७८६ मत ल्याए। केसीले यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए। २०७४ को चुनावमा उनले २४ हजार १९० मत ल्याई विजयी हुँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मत ल्याएका थिए। उनी २०७० सालमा पनि यस क्षेत्रबाट विजयी भएका थिए। यस क्षेत्रमा गठबन्धन थिएन।