लियोनेल मेस्सी र लामिन यामाल ।
सर्वकालीन महान् फुटबलर मानिएका लियोनेल मेस्सी र बार्सिलोनाको दायाँ विङमा उनको उत्तराधिकारीका रूपमा हेरिएका लामिन यामाल आइतबार हुने विश्वकप फाइनलमा पहिलोपटक आमनेसामने हुँदैछन्। प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले युरोपको ‘पावरहाउस’ स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
मेसी अहिले ३९ वर्षका छन् भने यामाल १९ वर्षका। यी दुईलाई एउटै विश्वकप फाइनलमा देख्न पाउनु मेसीको अदम्य निरन्तरता र यामालको असाधारण प्रतिभाको प्रमाण हो।
उनीहरूको भेट भने पहिलोपटक हुन लागेको होइन। उनीहरूबीच पहिलोपटक सन् २००७ मा भेटे भएको थियो। त्यसबेला २० वर्षीय मेसी बार्सिलोनाको पहिलो रोजाइका खेलाडी बन्दै थिए भने लामिन यामाल पाँच महिनाका शिशु थिए।
त्यो ऐतिहासिक भेट फोटोग्राफर जोआन मोनफोर्टले खिचेका तस्बिरमा कैद भएको थियो।
दुई वर्षअघि यामालले स्पेनलाई युरो २०२४ को उपाधि जिताउन मद्दत गरेपछि उनका बुवाले तीमध्ये एउटा तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै क्याप्सन लेखेका थिए– ‘दुई किंवदन्तीको थालनी।’
ती तस्बिरमा मुस्कुराइरहेका मेसीले सानो शिशुलाई काखमा लिएका छन् र नुहाइदिँदै छन्। त्यो शिशु पछि गएर फुटबलमा लगभग उनकै पदचिह्न पछ्याउने खेलाडी बन्नेछ भन्ने कल्पना कसैले गरेको थिएन।
फोटोग्राफर मोनफोर्ट भन्छन्, ‘यो भाग्यको साँचिकै चमत्कार हो। यस्तो संयोग हो, जुन तपाईँले कल्पना गरेभन्दा धेरै ठूलो हुन्छ। यो कथालाई फिल्ममा लेखिएको भए पनि दर्शकले पत्याउने थिएनन्।’
‘मेसीलाई शिशुसँग के गर्ने भन्ने नै थाहा थिएन’
फोटोसुट बार्सिलोनाको क्याम्प नोउ रंगशालास्थित अवे ड्रेसिङ रुममा गरिएको थियो। यामालको परिवार त्यहाँ एउटा प्रतियोगिता जितेर पुगेको थियो। उनका बुबा मोरक्कोमा जन्मिएका मुनिर नास्राउई र आमा इक्वेटोरियल गिनियाकी सिला एबाना आफ्ना परिवारसँग बाल्यकालमै क्याटालोनिया बसाइँ सरेका थिए।
लामिन यामाल उनीहरूको पहिलो सन्तान हुन्। उनको जन्मलगत्तै परिवारले क्याटालान पत्रिका स्पोर्ट, बार्सिलोनाको जर्सी प्रायोजक र अन्तर्राष्ट्रिय बालअधिकार संस्था युनिसेफले संयुक्त रूपमा आयोजना गरेको चिट्ठा कार्यक्रममा भाग लिएको थियो।
भाग्यशाली परिवारका शिशुलाई बार्सिलोनाका पहिलो टोलीका खेलाडीसँग व्यावसायिक फोटो खिच्ने अवसर दिइन्थ्यो। यामालको परिवार पनि छनोटमा परेको थियो र संयोगवश उनीहरूको जोडी मेसीसँग मिलाइएको थियो।

फोटोग्राफर मोनफोर्ट सम्झन्छन्, ‘सन् २०२४ मा मेरा एक साथीले फोन गरेर यामालका बुवाले त्यो तस्बिर इन्स्टाग्राममा राखेको बताएका थिए। त्यसअघि त्यो बच्चा लामिन यामाल हो भन्ने मलाई थाहै थिएन।’
उनका अनुसार मेसी अत्यन्तै लजालु र अन्तर्मुखी स्वभावका थिए। ड्रेसिङ रुममा आएपछि अचानक एउटा सानो शिशुसँग फोटो खिच्नुपर्ने भयो। उनको अनुहार फेरियो, मानौँ उनलाई के गर्ने भन्ने थाहा थिएन।
उनले भने, ‘तर यामाल निकै हँसिलो शिशु थिए। उनकी आमा शिलाले हामीलाई धेरै सहयोग गर्नुभयो। उनीहरू आर्थिक रूपमा निकै कमजोर परिवार थिए, तर अत्यन्तै सहयोगी र विनम्र थिए।’
नम्बर १९ बाट नम्बर १० सम्म
तस्बिर खिचिएको बेला मेसीले बार्सिलोनामा नम्बर १९ को जर्सी लगाउँथे। एक वर्षपछि रोनाल्डिन्होले क्लब छाडेपछि मात्रै उनले प्रसिद्ध नम्बर १० जर्सी पाए।
मेसी १९ वर्ष पुग्दासम्म उनले करिअरमा ११ गोल गरेका थिए र एकएक पटक ला लिगा तथा युरोपियन च्याम्पियन्स लिग जितिसकेका थिए।
यता सोमबार १९ वर्ष पुगेका लामिन यामालले भने अहिलेसम्म ५६ गोल गरिसकेका छन्। उनले बार्सिलोनासँग तीन पटक ला लिगा, एक पटक कोपा डेल रे तथा स्पेनसँग युरो २०२४ को उपाधि जितिसकेका छन्।
धेरैलाई थाहा नहुन सक्छ, यामाल उनको थर होइन। उनको पूरा नाम लामिन यामाल नाराउई एबाना हो।
उनले जर्सीमा लामिन यामाल लेख्नुको कारण पनि विशेष छ। स्पेनी सञ्चारमाध्यमका अनुसार आर्थिक कठिनाइमा रहेका बेला परिवारलाई सहयोग गर्ने दुई साथीको सम्मानस्वरूप उनका बुवाले उनीहरूको नामबाट छोराको नाम राख्ने बाचा गरेका थिए।
‘लामिन’ अरबी भाषाको प्रचलित नाम हो, जसको अर्थ इमानदार वा विश्वसनीय हुन्छ। ‘यामाल’ भने ‘जमाल’ को अर्को रूप हो, जसको अर्थ सौन्दर्य वा गरिमा हो।
मजदुर बस्तीबाट विश्व फुटबलको शिखरसम्म
यामाल बार्सिलोनाबाट करिब ३२ किलोमिटर उत्तरमा पर्ने मातारो नगरको श्रमिक बस्ती रोकाफोन्डामा हुर्किएका हुन्।
यो क्षेत्र सन् १९६० को दशकमा स्पेनका विभिन्न भागबाट आएका श्रमिकका लागि बनाइएको थियो। पछि ती परिवार अन्य सम्पन्न क्षेत्रमा सरेपछि १९९० को दशकदेखि विभिन्न देशका आप्रवासी त्यहाँ बस्न थाले।
यामालले गोल गरेपछि कहिलेकाहीँ औँलाले ३–०–४ को संकेत बनाउने गर्छन्। यो रोकाफोन्डाको हुलाक कोड ३०४ को प्रतीक हो।
प्रतियोगिताकै क्रममा उनले एल पाइससँग भनेका थिए, ‘मेरी आमा र बुवाले जे गर्नुभयो, त्यो म आफ्ना सन्तानबाहेक अरू कसैका लागि गर्न सक्दिनँ। पैसा नहुँदा बच्चालाई फुटबल खेलाउन निकै गाह्रो हुन्छ। तर उहाँहरूले त्यो सम्भव बनाउनुभयो। त्यो ऋण म कहिल्यै तिर्न सक्दिनँ।’
मोनफोर्टका लागि विश्वकप फाइनलमा मेसी र यामालको भेट लगभग दुई दशकअघि सुरु भएको कथाको स्वाभाविक अन्त्यजस्तै हो।
५८ वर्षीय मोनफोर्ट भन्छन्, ‘मलाई लाग्छ, उनीहरूको कथाको चक्र अब पूरा हुँदै छ। यो सुखद अन्त्य हो।’
बार्सिलोनाका समर्थकसमेत रहेका उनी थप्छन्, ‘मेसीले दोस्रो पटक विश्वकप जितेर करिअर टुंग्याउन पाए त्यो सबैभन्दा उपयुक्त हुनेछ। उनले त्यसको पूर्ण हकदार छन्।’
‘यामालसँग भने विश्वकपजस्ता उपाधि जित्ने अझै धेरै समय छ। तर अहिले स्पेन र यामाल उत्कृष्ट लयमा छन्। उनले विश्वकप जिते भने त्यो उनका अन्य सबै उपाधिभन्दा अझ विशेष हुनेछ।’ बीबीसीबाट


