काठमाडौँ- ‘लुरे बुढा, भुँडे बुढी’को प्रोमो सार्वजनिक सार्वजनिक भएको छ। प्रोमोमा कलाकार सुलेमान शंकर ‘इकु’ नयाँ भूमिकामा प्रस्तुत हुँदै छन् भने उनलाई स्नेहा कटवाल साथ दिएकी छिन्। कार्यक्रम यही साउन ४ गते बाट हरेक सोमबार बेलुका ५ बजे साप्ताहिक रूपमा प्रसारण हुने इकुले बताए।
नेपाली डिजिटल मिडिया र मनोरञ्जन क्षेत्रमा नयाँ र मौलिक स्वाद दिने उद्देश्यका साथ निर्माण गरिएको यो कार्यक्रम सबै नेपालीको मन छुने कथा र हाम्रो समाजसँग जोडिएको फेमिली कमेडी सो भएको इकुले बताए। उनले भने, ‘यो कार्यक्रमले नेपालका स्थापित सेलिब्रेटी, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूलाई अतिथिका रूपमा आमन्त्रण गरी उनीहरूको बाल्यकाल, जीवनमा लुकेका संघर्ष र उतारचढावका कथाहरूलाई विशुद्ध हाँस्य शैलीमा र गाउँको टिपिकल शैलीमा प्रस्तुत हुनेछ।’
कार्यक्रमको प्रोमोमा परम्परागत नेपाली गाउँघरको शैली र ठट्टा पाराले लुरे बुढाले आफ्नो कहानी सुनाउन आउँदै छु भनेका छन् भने भुँडे बुढीले पनि तिम्रो मात्र कहानी सुनाएर हुन्न मेरो पनि कहानी सुनाउनुपर्छ भनी ठट्यौली शैलीमा प्रस्तुत गरिएको छ। प्रोमोमा बुढा र बुढीले कसको कहानी पहिला सुनाउने भनेर तँछाडमछाड गरेको देखिन्छ। कार्यक्रमको प्रोमो नागरिक प्रेसको अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ।
इकु कलाकारितासँगै विभिन्न समाजसेवा र संगठनमा समेत सक्रिय भूमिकामा छन्। इकु नामबाट कलाकारिता क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल उनले थुप्रै टेलिसिरियल र फिल्ममा अभिनय गर्दै उनले फिल्म निर्माण र निर्देशनसमेत गरिसकेका छन्।
यस्तै गायनबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी स्नेहा कटवालले सयौँ गीत गाइसकेकी छिन् भने थुप्रै टेलिसिरियलमा अभिनय गर्दै आएकी छिन्। पछिल्लो समय उनले सिरियलहरू सीता, छुच्ची सासू, गीता र सम्झौतालगायतको सिरियलमा व्यस्त कलाकार हुन्।
भिडियो


