भूकम्प पुनर्निर्माण

जाजरकोटबासीले यसरी पाउँदै छन् पुनर्जीवन

रमा केसी ३२ असार २०८३ १३:५४ | Thursday, July 16, 2026
8
SHARES
जाजरकोटबासीले यसरी पाउँदै छन् पुनर्जीवन नलगाड नगरपालिका-५ रानीखेतकी कमला वली। तस्बिर : रमा केसी

सुर्खेत- २०८० कात्तिक १७ गते राति गएको विनाशकारी भूकम्पले जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका हजारौँ परिवारको जीवन एकैछिनमा बदलिदियो। सयौँका आफन्त गुमे। घरहरू भत्किए, खेतबारी सिँचाइ गर्ने कुला चिराचिरा परे, पानी घट्ट रोकिए, हाटबजार सुनसान बने र धेरै परिवार अस्थायी टहरामा बस्न बाध्य भए। दुई वर्षसम्म धेरै किसानले नियमित खेती गर्न सकेनन्। गाउँमा उत्पादन घट्यो, आम्दानी सुक्दै गयो र भविष्यप्रतिको अन्योल बढ्दै गयो।

आज त्यही भूकम्प प्रभावित बस्तीमा फेरि हरियाली फर्किन थालेको छ। खेतमा पानी पुगेको छ, किसानका बारीमा तरकारी लहलहाउन थालेका छन्, पानीघट्ट फेरि घुम्न थालेका छन् र स्थानीय बजारमा चहलपहल बढेको छ। पुनर्निर्माणसँगै समुदायमा आत्मविश्वास र आत्मनिर्भरताको आशा पलाउन थालेको स्थानीय बताउँछन्।

भूकम्पपछि प्रभावित क्षेत्रको पुनःस्थापना र समुदायको जीविकोपार्जन सुधारका लागि जापान सरकारको आर्थिक सहयोग, यूएनडीपी र यूएन-ह्याबिट्याटको साझेदारी तथा छाया नेपालको कार्यान्वयनमा ‘जीविकोपार्जन सुधार तथा विपद् उत्थानशीलता सुदृढीकरण कार्यक्रम’ सञ्चालन गरिएको छ।

कार्यक्रमअन्तर्गत साझा सुविधा केन्द्र, हाटबजार केन्द्र, सिँचाइ कुला, पानीपोखरी, सामुदायिक पूर्वाधार निर्माण तथा पुनर्निर्माणसँगै समुदायको क्षमता विकास र आयआर्जनका कार्यक्रम सञ्चालन गरिएका छन्।

दुई वर्षपछि खेतमा पुग्यो पानी

नलगाड नगरपालिका-५ रानीखेतकी कमला वलीलाई भूकम्पपछि सबैभन्दा ठूलो चिन्ता घरको मात्र थिएन, उनलाई घरसँगै खानाको पनि चिन्ता उत्तिकै थियो। उनी भन्छिन, ‘खेती गरेरै जीविकोपार्जन गरिरहेकी थिएँ। त्यस दिनको भूकम्पले निकै पीडा दिनुको साथै खेती गर्ने जमिनमा पनि ठूलो क्षति पुग्यो।’ खेतमा सिँचाइ नपुग्दा पनि समस्या थियो। भूकम्पले कुलो भत्काएपछि दुई वर्षसम्म अन्नबाली उब्जाउ गर्न नसकेको उनले बताइन्। खेतीमा पानी नहुँदा तरकारी खेतीका साथै समयमै रोपाइँ हुन नसकको उनी बताउँछिन्। पानी नहुँदा उत्पादन घट्दै गयो र परिवारको आम्दानीमा प्रत्यक्ष असर पर्‍यो।

‘पहिले खेतमा पानी नहुँदा खेती गर्नै गाह्रो भयो’, उनले भनिन्, ‘अहिले कुलो बनेपछि तरकारी र अन्नबाली राम्रो उत्पादन हुन थालेको छ। पानीघट्ट चलेको छ। आम्दानी बढेको छ र भविष्यप्रति फेरि आशा जागेको छ।’ कमलाको अनुभव अहिले धेरै किसानको साझा कथा बनेको छ। पुनर्निर्माण गरिएका सिँचाइ कुलाले खेती प्रणाली चलायमान बनाएको छ।

खेतीसँगै बढ्यो आम्दानी

नलगाड नगरपालिका-२ छेप्काका प्रशान्त वलीका अनुसार भूकम्पले सिँचाइ कुलो भत्किँदा एक सय २२ घरधुरी दुई वर्षसम्म पर्याप्त सिँचाइ सुविधाबाट वञ्चित भएका थिए। त्यसले किसानलाई वर्षायाममा सीमित खेती गर्न बाध्य बनाएको थियो। ‘अहिले कुलो मर्मत भएपछि वर्षभरि खेती गर्न सक्ने अवस्था बनेको छ,’ उनी भन्छन्, ‘तरकारी उत्पादन बढेको छ। बजारसम्म बिक्री गर्न सजिलो भएको छ। उत्पादन बढेसँगै किसानको आम्दानी पनि बिस्तारै बढ्न थालेको छ।’

स्थानीयका अनुसार अहिले धेरै किसानले व्यावसायिक तरकारीखेती सुरु गरेका छन्। पहिले उपभोगका लागि मात्र खेती गर्ने परिवारले अब बजार लक्षित गरेर उत्पादन गर्न थालेका छन्।

छाया नेपाल संस्थाका कर्णाली प्रदेश प्रबन्धक मीन रावलका अनुसार कार्यक्रमको मुख्य उद्देश्य भत्किएका संरचना बनाउनु मात्र होइन, समुदायलाई आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर बनाउनु हो। सिँचाइ, जीविकोपार्जन, क्षमता विकास तथा सामुदायिक पूर्वाधार निर्माणलाई एकीकृत रूपमा अघि बढाइएको छ। स्थानीय सरकार, समुदाय र विकास साझेदारबीचको सहकार्यले कार्यक्रम प्रभावकारी बनेको उनले बताए।

‘विपद्पछि समुदाय फेरि उभिन सक्ने क्षमता विकास गर्नु नै हाम्रो प्राथमिकता हो’, रावलले भने, ‘पूर्वाधार निर्माणसँगै आयआर्जनका अवसर विस्तार गरेर समुदायलाई दीर्घकालीन रूपमा सक्षम बनाउने लक्ष्य राखिएको छ।’

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार पुनर्निर्माणसँगै कृषि उत्पादन बढेको छ भने स्थानीय बजार गतिविधिमा पनि सुधार देखिएको छ। उनले भने, ‘पहिले गाउँमा निराशा थियो। अहिले किसानले उत्पादन बढाएका छन्। बजारमा किनबेच बढेको छ। समुदायमा आत्मविश्वास फर्किएको छ।’

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार पुनर्निर्माणले प्रभावित समुदायलाई नयाँ ऊर्जा दिएको छ। स्थानीय सरकार, विकास साझेदार र समुदायको सहकार्यले भूकम्प प्रभावित क्षेत्रमा दिगो पुनर्निर्माणको आधार तयार भएको उनले बताए। उनले भने, ‘भूकम्पले धेरै क्षति पुर्‍यायो, तर पुनर्निर्माणले समुदायलाई फेरि अघि बढ्ने शक्ति दिएको छ।’

भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा निर्माण भएका साझा सुविधा केन्द्र, हाटबजार, सिँचाइ कुला, पानी पोखरी तथा अन्य सामुदायिक पूर्वाधारले अहिले स्थानीय आर्थिक गतिविधि विस्तार गरिरहेका छन्। कृषि उत्पादन बढ्नुका साथै बजार पहुँच सहज भएको छ। यसले विपद्पछि जीविकोपार्जन पुनःस्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याएको स्थानीयहरूको अनुभव छ।

भूकम्पले घरहरू भत्कायो, सपनाहरू चकनाचुर बनायो र धेरै परिवारलाई असहज जीवन बिताउन बाध्य बनायो। तर, पुनर्निर्माणका प्रयासले अहिले ती बस्तीमा नयाँ आशा, नयाँ अवसर र आत्मनिर्भरताको बाटो खोलिदिएको छ। भत्किएका संरचनासँगै समुदायको आत्मविश्वास पनि पुनर्निर्माण हुँदै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast