प्रहरीको अपरेशन चार्ली : यसरी समातियो नक्कली नोट छाप्ने गिरोह

विनोद परियार ३१ असार २०८३ १८:५४ | Wednesday, July 15, 2026
10
SHARES
प्रहरीको अपरेशन चार्ली : यसरी समातियो नक्कली नोट छाप्ने गिरोह

बुटवल – रुपन्देहीको बुटवलमा एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुटवल उपमहानगरपालिका वडा नं. १३ जितगढीस्थित वालकुमारी घर्ति मगरको दुईवटा कोठा भाडामा लिई नक्कली नोट छाप्ने कम्पनी सञ्चालन गर्दै आएको समूहलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, जिल्ला कास्की पोखरा महानगरपालिका १ का किरण कृष्ण तिवारी (कृष्ण), जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका १ का संजय थारु, जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका १ का ४१ वर्षीय रामचन्द्र खत्री, जिल्ला दोलखा शैलुङ गाउँपालिका ४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारत पश्चिम बंगाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।

प्रहरीले घर तथा कोठा खानतलासी गर्ने क्रममा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट (जम्मा ६ लाख २२ हजार बराबर), फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न केमिकल, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।

प्रहरीले अपरेशन चार्ली नाम दिएर गरेको अनुसन्धानमा नक्कली नोट छाप्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ।

यसरी भेटियो नक्कली नोट छाप्ने गिरोह

प्रहरीका अनुसार असार २६ गते पीडितसँग चिनजान भएकी गंगा कुमारी पुर्वछानेले पीडितलाई क्यूआर मार्फत २१ सय रुपैयाँ पठाउन लगाउँछिन्। सोवापत एक एक हजार दरका दुई थान नोट तथा एक सयको एक थान नोट दिएकोमा, किनमेल गर्न जाँदा एउटै सिरियल नं.६६३४११ नम्बर भएका उक्त दुई नोटहरु नक्कली रहेको जानकारी हुन्छ।

त्यो जानकारी पाएको पीडितले कानुनबमोजिम कारवाहीको माग गर्दै असार २८ गते ईलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिन्छन्।

यही निवेदनका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा ईलाका प्रहरी कार्यालय बुटवलबाट संयुक्त प्रहरी टोली परिचालन हुन्छ।

प्रहरीले यो अपरेशनलाई अपरेशन चार्ली नाम दिएर अनुसन्धान अगाडि बढाउँछ। यही अपरेशनले रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं ११ श्रृजनानगर बस्ने बर्ष ३६ गंगाकुमारी पुर्वछानेलाई पक्राउ गरेर अनुन्धान अगाडि बढाउँछ।

प्रहरीले पूर्वछानेको घरकोठा खानतलासी गर्दा एक हजार दरका नक्कली नेपाली नोट थान १०३ बरामद गरेर अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।

अनुसन्धानसँगै यो धन्दामा कास्की पोखरा महानगरपालिका वडा नं १ बस्ने कृष्ण भन्ने किरण कृष्ण तिवारीको समेत संलग्नता रहेको खुलेकोमा, निजलाई तत्कालै जिल्ला प्रहरी कार्यालय कास्की पोखराको समन्वयमा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट एक हजारदरको नक्कली नेपाली नोट ४७८ थान बरामद हुन्छ।

यसपछि जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं १ बस्ने रामचन्द्र खत्रीको संलग्नता पुष्ट्याई भएपछि असार २८ गते रामचन्द्र खत्रीलाई समेत पक्राउ गरी थप अनुसन्धान गरेपछि बुटवल उप महानगरपालिका वडा नं १३ जितगढी स्थित वालकुमारी घर्ति मगरको दुई वटा कोठा भाडामा लिई नक्कली नोट छाप्ने कम्पनी संचालन गर्दै आएको कुरा खुलेको हो।

प्रहरीले असार ३० गते रुपन्देही जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए।

प्रकाशित: ३१ असार २०८३ १८:५४ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast