स्थानीय उद्योग प्रवर्द्धन गर्न कोशी सरकारको पोसाक नीति

हिमाल प्रेस ३० असार २०८३ २१:२३ | Tuesday, July 14, 2026
20
SHARES
स्थानीय उद्योग प्रवर्द्धन गर्न कोशी सरकारको पोसाक नीति

इटहरी- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ।

कोशी प्रदेशमै उत्पादन भएका ढाका, खाँडी (खादी) र अल्लो तथा अन्य कपडाबाट निर्मित अफिस पोसाक अनिवार्य रूपमा प्रयोग गर्न कर्मचारीलाई निर्देशन दिएको छ।

बुधबार र शुक्रबार यो व्यवस्था लागू गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ। सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले मंगलबारदेखि स्थानीय उत्पादनबाट बनेको पोशाक लगाउन सुरु गरेका छन्।

नियमित रूपमा प्रदान गरिँदै आएको पोसाक भत्तामा प्रति व्यक्ति वार्षिक पाँच हजार पाँच सय रुपैयाँ थप गरी सुविधा उपलब्ध गराइएको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आर्थिक वर्ष २०८३/०८४ देखि कोशी प्रदेशका स्थानीय तहहरूले पनि यो अभियानमा सहभागी हुन चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने नीति तथा आवश्यक बजेटको व्यवस्था गर्ने बताए।

कार्कीका अनुसार यस अभियानले कोशी प्रदेशमा उत्पादित ढाका, खादी र अल्लोजस्ता स्थानीय वस्तुको उत्पादन, बजारीकरण तथा प्रयोगलाई प्रोत्साहन गर्नेछ। यसबाट स्थानीय उद्योग, उद्यमी लाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

हाल कोशी प्रदेश सरकारअन्तर्गत करिब तीन हजार ९६ जना कर्मचारी कार्यरत रहेका छन्। स्वीकृत दरबन्दी चार हजारभन्दा बढी रहेको छ। प्रदेश सरकारले कर्मचारीमार्फत स्थानीय उत्पादनको प्रयोग बढाउँदै स्वदेशी उद्योगको प्रवर्द्धन र प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित: ३० असार २०८३ २१:२३ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast