काठमाडौँ– प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
एक वर्षदेखि तीन वर्षसम्मका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
सरकारले सरोज कन्स्ट्रक्सन सुनसरी, आरोग्य कन्स्ट्रक्सन प्रालि र शान्ति निर्माण सेवा प्रालि ललितपुर, क्रेटर कन्स्ट्रक्सन प्रालि भक्तपुर, कृष्टल एण्ड श्रवण निर्माण सेवा काठमाडौँ, श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौँडासहितका निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।



