कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद पार्किङलाई स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने कुत्सित मनसायबाट प्रेरित नियोजित घटना भनेको छ।
सोमबार बिहानै केही मिडिया हाउस तथा पार्टी सभापति गगनकुमार थापाको घर अगाडि शंकास्पद व्यक्तिहरुले गाडी पार्किङ गरेको घटनाबारे कांग्रेसले यस्तो भनेको हो।
‘यो घटनालाई नेपाली कांग्रेसले स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने कुत्सित मनसायबाट प्रेरित नियोजित घटनाको रुपमा लिएको छ,’ महामन्त्री प्रदीप पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यस्तो प्रवृत्ति लोकतान्त्रिक मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो भन्ने नेपाली कांग्रेसको ठहर छ।’
कांग्रेसले या घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
‘नेपाली कांग्रेस आतंकको यस शैलीको घोर निन्दा तथा भत्र्सना गर्दछ। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्ति, सञ्चारजगत, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरूद्ध एकजुट भई सशक्त प्रतिवाद गर्न आह्वान गरेको छ।



